ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

श्रममैत्री कोरिडोर बनाउन उद्योगी र श्रमिक संगठनबीच सहमति

२०७८ बैशाख, ८  
प्रदेश ०१
Image Not Found
author avatar अभियान संवाददाता

विराटनगर । उद्योग सञ्चालक तथा व्यवस्थापक र मजदूरको संगठनबीच सुमधुर श्रम सम्बन्ध विकास गर्दै अघि बढ्ने सहमति भएको छ । मंगलवार उद्योग संगठन मोरङमा भएको दुईपक्षीय छलफलमा उद्योग व्यवस्थापक र श्रमिकबीचको असल श्रम सम्बन्ध स्थापित गर्दै यस क्षेत्रलाई देशकै नमूना श्रममैत्री औद्योगिक कोरिडोरका रूपमा विकास गर्ने सहमति भएको हो ।

उद्योग प्रतिष्ठानका श्रम समस्या समाधानका लागि ट्रेड युनियन र सञ्चालकबीच आगामी दिनमा छलफललाई निरन्तरता दिने, आपसी सहमतिका आधारमा समाधान गर्ने र व्यवसायमा स्वास्थ्य सुरक्षाका लागि जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने विषयमा संगठनले पहल एवं समन्वय गर्ने सहमति समेत भएको छ ।

छलफलमा उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले व्यवस्थापक र श्रमिक एक रथका दुई पांग्रा भएको भन्दै दुवैको आपसी सम्बन्ध थप प्रगाढ बनाउनुपर्ने, महिला श्रमिकको समस्यालाई पुरुषले समेत उठाउनुपर्ने उल्लेख गरे । कोरिडोरका उद्योगमा असल श्रम सम्बन्ध विकासका लागि संगठनका तर्फबाट आपूmसहित कार्यसमितिले पहल गर्ने
उनले बताए ।

संगठनका रोजगार हेर्ने उपाध्यक्ष भोलेश्वर दुलालले ट्रेड युनियनले उठाएका कतिपय विषय केन्द्रीय तहबाट समाधान हुने भएकाले उक्त विषयको अविलम्ब सम्बोधनका लागि पहल गरिने बताए । संयुक्त ट्रेड युनियन समन्वय समितिका संयोजक टीका प्रसाईंले सामाजिक सुरक्षा योजना, श्रम ऐनमा भएका व्यवस्था, न्यूनतम पारिश्रमिक जस्ता श्रमिकका विषय कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न उद्योग संगठनलाई अनुरोध गरे ।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का प्रदेश अध्यक्ष किशोर धमलाले श्रम ऐनमा भएको व्यवस्था कार्यन्वयन गर्न संगठन र ट्रेड युनियनहरूले संयुक्त रूपमा पहल गर्नुपर्ने धारणा राखे । नेपाल ट्रेड युनियन (कांग्रेस)का प्रदेश अध्यक्ष नारायणबाबु कार्कीले श्रमिकका लागि प्रदेशस्तरीय ऐन, कानून नभएकाले त्यसको निमार्णमा संगठनले प्रदेश सरकारसमक्ष पहल गर्नुपर्नेमा जोड दिए ।  

पछिल्लो समय उद्योगमा काम गर्ने महिलाको संख्या बढ्न थालेपछि उद्योगमा महिलामैत्री वातावरण निर्माण, शिशु स्याहार केन्द्र सञ्चालन र महिला हिंसा न्यूनीकरणका लागि चेतनामूलक कार्यक्रम गर्नुपर्नेमा नेपाल ट्रेड युनियन कांग्रेसको मोरङ महिला विभागको अध्यक्ष झुमा निरौलाले जोड दिइन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्