ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

संगीतका साधनमा आत्मनिर्भरता

बाजागाजा उत्पादनको मोडल

२०७८ बैशाख, ६  
लेख | दृष्टिकोण
Image Not Found

मुलुक समृद्ध हुँदै जाँदा संगीत कलाको पनि समानुपातिक विकास हुँदै जान्छ । जनताको आयस्तरमा हुने वृद्धिसँगै यस क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण पनि सोही अनुपातमा पल्लवित हुँदै जान्छ ।

मुलुकमा बढ्दो समृद्धिसँगै नेपाल गीतसंगीत क्षेत्र पनि व्यावसायिक हुँदै गएको छ । दोहोरी, लोकगीत, आधुनिक गीत, पपगीत, नृत्य, नाटक, चलचित्र सबैतिर मानिसको आकर्षण बढ्दै गएको पाइन्छ । युट्युबलगायत प्रविधि सञ्जालले कलाकार र संगीतप्रेमीहरूलाई एकआपसमा जोडेको मात्र छैन परन्तु संगीतबाट हुने आयलाई पारदर्शी ढंगबाट प्राप्त हुने आधार पनि तयार गरिदिएको छ । स्वदेशमा मात्रै नभएर विदेशमा बस्ने नेपाली संगीत प्रेमीहरूका कारण यस क्षेत्रको व्यवसाय विस्तारमा ठूलो सहयोग पुगेको छ । मानिसहरूमा संगीतप्रति बढ्दो लगावका कारण संगीतको बजार पनि त्यहीअनुरूप विस्तार भइरहेको छ । गायककारलगायत संगीतकर्मीहरूको जीवनस्तरमा जुन सुधार देखिएको छ । त्यसैले यो क्षेत्र व्यावसायिक हुँदै गएको संकेत गर्छ ।

नेपालमा संगीत क्षेत्रको विकास र विस्तार भइरहेको संकेत नेपालको आयात व्यापारको तथ्यांकले पनि पुष्टि गर्छ । विगत १२ वर्षमा संगीतका साधनहरूको आयातमा औसत वार्षिक वृद्धिदर करीब २० प्रतिशत रहनुमा पनि यो क्षेत्र विस्तार हुँदै छ भन्ने अर्को संकेत हो । आर्थिक वर्ष सन् २००८/०९ मा संगीतका साधनको आयात करीब रू. ३ करोडको हाराहारीमा रहेकोमा आर्थिक वर्ष २०१८/१९ मा उक्त रकम रू. २३ करोडको हाराहारीमा पुगेको छ । गत आर्थिक वर्षमा महामारी सृजित बन्दाबन्दीका कारण यो क्षेत्रको आयात रू. १५ करोडमा खुम्चिए तापनि परिस्थिति सामान्य हुँदै जाँदा संगीतका साधनको आयातको आयतन भविष्यमा अझ विस्तार हुँदै जाने देखिएको छ । संगीतका परम्परागत नेपाली साधनहरूको उत्पादन नेपालमा हुँदै आए तापनि संगीतका आधुनिक साधनहरू पियानो, हार्मोनियम, गितार, सितार, ब्यान्ड–बाजाका साधनहरू, ड्रमसेटहरू, म्युजिकल कन्सर्टमा प्रयोग हुने साधनहरू, विद्युतीय शक्तिबाट बजाइने संगीतका साधनहरूमा भने नेपाल परनिर्भर रहेको छ । परम्परागत नेपाली संगीतका उत्पादनहरूमा पनि प्रयोग हुने कच्चापदार्थ र पार्टपुर्जाहरूको आयात बढ्दै गएको यस क्षेत्रमा संलग्नहरूको भनाइ रहँदै आएको छ ।

संगीतका साधनका क्षेत्रमा नेपालको निर्यातको आँकडा उत्साहजनक रहेको छ । विगत १२ वर्षमा संगीतका साधनहरूको आयातमा औसत वार्षिक वृद्धिदर करीब ३१ प्रतिशत रहनु पनि यो क्षेत्र विस्तार हुँदै छ भन्ने अर्को संकेत हो । आर्थिक वर्ष सन् २००८/०९ मा संगीतका साधनको आयात करीब रू. ३ करोडको हाराहारीमा रहेकोमा आर्थिक वर्ष २०१८/१९ मा उक्त रकम रू. ३९ करोडको हाराहारीमा पुगेको छ । चालू आर्थिक वर्षको प्रथम ८ महीनामा यो आँकडा रू. ५४ करोड पुगेको भन्सार विभागको तथ्यांकमा उल्लेख भएको छ । करीब रू. आधा अर्बको निर्यात भनेको नेपालको निर्यात बास्केटका लागि महत्त्वपूर्ण आँकडा हो ।

उपर्युक्त तथ्य र तथ्यांकले भविष्यमा संगीतका साधनको बजार, निर्यात र आयात दुवै समानुपातिक रूपमा वृद्धि हुँदै जाने संकेत गर्छन् ।

