ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बोनस शेयर कस्तो अवस्थामा जारी गर्न पाइन्छ ?

२०७८ बैशाख, ८  
लेख | दृष्टिकोण
Image Not Found

कम्पनी दर्ता भएपछि कम्पनीको स्वतन्त्र अस्तित्व हुनाले, कम्पनीले आफ्नो नाममा सम्पत्ति किनबेच तथा उपभोग गर्न पाँउछ । कम्पनीका संस्थापक वा शेयरधनीले आफूले चुक्ता गरेको वा चुक्ता गर्न कबुल गरेको रकमसम्म मात्र उनीहरूको दायित्व रहन्छ । कम्पनी दर्ता भइसकेपछि कम्पनीे र यसका शेयरधनीबीच फरकफरक हक तथा अधिकारको सृजना हुन्छ । कम्पनी संस्थापना गर्दाका अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालयमा पेश गरिने प्रबन्धपत्रमा नै कम्पनीको शेयर पूँजी कति हुने हो उक्त कुरा अनिवार्य रूपमा उल्लेख गरिएको हुन्छ । कम्पनीको प्रबन्धपत्रमा नै कम्पनीको अधिकृत पूँजी, जारी पूँजी र संस्थापकले चुक्ता गर्र्नु कबुल गरेको पूँजी उल्लेख गर्र्नुपर्छ । सर्वप्रथम संस्थापकले कम्पनीमा रकम जम्मा गर्छन् र त्यही संस्थापकले शेयरबापत बुझाएको रकमबाट कम्पनीले कारोबार सञ्चालन गर्छन् । कम्पनीले शेयरका अतिरिक्त कम्पनीले ऋण वा डिवेन्चरद्वारा पनि पूँजी संकलन गर्नसक्छ । कम्पनीको नाममा रहेको सम्पत्ति शेयरधनीको हुँदैन । जस्तै एकल शेयरधनी भएको कम्पनीमा कम्पनीको नाममा किनेको सम्पत्ति र एकल शेयरधनीको होइन र त्यस्तो सम्पत्तिको उपभोग गर्न कम्पनी स्वतन्त्र हुन्छ । तसर्थ कम्पनीका संस्थापक वा शेयरधनीको ध्यान कम्पनीले वितरण गर्ने लाभांशप्रति रहन्छ ।

कम्पनीले मुनाफा आर्जन गर्‍यो भने त्यस्तो मुनाफाबापतको रकमलाई शेयरधनीहरूमा लाभांशका रूपमा वितरण गर्ने गर्छ । लाभांश दुई किसिमबाट दिइन्छ, पहिलो नगद लाभांश र दोस्रो शेयर लाभांश । अग्राधिकार शेयरधनीबाहेकका साधारण शेयरधनीले लाभांश प्राप्त गर्न सक्छन् । कम्पनी ऐन, २०६३ मा बोनस शेयरका सम्बन्धमा परिभाषित गरिएको छ, जसअनुसार बोनस शेयर भन्नाले कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयरका रूपमा जारी गरिएको शेयर सम्झनुपर्छ । उक्त शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता मूल्यवृद्धि गरेको अवस्थासमेतलाई जनाउँछ भनी परिभाषित गरिएको छ ।

बोनस शेयर जारी गर्न कम्पनीले आर्जन गरेको मुनाफाबाट सृजित जगेडा कोषलाई पूँजीकरण गरेर मात्र सकिन्छ । तर, कम्पनीको सम्पत्तिको पुनर्मूल्यांकन गरी शेयर पूँजी वृद्धि गर्न वा बोनस शेयर जारी गर्न पाइँदैन । यसरी लाभांशका रूपमा कम्पनीको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीलाई अतिरिक्त शेयर दिइनेलाई बोनस शेयर भनिन्छ ।

कम्पनीको जगेडा कोषको रकमलाई पूँजीकरण गरी शेयरधनीले शेयरबापत भुक्तानी हुन बाँकी किस्तामा मिलान गरी वा शेयरधनीहरूलाई समानुपातिक हिसाबले नयाँ शेयर जारी गरी बोनस शेयर वितरण गर्न सकिन्छ । बोनस शेयर वितरण गर्न कम्पनीको साधारणसभामा विशेष प्रस्ताव पारित गरी वितरण गर्नुपर्छ । यसरी बोनस शेयर जारी गर्नुपर्दा त्यस्तो शेयर जारी गर्नुभन्दा अगावै कम्पनी रजिस्ट्रारको कार्यालयलाई जानकारी गराउनुपर्छ । कम्पनीका बोनस शेयर निष्कासन कार्यलाई नियमित र व्यवस्थित गर्न नेपाल धितोपत्र बोर्डले बोनस शेयर निष्कासन निर्देशिका, २०६७ बनाई लागू गरेको छ । उक्त निर्देशिकाले बोनस शेयरका जारी गर्न सकिने अवस्थाका सम्बन्धमा उल्लेख गरिएको छ ।

