ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्सामा बिहीवारदेखि एक हप्ता निषेधाज्ञा, भारतबाट आवागमन इनर्वा नाकाबाट मात्रै

२०७८ बैशाख, १४  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १४, वीरगञ्ज । पर्सामा स्थानीय प्रशासनले बिहीवारदेखि एक हप्ताका लागि निषेधाज्ञा लगाएको छ ।

भारतीय सिमानासित जोडिको पर्सा जिल्लामा कोरोना संक्रमण बढेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलवारको बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
 
वैशाख १६ गते बिहान ४ बजेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जारी गरेको आदेशमा उल्लेख छ । संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी अत्यावश्यकीय सेवाबाहेक सबै प्रकारका सेवा, व्यवसाय र आवागमनलाई रोक लगाइएको  छ । 

खाद्य वस्तु, औषधी र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल बन्द राखिने भएको छ । खाद्य वस्तुका पसल र व्यवसायहरू बिहान १० बजेसम्ममात्र खोल्न पाइने छ । 

अत्यावश्यक सेवा र क्षेत्रसँग सम्बन्धित बैंक तथा वित्तीय संस्थासमेतका कर्मचारी र सञ्चारकर्मीहरूलाई आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्न दिइने भएको छ । 

वीरगञ्ज इनर्वा नाकाबाहेकका भारतबाट प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमनमा पूर्ण रुपमा रोक लगाइने भएको छ । इनर्वा नाकाबाट नेपाल प्रवेश गर्नेहरूले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पुर्‍याएरमात्र प्रवेश पाउने छन् । 

मालबाहक सवारी, सुरक्षा र स्वास्थ्य सेवा र सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन र फोहोर मैला व्यवस्थापनका साधन चल्न पाउने छन् । खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंछीको दानालगायत ढुवानीका सवारी साधन, आईसोलेशन व्यवस्थापनमा प्रयोग हुने सवारी साधन पनि चल्न पाउने भएका छन् । 

अन्य निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरू सञ्चालन गर्न नपाइने प्रशासनले बताएको छ । सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय, सञ्चालन गर्न पाइने छैन । 

जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर बढीमा १५ जनासम्म स्वास्थ्य प्रोटोकल पालना गर्ने गरी विवाह, ब्रतबन्धजस्ता सामाजिक कार्य भने गर्न दिइने भएको छ । मृत्यु संस्कार, बिवाह, ब्रतबन्धजस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री ढुवानी र जनशक्तिले प्रयोग गर्ने सवारी साधन प्रशासनको अनुमति लिएरमात्र सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्