ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दुधौलीका तीनओटा वडा एक साताका लागि लकडाउन

२०७८ बैशाख, १०  
वाग्मती प्रदेश
Image Not Found

वैशाख १०, सिन्धुली । सिन्धुली जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस संक्रमण न्यूनीकरण गर्न एक हप्ताका लागि लकडाउन घोषणा गरेको छ । 

यही वैशाख ९ गते बिहीवार बसेको नगर कार्यपालिकाको बैठकले नगरका तीनओटा वडामा शुक्रवारदेखि लकडाउन गर्ने घोषणा गरेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिए ।

उनले भने, ‘हामीले नगरका तीनओटा वडामा कोरोना भाइरस संक्रमण बढी फैलन सक्नेतर्फ सचेत हुँदै लकडाउन गर्ने निर्णय गरेका हौँ ।’ उनका अनुसार नगरपालिकाका वडा १, २ र ४ मा वैशाख १० देखि १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

बुधवार दुधौली नगरपालिका–१ का एक व्यक्तिमा कोरोना पोजेटिभ पुष्टि भएपछि नगरको विपद् व्यवस्थापन समितिको बैठकले लकडाउन घोषणा गर्ने निर्णय गरेको हो । लकडाउनको घोषणा भएका क्षेत्रमा अति आवश्यक सेवा (एम्बुलेन्स, दमकल, स्वास्थ्य सेवा, दूध, तरकारी फलफूल, खाद्यान्न पसलबाहेक शैक्षिक संस्था, सरकारी तथा गैरसरकारी कार्यालय, वडा कार्यालय (वडा नं ४ बाहेक) बजार, होटल, यातायातका सेवा र अन्य व्यवसाय पनि बन्द रहनेछ । 

जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाभर सभा सम्मेलन, गोष्ठी संघसंस्थाका कार्यक्रममा सरकारले तोकेको मापदण्डअनुसार २५ भन्दा बढी मानिस सहभागी नगराई सामाजिक दूरी कायम गरी कार्यक्रम नगर्न आग्रह गरेको छ । लकडाउनको उल्लंघन गरेमा कानूनबमोजिम कारबाही गरिने पनि उल्लेख गरिएको छ ।

जिल्लाको गोलन्जोर गाउँपालिकाले पनि कोरोनाको संक्रमण फैलनसक्ने जनाउँदै साप्ताहिक हाटबजार बन्द गर्ने निर्णय गरेको छ । कोरोनाको जोखिम हुन नदिन खनियाँखर्क, खुर्कोट, ग्वाल्टार र च्याकुटार बेँसीमा लाग्ने साप्ताहिक हाटबजार बन्द गर्ने गाउँपालिकाले जानकारी दिएको छ ।

ती क्षेत्रमा रहेका विद्यालय, सरकारी तथा गैरसरकारी संघसंस्था, सम्बद्ध निकायका कर्मचारीलगायत सबैमा सेवा लिँदा–दिँदा र सामाजिक गतिविधि गर्दा स्वास्थ्य संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सेवा आदानप्रदान निर्देशन दिइएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्