ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast
arthik abhiyan
Real Dabur NepalApache RTR 200 ABS

कोरोना संक्रमण बढेपछि व्यापार घट्यो

२०७८ बैशाख, १३  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढेसँगै व्यापार व्यवसाय सुस्ताउन थालेको छ । संक्रमणको प्रभावका कारण उपभोक्तामा त्रास बढेपछि बजारमा चहलपहल कम हुँदै गएकाले व्यावसायिक कारोबार घट्न थालेको हो ।

काठमाडौंका मुख्य व्यापारिक केन्द्र न्यूरोड, खिचापोखरी, सुन्धारा, असन, इन्द्रचोक लगायत ठाउँमा करीब २५ प्रतिशतसम्म व्यापार घटेको बताइएको छ । काठमाडौं बाहिरबाट माल सामान खरीद गर्न आउने थोक व्यापारी समेत संक्रमणको डरले यतिबेला आउन सकेका छैनन् ।

सुध्रिन लागिसकेको व्यापार व्यवसाय कोभिड महामारी बढेपछि पुनः संकटमा पर्न थालेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले बताए । ‘व्यापारमा केही सुधार हुन्छ कि जस्तो देखिएको थियो । व्यापारीमा एक किसिमको आशा पलाएको थियो,’ उनले भने, ‘पछिल्लो समय बढ्दो संक्रमणले फेरि निराश बनाएको छ ।’

महासंघका अनुसार काठमाडौं, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगर लगायत विभिन्न शहरमा व्यापार अवस्था खस्कँदै गएको छ ।

अहिले गर्मी मौसम शुरू भएको छ । वैशाखमा गर्मी मौसमका लत्ताकपडाको व्यापार ठूलो मात्रामा हुनुपर्नेमा कोभिड संक्रमण बढेकाले अपेक्षित व्यापार हुन नसकेको व्यवसायी बताउँछन् ।

यससँगै वैशाखमा बिहेको सिजन शुरू हुने भएकाले सौन्दर्य सामग्रीको समेत व्यापार अत्यधिक हुने गथ्र्यो । तर संक्रमण बढ्दै गएपछि यस्ता सामग्रीको व्यापारमा समेत करीब ९० प्रतिशतले कमी आएको फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् । वैशाखमा निकै व्यस्त रहने सौन्दर्य व्यवसायी यतिबेला फुर्सदिला जस्तै बनेको उनको भनाइ छ । यस्तै विद्युतीय सामग्रीको व्यापार, रेष्टुरेण्ट व्यवसाय, हस्तकलाका सामग्री लगायतको कारोबार पनि करीब ५० प्रतिशतले घटेको बताइएको छ ।

कुल गार्हस्थ्य उत्पादनमा करीब २२ प्रतिशत योगदान पुर्‍याउने साना तथा मझौला व्यवसायी पछिल्लो समय बढ्दै गएको कोभिड संक्रमणले समस्यामा पर्दै गएको सरोकारवालाको भनाइ छ । नेपाल उद्योग वाणिज्य संघको तथ्यांक अनुसार नेपालमा अहिले ३० लाखको हाराहारीमा साना तथा मझौला व्यवसायी छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्