उपर्युक्त परिस्थितिलाई दृष्टिगत गर्दै नेपाललाई संगीतका साधनहरूमा आत्मनिर्भर बनाउने गरी उपयुक्त रणनीति तर्जुमा गर्नु आवश्यक देखिन्छ ।

सर्वप्रथम नेपालमा परम्परागत बाजागाजाहरूको स्वदेशमा उत्पादन हुने र ती वस्तुहरू प्रतिस्पर्धी समेत हुने गरी राष्ट्रिय बाजागाजा उत्पादनमा आत्मनिर्भर हुने अभियान शुरू गर्नुपर्छ । यसका लागि नेपाली परम्परागत बाजा उत्पादन गर्न शीप भएका सम्बद्ध जातिहरूलाई आवश्यक साधनस्रोत, तालीम, ज्ञान, सुविधा, प्रोत्साहन, अनुदान र सहयोग उपलब्ध गराई यस क्षेत्रलाई संगठित रूपमा विकास गर्नु आवश्यक देखिन्छ । यसैगरी राष्ट्रिय बाजागाजाहरू उत्पादनमा शीप भएका जातिहरूलाई संगठित गरी आधुनिक बाजाहरू उत्पादनमा पनि उनीहरूलाई संलग्न गराउन उपयुक्त हुन्छ । कम्पनीको मोडलमा बाजागाजा उत्पादन कम्पनीको छातामा सरकारको समेत लगानी र सम्बद्ध शीपयुक्त जातिका शिक्षित युवाहरूको अगुवाइमा यस्ता उद्योगहरू पीपीपी मोडलमा स्थापना गरी अघि बढ्न सकिन्छ । यसका अतिरिक्त संगीतका साधनहरूका लागि आवश्यक पर्ने सहायक उद्योगहरूको पनि सोहीअनुरूप विकास गरिनुपर्छ । यी उद्योगहरूलाई मूल उद्योगमा झैं आवश्यक साधनस्रोत, तालीम, ज्ञान, सुविधा, प्रोत्साहन, अनुदान र सहयोग उपलब्ध गराई यस क्षेत्रलाई संगठित रूपमा विकास गर्नु आवश्यक देखिन्छ ।

सारमा भन्नुपर्दा नेपालको संगीतका साधनको उद्योगको विकास गर्न सर्वप्रथम यस क्षेत्रको विकासका लागि संगठित प्रयासको शुरुआत गर्नुपर्छ । यो भनेको परम्परागत शीपलाई आधुनिक व्यवस्थापनमा व्यवसायीकरण गर्नु नै हो । दोस्रो यस क्षेत्रको विकासका लागि बाजागाको अनुसन्धान र विकासमा पर्याप्त लगानी गर्नुपर्छ ताकि परम्परागतका साथ आधुनिक बाजगाजा क्षेत्रमा पनि प्रभुत्व स्थापित गर्न सकियोस् । दोस्रो यस क्षेत्रमा आवश्यक पर्ने जनशक्ति तयार गर्न निजीक्षेत्र तथा नेपाल सरकारबाट विशेष पहल हुन जरुरी छ । संगीतका साधनका लागि आवश्यक पर्ने कच्चापदार्थ, पार्टपुर्जा र प्याकेजिङ सामग्रीको आयात, ओसारपसार र भण्डारणमा अनुदान र छूटको पनि त्यत्तिकै खाँचो रहेको छ ।

निर्यातको आँकडा उत्साहजनक रहेको सन्दर्भमा यस क्षेत्रलाई अझ प्रोत्साहित गर्न कम्तीमा छिमेकी मुलुकले आफ्ना संगीतका साधन उत्पादन उद्योगहरूलाई प्राप्त सुविधाहरू यस्ता नेपाली उद्योगहरूलाई पनि उपलब्ध गराउने व्यवस्था हुन जरुरी छ । यस्ता सहयोग, प्रोत्साहन, अनुदान र छूटले नेपाली उत्पादनहरू विदेशी बजारमा प्रतिस्पर्धी हुन थप मद्दत मिल्ने देखिन्छ । यसरी संगीतका साधन उद्योगहरूको विकासमार्फत यी उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने र निर्यात प्रवद्र्धन गर्ने रणनीति अपनाउँदा स्वदेशमा बाजागाजा उद्योगको दरिलो आधार तयार हुने, व्यापारघाटा न्यूनीकरणमा केही मात्रामा भए पनि योगदान हुने र स्वदेशमा रोजगारीका नयाँ अवसरहरू सृजना हुने देखिन्छ ।

उपर्युक्त पक्षहरूलाई दृष्टिगत गर्दै यी विषयलाई उच्च प्राथमिकताका साथ सरकार, निजीक्षेत्र तथा सामाजिक संघसंस्थाहरूले आफ्ना क्षेत्रमा उचित पहल लिनु जरुरी छ । यसो गर्न सकेको खण्डमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय संकल्पलाई मूर्तरूप दिन संगीतका साधन उत्पादन गर्ने उद्योगले पनि निश्चित तहको योगदान दिने निश्चित छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्