ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ बसपार्कमा बढ्न थाल्यो घर जाने यात्रुको भीडभाड 

२०७८ बैशाख, १४  
समाचार
Image Not Found

वैशाख १४, काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको भीडभाड बढेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमवार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको संख्यामा वृद्धि भएको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमवारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमवार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलवार बिहानैदेखि नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो ।

लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमवार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पंकज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् । 

नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्