ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गौरीफन्टा सीमा नाकामा २ दिनका लागि आवागमन बन्द

२०७८ बैशाख, ५  
सुदूरपश्चिम प्रदेश
Image Not Found
फाइल फोटो

वैशाख ५, कैलाली । भारतको उत्तर प्रदेशसँग सीमा जोडिएको कैलालीको गौरीफन्टा सीमा नाकामा आइतवारदेखि दुई दिनका लागि आवागमन बन्द गरिएको छ । 

उत्तर प्रदेशका विभिन्न जिल्लामा सोमवार हुन लागेको स्थानीय पञ्चायतको निर्वाचनलाई लक्षित गरी आइतवार अपराह्न ४ बजेदेखि मंगलवार दिनभरि सीमा नाका बन्द हुने सूचना आएको त्रिनगर प्रहरी चौकी कैलालीका प्रमुख प्रहरी सहायक निरीक्षक समुन्द्र पन्तले जानकारी दिए ।

स्वास्थ्य उपचारलगायत अत्यावश्यक कामका लागि आवागमन गर्नेलाई भने सीमामा नरोकिने जानकारी दिइएको छ । सीमा नाका बन्द भएसँगै कोरोना भाइरस संक्रमणको त्रासका कारण गौरीफन्टा नाका हुँदै भारतबाट नेपाल फर्किनेले समयमै गन्तव्यमा पुग्न नपाएर समस्या झेल्नुपर्ने देखिएको छ । 

भारतमा बढेको कोरोना भाइरसको सङ्क्रमणका कारण पछिल्लो केही हप्तादेखि गौरीफन्टा सीमानाका हुँदै नेपाल फर्किने पनि बढ्दै गएका छन् । ‘हाल दैनिक एक हजार संख्याको हाराहारीमा यो नाका हुँदै नागरिक भित्रिने गरेका छन्’, प्रहरी सहायक निरीक्षक पन्तले भने, ‘सीमा नाका बन्द हुँदा नेपाल फर्किन चाहनेले बाटोमा समस्या झेल्नुपर्ने देखिएको छ ।’ 

सीमा नाकामा स्थापना गरिएको ‘हेल्थ डेस्क’ मार्फत नेपाल भित्रिनेमा कोरोना भाइरसको संक्रमण भए नभएकाबारे ज्वरो नाप्ने कार्यका साथै एन्टिजेन परीक्षणको काम भइरहेको छ । एन्टिजेन परीक्षणबाट ‘पोजेटिभ’ नतिजा देखिनेलाई धनगढी उपमहानगरपालिकाको कनरी क्षेत्रमा स्थापना गरिएको क्वारेन्टिनमा पठाउने गरिएको छ । 

गएको दुई दिनमा सुदूरपश्चिम प्रदेशमा ५३ जना कोरोना भाइरसका संक्रमित थपिएको क्षेत्रीय स्वास्थ्य निर्देशनालयले जनाएको छ । कञ्चनपुर जिल्लाका कोरोना संक्रमित ८१ वर्षीय पुरुषको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा शनिवार मृत्यु भएको थियो । 

योसँगै सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म ५९ पुगेको छ । प्रदेश बाहिरका जिल्ला र होम आइसोलेशनमा मृत्यु हुनेको तथ्यांक भने निर्देशनालयसँगै छैन । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्