ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाको दोस्रो लहरलाई सामान्य रूपमा नलिऔं

२०७८ बैशाख, ८  
अन्तरवार्ता
Image Not Found
डा. शेरबहादुर पुन, सरुवा रोग विशेषज्ञ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

जनस्वास्थ्यविद्हरूले गतवर्ष नै कोरोनाको दोस्रो लहर आउन सक्ने चेतावनी दिँदै सतर्कता अपनाउन सुझाव दिएका थिए । यद्यपि, यो बीचमा स्वास्थ्य मापदण्डको पालना कडाइका साथ हुन सकेन । भारतमा यूके भेरियन्टको कोरोनाको दोस्रो लहर शुरू भएपछि पनि सतर्कता नअपनाएको कोरोना संक्रमणको चाप बढिसकेर भेन्टिलेटरको अभाव देखिन थालेको छ । अन्तिम बेलामा भर्खरै मात्र सरकारले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्ने निर्णय गरेको छ । कोरोनाको दोस्रो लहरको सम्बन्धमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनसँग आर्थिक अभियानका काशीराम बजगाईंले गरेको कुराकानीको सार :

पछिल्लो समय संक्रमणको अवस्था कस्तो छ ?
परीक्षणमा कोरोना संक्रमणको दर २ प्रतिशतभन्दा तल झरिसकेकोमा पछिल्लो समय ह्वात्तै बढ्दै गएर अहिले संक्रमण दर २० प्रतिशतसम्म पुगिसकेको छ । सिकिस्त बिरामीको संख्या बढ्दो छ । अस्पतालका शय्या, भेन्टिलेटर र आईसीयु भरिन थालेका छन् । मंगलवार मात्रै १ हजार ७३६ जनामा कोरोना संक्रमण देखिएको छ । छोटो समयमै यति ठूलो संख्यामा संक्रमण देखिनु त्यति राम्रो संकेत होइन । अहिलेको अवस्था गम्भीर देखिन्छ । अब केही दिनमै अस्पतालमा शय्या नै नपाउने अवस्था देखिन सक्ने सम्भावना देखिएको छ । लगभग आईसीयू र भेन्टिलेटर भरिसकेको छ । अब आगामी दिनमा बिरामी आए भने ठाउँ पाउन गाह्रो हुने अवस्था सृजना भएको छ ।

अघिल्लो वर्षदेखि नै दोस्रो चरणको कोरोना फैलिन सक्ने भएकाले सतर्कता अपनाउन जनस्वास्थ्यविद्ले सुझाव दिइरहेका थिए । तर सरकार पक्षबाटै पनि भिडभाडका क्रियाकलाप भएको पाइयो । यो बीचमा के गर्न सकिन्थ्यो ?
जहाँ धेरै मानिसको जमघट हुन्छ, त्यहाँ कोरोनाको जोखिम त्यति नै धेरै हुन्छ । अघिल्लो वर्षबाट हामीले पाठ सिकेनौं, वास्ता गर्न छाड्यौं । बन्दाबन्दी सकिएसँगै कोरोना संक्रमण शून्य भए जसरी नागरिकदेखि सरकारमा भएकाहरूबाट समेत भीडभाडका क्रियाकलाप गरियो । हुलमुल, जमघट नगरौं भनेर हामीले भन्दै आएका हौं । यो कतिपयलाई मन नपर्ला । तर कोरोनालाई सामान्य रूपमा लिने हो भने अवस्था भयावह हुन सक्छ । अहिले अस्पताल लगभग भरिइसकेको अवस्था छ । दोस्रो लहरको यो शुरुआती समय हो, उत्कर्षमा पुगेकै छैन । आउँदो केही हप्तामै हाम्रा लागि समय निकै चुनौतीपूर्ण हुन सक्छ । त्यसैले स्वास्थ्य मापदण्ड अपनाएर भौतिक दूरी कायम राखौं । धेरै संक्रमित भएपछि अस्पतालमा ठाउँ पाउने अवस्था रहँदैन । भौतिक संरचना जे जति छ, त्यसले धान्न सक्दैन । जनशक्तिको अभाव पनि हुन्छ । त्यो बेला कतिपय बचाउनै सकिने संक्रमित छन् भने पनि उपचार नै नपाएर मृत्यु हुने अवस्था आउन सक्छ । यो सुन्दा नराम्रो लाग्छ, कतिपयलाई मन नपर्न पनि सक्छ । तर यथार्थ यही हो । मैले २०औं वर्षसम्म सरुवा रोगमा काम गरेको अनुभवका आधारमा भन्नुपर्दा कोरोनाको संक्रमण सबैभन्दा खतरनाक छ । त्यसैले समयमै सतर्कता अपनाउन आवश्यक छ ।

यसबीचमा हामीले कोरोना संक्रमण नियन्त्रणका लागि पनि चुस्त तयारी गर्नुपर्ने थियो । बन्दाबन्दीसम्म गरेर पहिलाको स्थितिमा पुग्दा कुन बेला के गर्ने भन्ने तयारी गर्नुपर्थ्यो । यो हामीलाई सिक्ने राम्रो समय थियो । तर त्यो चाहिँ देखिएन । सरकारले यो बीचमा पनि कन्ट्र्याक्ट ट्रेसिङ, क्वारेन्टिन, आइसोलेशन लगायतलाई निरन्तरता दिनुपर्थ्यो । यसलाई व्यापक बनाउनुपर्थ्यो । संक्रमणको लहर रोक्ने, कम गर्ने हो भने नयाँ कुरा थप्न त्यति धेरै आवश्यक छैन । पहिले अपनाइएकै मापदण्डलाई निरन्तरता दिन सके धेरै हदसम्म जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

