ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टुकी बाल्ने ठाउँमा बिजुली पुगेपछि फेरियो गाउँको मुहार

२०७८ बैशाख, ७  
गण्डकी प्रदेश
Image Not Found
फाइल फोटो

वैशाख ७, तनहुँ । टुकीका भरमा जीवन निर्वाह गर्दै आएका तनहुँका दुई पालिकाका तीन वडामा बिजुली पुगेपछि गाउँको मुहार फेरिएको छ । जिल्लाको व्यास नगरपालिका–१३, १४ र बन्दीपुर गाउँपालिकाको वडा नं ६ मा बिजुली बलेपछि स्थानीयवासी खुशी भएका छन् । 

बन्दीपुर गाउँपालिका–६ को खहरेटार, ढाप, थुमथुमे तथा व्यास नगरपालिका–१३ र १४ को मास्दीघाट, सुढे, रिजाल्दीका गरी ११५ घरपरिवारमा विद्युत् विस्तार गरिएको बन्दीपुर गाउँपालिका–६ का वडाध्यक्ष सन्तबहादुर गुरुङले जानकारी दिए ।  

विगत लामो समयदेखि अन्धकारमा बस्न बाध्य त्यसक्षेत्रमा अघिल्लो वर्ष बत्ती बाल्ने योजना रहे पनि कोरोना र बाढी पहिरोको कारण ढिलाइ हुन गएको हो । उक्त क्षेत्रका सबै घरमा विद्युत् विस्तार गरिएको वितरण प्रणाली सुदृढीकरण तथा बिस्तार आयोजनाअन्तर्गत विद्युतीकरण आयोजना साइट इञ्चार्ज इञ्जिनीयर लक्ष्मण रेग्मीले बताए ।  

जिल्लाको देवघाट र ऋषिङगाउँपालिकाका केही वडामा विद्युत् विस्तारको काम भइरहेको छ । उनले भने, ‘देवघाट गाउँपालिका–३ मा विद्युत् जडान गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।’ उक्त वडामा विद्युत् जडानपश्चात् १५० बासिन्दा लाभान्वित हुने बताइएको छ । उनका अनुसार देवघाट गाउँपालिका–२ को सबै क्षेत्रमा विद्युत् जडान गर्ने कार्य बाँकी रहेको छ । 

देवघाट–१ को केही भागमा बत्ती बालिसकेको र केही क्षेत्रमा जडानको कार्य भइरहेको छ । त्यसैगरी ऋषिङ गाउँपालिका–६ मा ट्रान्समिटर जडान गरी विद्युत् लाइनको विस्तार कार्यलाई तीव्ररूपमा अघि बढाइएको छ । 

सेती नदीपारिका दक्षिणी भेगमा विद्युतीकरणका लागि तनहुँ जलविद्युत् आयोजनाले सहयोग गरेको हो । कतिपय स्थानमा सामान ढुवानी गरेर लैजान गाह्रो हुने भएका कारणले गर्दा पनि समयमा सम्पन्न गर्न नसकिएको आयोजनाले जानकारी दिएको छ । 

तनहुँ जलविद्युत् आयोजनामार्फत जिल्लाका आठ हजार घरधुरीमा विद्युतीकरण गर्ने कार्यक्रम रहेको छ । ती घरधुरीमा विद्युतीकरणका लागि रू. ८८ करोड बजेट खर्च हुने अनुमान गरिएको छ । सोलार र टुकीका भरमा बस्दै आएका बन्दीपुर गाउँपालिका–६ खहरेटार, ढाप, थुमथुमेमा बत्ती बलेसँगै गाउँपालिका अन्धकारमुक्त बनेको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । 

व्यासनगरपालिका–१४ स्थित मास्दी, सुढे, रिजाल्दीमा यस अगाडि सौर्य ऊर्जा प्रयोग गर्दै आएका स्थानीयवासीको घरमा बिजुली पुगेपछि हर्षित भएको वडाध्यक्ष काजीमान श्रेष्ठले बताए । 

उक्त क्षेत्रमा विद्युत् विस्तारसँगै वडा अन्धकारमुक्त बनेको छ । उनले भने, ‘अहिले घरघरमा बिजुली पुगेपछि गाउँ नै झलमल्ल भएको छ भने गाउँको मुहार फेरिएको आभास गराएको छ ।’  रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्