ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना भाइरस विरोधी सुँघ्न मिल्ने खोपको परीक्षण गर्दै चीन 

२०७८ बैशाख, ६  
अन्तरराष्ट्रिय
Image Not Found
फाइल फोटो

वैशाख ६, पेचिङ (चीन) । चीनले सासमार्फत तान्न मिल्ने कोरोना भाइरस विरोधी खोपको क्लिनिकल परीक्षण शुरु गर्ने भएको छ । 

चीनको क्यानसिनो बायोलोजिक्सले आगामी हप्तादेखि सो खोपको परीक्षण शुरु गर्न लागेको हो । चीनमा बनेको कोरोना विरोधी खोपको प्रभावकारिता अमेरिकी फर्मा कम्पनीहरु फाइजर र मोडेर्नाको खोपको भन्दा निकै कम पाइएको भन्ने समाचारहरु सार्वजनिक भइरहेकै बेलामा कम्पनीले नयाँ प्रयोग गर्न लागेको हो । 

चिनियाँ खोपको सुरक्षा दर निकै उच्च नरहेको भन्ने कुरा चाइना सेन्टर फर डिजिज कन्ट्रोलका निर्देशकले यही महीनाको शुरुमा सर्वाजनिक रुपमै स्वीकार गरेका थिए । खोपको प्रभावकारिता बढाउन मानिसहरुलाई कोभिडको फरक शट दिनेबारे विचार गरिरहेको उनले बताएका थिए ।

कोरोना भाइरस मानिसको शरीरमा श्वासनलीमार्फत छिर्ने भएकोले सुघ्ने खोप बढी प्रभावकारी हुन सक्ने क्यानसिनो बायोलोजिक्स सह–संस्थापक तथा प्रमुख कार्यकारी सुफङ युले आइतवार सीएनबीसीलाई भने । 

क्यानसिनोले पेचिङ इन्ष्टिच्यूट अफ बायोटेक्नोलोजीसँग मिलेर सुँघ्न मिल्ने खोप बनाइरहेको छ । कम्पनीले बनाएको सुईबाट दिनु पर्ने कोरोना भाइरस विरोधी खोप एडेनोभाइरस टाइप ५ भेक्टर भ्याक्सिनलाई यस अघि नै चीनसमेत अन्य कयौं देशमा प्रयोगको अनुमति मिलिसकेको छ ।

सुँघिने खोपले सिद्धान्ततः श्वासनलीमा एन्टिबडीज (टीसेल) सक्रिय बनाएर अतिरिक्त सुरक्षा दिने चीनको हेनान प्रान्तमा आयोजित पोआओ मञ्चमा बोल्ने क्रममा युले बताएका थिए । 

सुरक्षा तह असफल भयो र भाइरस शरीरभित्र पुग्यो भने पनि प्रतिरक्षा प्रणालीका अन्य हिस्साले भाइरस विरुद्ध लड्ने उनको भनाइ छ । यसो गर्दा सुरक्षाको तहहरु थपिन्छ भने सुईमार्फत खोप किन दिने भने प्रश्न पनि उनले गरेका छन् । 

कम्पनीले यही धारणा प्रयोग गरेर क्षयरोग विरोधी सुँघ्ने खोप पनि बनाएको छ । खोपको क्यानडामा भएको परीक्षणमा सुँघिने खोपको प्रयोगपछि सुरक्षा दिनु पर्ने आवश्यकता सुईमार्फत लगाइने खोपभन्दा निकै कम पाइएको छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्