नयाँ लहरका रूपमा देखिएको यूके भेरियन्टको कोरोना अघिल्लो लहरको भन्दा के फरक छ ?
पहिलो लहरमा वृद्धवृद्धा र दीर्घरोग भएका व्यक्तिमा बढी जोखिम देखिएकोमा अहिले भने ५० वर्षमुनिका स्वस्थ व्यक्ति र बालबालिकामा पनि जोखिम देखिएको छ । अहिले सबैभन्दा बढी संक्रमण युवामा देखिएको छ, त्यो पनि जोखिमसहितको छ । बालबालिका पनि संक्रमित देखिएका छन् । नयाँ भेरियन्ट अलिकति तीव्र गतिमा फैलिने खालको हुन्छ भनेर पहिले अनुसन्धानले देखाएको थियो । अहिले नेपालमा पनि हरेक साता गएको वर्षभन्दा पनि छिटो छिटो फैलिएको छ ।

सरकारले हालै मात्र विद्यालयदेखि केही क्षेत्र बन्द गर्ने निर्णय गरेको छ । संक्रमण फैलिन नदिन के के गर्न आवश्यक छ ?
बन्द गर्ने काम उचित होइन । सामान्यतया म बन्दाबन्दीको पक्षमा कहिल्यै रहिनँ । किनभने बन्दाबन्दी समाधान होइन । संक्रमण नियन्त्रणका लागि यो अल्पकालीन विकल्पका रूपमा देखिएको छ । यसमा दुईमत छैन । सरकारको प्रयास हुँदाहुँदै पनि नियन्त्रण गर्न सकिएन भने मात्रै छोटो समयका लागि बन्दाबन्दी गर्न सकिन्छ । तर यो आत्मसर्मपण गरेजस्तो हो । सबैभन्दा महत्त्वपूर्ण त स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो जीवनशैली बदल्नु हो । भौतिक दूरीसहितको नयाँ जीवनशैलीमा हामीले आफूलाई तयार गर्नैपर्छ । यसको विकल्प नै छैन । तर धेरै लामो समयसम्म बन्दाबन्दी गरेर कुनै समाधान हुँदैन भन्ने प्रमाणित भइसक्यो । बन्दाबन्दी गरेर केही दिन घरमा बसेर फेरि भीडभाड गरेर बस्ने हो भने त्यसको पनि कुनै मतलव हुँदैन ।

कोरोनाविरुद्धको खोप अभियान पनि चलिरहेको छ । अहिले देखिएका संक्रमितमध्ये खोप लगाएका संक्रमित कति छन् र उनीहरूमा कत्तिको जोखिम देखिन्छ ?
खोप लगाएकाहरू सामान्य केही संक्रमित देखिने गरेका छन् । तर हालसम्म खोप लगाएकामा संक्रमणको जटिल समस्या भने देखिएको छैन । खोप लगाउँदैमा संक्रमण नहुने भन्ने हुँदैन । जोखिमको अवस्था हुन्छ, संक्रमण हुने र सार्न सक्ने सम्भावना हुन्छ । त्यसैले सबैलाई खोप लगाएर अवस्था सामान्य नहोउन्जेल भौतिक दूरी कायम राखी स्वास्थ्य मापदण्ड अपनाउनुको विकल्प छैन ।

पछिल्लो समय भारतमा भयावह रूपमा कोरोना फैलिएको छ । त्यहाँ काम गर्न गएका नेपाली फर्किने क्रम पनि बढेको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन के गर्नुपर्छ ?
नेपालमै समुदायस्तरमा कोरोना फैलिसकेको अवस्था छ । गतवर्ष सीमामा सतर्कता अपनाए पनि पुग्ने अवस्था धेरै हदसम्म रहेकोमा यो वर्ष समुदायस्तरको र सीमाको कोरोना नियन्त्रणका लागि सरकारले काम गर्नुपर्ने देखिन्छ । संक्रमणको चक्र त चलिनै रहेको छ । तर यसलाई व्यापक हुन नदिन सीमामै संक्रमितको पहिचान गरेर व्यवस्थापन गर्न सकिएमा धेरै सहज हुन्छ । त्यसका लागि स्थानीय निकायले पनि सक्रियता बढाउन जरुरी छ ।

बालबालिकामा पनि कोरोना संक्रमण फैलिरहेको छ । यसलाई नियन्त्रण गर्न के गर्नुपर्छ ?
गतवर्ष विशेषगरी वृद्धवृद्धामा बढी संक्रमण देखिएकोमा यस वर्ष युवा र बालबालिकामा पनि देखिएको छ । बालबालिकाको आइसोलेशन र उपचार प्रक्रिया फरक हुन्छ । त्यसैले बालबालिकालाई केन्द्रित गरी छुट्टै व्यवस्था गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्