ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उपभोग्य वस्तुको ढुवानीमा ट्राफिक प्रहरीको अवरोध

२०७८ बैशाख, ८  
समाचार
NA
author avatar प्रशान्त खड्का

काठमाडौं । दैनिक उपभोग्य वस्तुको ढुवानीमा ट्राफिक प्रहरीका कारण अवरोध उत्पन्न भएको छ । अवरोधका कारण करीब १ महीनादेखि दैनिक उपभोग्य वस्तुको ढुवानी सहज हुन नसकेको र आपूर्ति व्यवस्था प्रभावित भएको बताइएको छ ।

गतवर्षको चैतमा बन्दाबन्दी शुरू भएपछि दाल, चामल, तरकारी, दूध, माछा, मासुलगायत दैनिक उपभोग्य वस्तुको ढुवानीका गाडीलाई बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निर्बाध चल्न दिइएको थियो । अहिले करीब १ महीनादेखि ट्राफिक प्रहरीले बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र चल्न दिएकाले सामान ढुवानीमा समस्या उत्पन्न भएको नेपाल वितरक संघका अध्यक्ष दुर्गाराज श्रेष्ठले बताए ।

‘उपभोग्य वस्तु ढुवानीका गाडीमा विनाकारण यसरी अवरोध गर्नु राम्रो कुरा होइन । यसले उपभोक्तामाथि अन्याय भएको छ,’ उनले भने ।

बाटोमा ट्राफिक जाम बढेको भन्दै ट्राफिक प्रहरीले ढुवानीका ठूला गाडी चल्न दिएको छैन, जसले गर्दा ढुवानी व्यवसायीहरू साना गाडीमार्फत सामान ढुवानी गर्न बाध्य छन् । सानो गाडीमा सामान कम अटाउने हुँदा धेरैओटा गाडी र कामदार पनि थप्नुपरेकाले लागत ५ देखि १० प्रतिशतसम्म बढिरहेको छ ।

लागत बढ्दा त्यसको असर सामानको मूल्यमा पर्ने भएकाले सामान पनि महँगो पर्नजाने ढुवानी व्यवसायीको भनाइ छ ।

आपूर्ति व्यवस्था सहज बनाउन लाग्नुपर्ने वाणिज्य विभागसमेत ट्राफिक प्रहरीका कारण ढुवानीमा अवरोध भएको विषयका बारेमा मौन रहेको छ । विभागले यो विषय यातायात व्यवस्था विभाग र ट्राफिक व्यवस्थापनको जिम्मा भएको भन्दै पन्छिन खोजेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले कोरोनाको महामारीका समयमा ढुवानीकर्ताहरूले पनि ट्राफिक व्यवस्थापन र भीडभाड कम गर्ने विषयमा साथ दिनुपर्ने बताए । यति बेला सजगता अपनाउनुपर्ने बेला भएकाले जतिसक्दो सडकमा कम भीडभाड हुनेगरी गाडी चलाउनुपर्ने अवस्था आएको उनको भनाइ छ ।

ट्राफिक प्रहरी भने ढुवानीकर्ता व्यवसायीले भनेको कुरा मान्न तयार छैन । ट्राफिक प्रहरी महाशाखा काठमाडौंका एसपी श्याम अधिकारीले अत्यावश्यक वस्तु औषधि र दूधका गाडीलाई बिहानको समयमा पनि निर्बाध चल्न दिएको र त्यसबाहेक दाल, चामल, चाउचाउ, बिस्कुटलगायत उपभोग्य वस्तुका गाडीलाई बिहानको समयमा रोक लगाएको तर दिउँसोको समयमा चल्न दिएको बताए । पछिल्लो समय उपत्यकामा ट्राफिक जामको समस्या बढ्दै गएपछि यस्तो व्यवस्था गर्नु परेको उनले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्