कम्पनीको नेटवर्थ ऋणात्मक भएको, वा कम्पनीले जारी गरेको डिवेञ्चर वा ऋणपत्रका हकमा तिर्नुपर्ने ब्याज तथा फिर्ता गर्नुपर्ने साँवा नतिरेको वा म्याद नाघिसकेको निक्षेप वा निक्षेपमा दिनुपर्ने ब्याज चुक्ता नगरेको वा अग्राधिकार शेयरको हकमा वितरण गर्नुपर्ने लाभांश वितरण नगरेको वा सरकारी तथा अन्य नियमन निकायहरूलाई तिर्नुपर्ने रकम नतिरेको, वा कर्मचारीहरूलाई तिर्नुपर्ने दायित्वका लागि पर्याप्त कोषको व्यवस्था नगरेको वा कम्पनीको कुनै स्थिर सम्पत्तिलाई पुनर्मूल्यांकन वा विक्री गरी सृजित बचत वा जगेडा कोषबाट बोनस शेयर जारी गर्न खोजेको वा प्रचलित कानूनले लाभांश बाँड्नमा बन्देज लगाएको, अवस्थामा बोनस शेयर जारी गर्न सकिँदैन । बोनस शेयर निष्कासन तथा वितरण गर्ने सन्दर्भमा कम्पनीको नियमावलीमा बोनस शेयर निष्कासन गर्न सकिने प्रावधान समावेश गरिएको हुनुपर्छ । सो नभएमा त्यस्तो व्यवस्था समावेश गरेरमात्र बोनस शेयर निष्कासन गर्ने निर्णय कार्यान्वयन गर्नुपर्छ । साथै, बैंक तथा वित्त कम्पनीको हकमा नेपाल राष्ट्र बैंक तथा बीमा कम्पनीको हकमा बीमा समितिको पूर्वस्वीकृति लिएरमात्र बोनस शेयर निष्कासन गर्नुपर्ने गरी तोकिएको भएमा सोहीबमोजिम पूर्वस्वीकृति लिई कम्पनी ऐनअनुसार साधारणसभाबाट विशेष प्रस्ताव पारित गराई बोनस शेयर निष्कासन तथा वितरण गर्नुपर्छ ।

कम्पनीले बोनस शेयर जारी गर्ने भएमा बोनस शेयरका लागि शेयरधनी किताब बन्द मिति साधारणसभासम्बन्धी जानकारीमा नै समावेश गरी राष्ट्रिय दैनिकमा प्रकाशन गर्नुपर्छ । बोनस शेयर निष्कासन गरेपछि हुन आउने पूँजी, संगठित संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख भएअनुसारको अधिकृत तथा जारी पूँजीको सीमाभन्दा बढी भएमा साधारणसभामा पूँजी वृद्धि गर्नेसम्बन्धी प्रस्ताव पेश गरी सो प्रस्ताव पारित भएपछि कम्पनी ऐनमा व्यवस्था भएअनुरूप अधिकृत पूँजीको हकमा कम्पनी रजिस्ट्रारको कार्यालयबाट स्वीकृत प्राप्त गरी र जारी पूँजीको हकमा उक्त कार्यालयमा अभिलेख गराई मात्र कार्यान्वयन गर्नुपर्छ । कम्पनीको सञ्चालक समितिले बोनस शेयर निष्कासन गर्ने निर्णय गरेपश्चात् सो प्रस्ताव विशेष प्रस्तावको रूपमा साधारणसभामा प्रस्तुत गर्नुपर्छ । साधारणसभाले बोनस शेयर निष्कासन गर्ने निर्णय गरेमा त्यस्तो निर्णयबमोजिमको बोनस शेयर साधारणसभाले निर्णय गरेको ३० दिनभित्र अनिवार्य रूपमा धितोपत्र बोर्डमा दर्ता गराई धितोपत्र बजारमा सूचीकरणका लागि निवेदन दिनुपर्छ । निष्कासन गरिएको बोनस शेयर धितोपत्र बोर्डमा दर्ता गर्दा बोनस शेयर निष्कासन निर्देशिकाअनुसारको व्यवस्थाहरू पालना गरिएको बेहोरा कम्पनी सचिवले प्रमाणित गरेको हुनुपर्छ ।

बोनस शेयर धित्तोपत्र बोर्डमा दर्ता तथा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत गर्नुपर्छ । सञ्चालक समितिले कम्पनीको नियमावलीमा व्यवस्था भएअनुसार लाभांशको सिफारिश गर्दाको अवस्थामा नै बोनस शेयर निष्कासन गर्ने वा नगद लाभांश दिने वा दुवै दिने हो, त्यस सम्बन्धमा निर्णय गर्नुपर्छ । एकपटक निर्णय भइसकेपछि थपघट गर्न वा नगद लाभांशको सट्टा बोनस शेयर निष्कासन गर्न वा बोनस शेयरको सट्टा नगद लाभांश वितरण गर्न पाइँदैन ।

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्