ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कालीगण्डकी करिडोर अन्तर्गत पर्वतखण्ड विस्तारको काम फेरि अलपत्र 

२०७८ बैशाख, ६  
गण्डकी प्रदेश
Image Not Found
author avatar रोशन तिवारी

वैशाख ६, पर्वत । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर अन्तर्गत पर्वत खण्ड विस्तारको काम फेरि अलपत्र परेको छ । जिल्लाको कुश्मा नगरपालिका–५ मोदीबेनीदेखि कुश्मा नगरपालिका– ४ अर्मादी सम्मको ट्रयाक खोल्ने काम बिचमै रोकिएको हो । आगामी २ वर्षभित्रै पर्वत खण्डको सबै सडक कालोपत्र सक्ने लक्ष्य राखिएको भएपनि काममा भइरहेको ढिलासुस्तीले काम सकिने छाँट छैन ।

स्याङ्जाको मिर्मिदेखि फलेवाससम्मको खण्डको स्तरोन्नतिको काम धमाधम अगाडी बढेपनि ५ किलोमिटर खण्डको काम भने ढिलाई भइरहेको करिडोर आयोजना कार्यालय पाल्पाले जानकारी दिएको छ । पर्वत खण्डको काम पाल्पामा रहेको कार्यालयले हेर्दै आएको छ ।   

सूर्य कन्स्ट्रक्सनले जिम्मा लिएको सडकको ट्रयाक खुलाउने क्रममा ब्रेकरले पहरो फुटाउँदै गर्दा माथिबाट आएको ढुंगाले लागी एक्स्काभेटर खसेको थियो । आयोजना प्रमुख सुबोधकुमार देवकोटाले भीरबाट डोजर खसेपछि मोदीबेनी–अर्मादी खण्ड विस्तारको काम रोकिएको बताए । 

यहि वैशाखभित्रै काम सक्ने लक्ष्य रहेको जानकारी दिँदै उनले भने, ‘छिट्टै कालोपत्रका लागि काम अघि बढाउने योजना हो । मेसिन खसेपछि काम रोकिएको छ ।’ काम कहिले शुरु गर्ने भन्ने टुंगो लागि नसकेको उनले बताए ।

करिडोर अन्तर्गत पर्वतमा रानीपानी–फलेबास–ढिक खण्डको २३ किमि कालोपत्रका लागि ठेक्का प्रक्रिया अघि बढेको छ । कडा चट्टान फुटाउने क्रममा मेसिनसहित मान्छे खसेर दूर्घटना भएपछि बाँकी काम कसरी अघि बढाउने भन्नेमा नै अन्योलता देखिएको छ । झन्डै २ वर्षसम्म सम्पर्कविहीन भएको सूर्य कन्स्ट्रक्सनलाई सम्पर्कमा ल्याएर काममा लगाइएको आयोजना प्रमुख देवकोटाले बताए । ठेकेदार कम्पनी नै सम्पर्कविहीन भएपछि मोदीबेनी क्षेत्रको ट्रयाक खोल्न ढिलाइ भएको हो । पर्वत खण्डको ३९ किलोमिटर कालोपत्रका लागि एक अर्ब २३ करोड रुपैयाँ विनियोजन भएको छ ।

२०७५ जेठ २१ मा काम सक्ने गरी २०७३ असार २२ मा सूर्य कन्स्ट्रक्सनले सम्झौता गरेको थियो । जिम्मा लिएको १४ किमिमध्ये मोदीबेनी र फलेबास–ढिकसम्मकै केही भागको ट्रयाक अझै खोल्न सकेको छैन । कन्स्ट्रक्सनका प्रतिनिधि दीपक रैसवालले नयाँ मेसिन र चालक खोजेर काम अघि बढाइने बताए । 

सडकले दक्षिणका एक नगरपालिका र ३ गाउँपालिकाको वस्ती जोड्छ । २०६२ मा पर्वतको त्रिवेणी–रानीपानी–बाच्छा हुँदै रेखांकन गरिएको करिडोर २०६४ मा बागलुङतर्फ सरेको थियो । तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पालामा बागलुङ पु¥याइएको करिडोरको पर्वतमा कालीगण्डकी लोकमार्ग नामकरण गरी शाखा विस्तार गरिएको थियो । 

हाल सडकको दुवै जिल्लालाई समान प्राथमिकता साथ विस्तार गरिएको आयोजनाले जानकारी दिएको छ । करिडोरमा पर्ने मोदीखोलाको पुल निर्माण सम्पन्न भएको छ भने लमाए खोलामा पुल निर्माणको काम अन्तिम चरणमा रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्