ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पूर्वीनाकामा छैन होल्डिङ सेन्टर

२०७८ बैशाख, १४  
प्रदेश ०१
Image Not Found
फाइल फोटो

वैशाख १४, झापा । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शंकास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमवार बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

स्थानीय स्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र संघीय सरकारसँग सहयोगको आग्रह गरेको उनले जानकारी दिए । भारतमा कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरुका नाकामा भीड लाग्न थालेको छ । अहिले नाका भित्रिनेहरुलार्ई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ । 

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र संघीय सरकारको सरोकारको विषय भएको बताए । उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिए । 

भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेशनसम्मै पुर्‍याउने गरिएको उनले बताए । गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो ।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन ओटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नं। ६ का अध्यक्ष ललित तामाङले जानकारी दिए । 

उनले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताए । जिल्लामा हालसम्म संक्रमितको संख्या ४ हजार ८१९, डिस्चार्ज हुनेको संख्या ४ हजार ५१९, आइसोलेशनमा १६९ जना, कुल संक्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको संख्या १३१ जना पुगेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्