ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बागलुङमा १७९ ओटा विद्यालय भवन पुनर्निर्माण सम्पन्न

२०७८ बैशाख, १४  
गण्डकी प्रदेश
Image Not Found

वैशाख १४, बागलुङ । बागलुङमा भुकम्पले भत्काएका १७९ विद्यालय भवन ठडिएका छन् । बागलुङमा विसं २०७२ को भूकम्पबाट क्षति पुगेका १७९ विद्यालय भवनको पुनर्निर्माण भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यालय बागलुङले जानकारी दिएको छ । 

भूकम्प गएको ६ वर्ष बितिसक्दा विद्यालय पुनर्निर्माणले अन्तिम रुप लिन थालेको छ । बागलुङमा भूकम्पले भत्काएका करीब सबै विद्यालय पुनर्निर्माण भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ शिक्षाले विद्यालय पुनर्निर्माणमा तदारुकता दिएपछि विद्यालय भवन ठडिएका हुन् ।

बागलुङमा पुनर्निर्माण कार्यालय (शिक्षा) स्थापना भएपछि आव २०७३/७४ मा १४, २०७४/७५ मा १४, २०७५/७६ पहिलो चरणमा ४०, दोस्रो चरणमा ३८, २०७६/७७ को पहिलो चरणमा आठ, दोस्रो चरणमा ६५ ओटा विद्यालय पुनर्निर्माण गरिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) का प्रमुख मतिलाल चपाईंले जानकारी दिए । 

आव २०७६/७७ को दोस्रो चरणका विद्यालयको भौतिक प्रगति ८० प्रतिशत पुगेको र यसअघिका सबै विद्यालय निर्माण सम्पन्न भई विद्यालयलाई हस्तान्तरण गरिसकिएको छ । 

‘अन्तिम चरणका केही भवन हस्तान्तरण हुन बाँकी रहेको र केही भवन दुर्गमका हिसाबले ढिलागरी निर्माण भइरहेकाले केही प्रतिशत बाहेक १७९ विद्यालय पुनर्निर्माण भइसकेको छ’, चपाईंले भने, ‘अब विद्यालयको पुनर्निर्माण लगभग सकिएको छ, सरकारले अब बन्ने विद्यालयको जिम्मा स्थानीय तहलाई दिने माथिको कार्यविधि छ ।’ बन्दाबन्दीमा भवन निर्माणले गति लिएपछि भौतिक प्रगति सन्तोषजक देखिएको छ । 

यसैगरी प्राधिकरणले आव २०७५/७५ को दोस्रो चरणमा २५, २०७६/७७ को पहिलो चरणमा आठ र ६ खानेपानी आयोजना र २०७६/७७ को दोस्रो चरणमा २५ शौचालय र २५ ओटा खानेपानी आयोजना निर्माणधीन अवस्थामा रहेको तथा यसको भौतिक प्रगति ८० प्रतिशत भइसकेको छ । 

बागलुङमा निर्माण भएका १७९ विद्यालयमा ८२ ओटा चार कोठे, २९ ओटा तीन कोठे र ६८ ओटा दुई कोठे विद्यालय निर्माण गरिएको हो । भूकम्पले क्षति पुर्‍याएका २१५ विद्यालय मध्येबाट दुर्गम, विद्यार्थी संख्या तथा मौजुदा भवनको अवस्था हेरेर नयाँ भवन निर्माण गरिएको हो । 

प्राधिकरण शिक्षाका इञ्जिनीयर रामानन्द देवका अनुसार चार कोठे भवनका लागि रू. ७० लाख ४० हजार, तीन कोठे भवन निर्माणका लागि रू. ३५ लाख ७० हजार, दुई कोठे भवन निर्माणका लागि रू. २३ लाख ९० हजार, शौचालय निर्माणका लागि रू. १५ लाख र खानेपानी आयोजनाका लागि सात लाख बजेट विनियोजन हुँदै आएको छ । भौगोलिक अवस्था तथा ढुवानी खर्च हेरेर केही बजेटमा हेरफेर पर्न सक्ने एकाइले जानकारी दिएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्