ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नागरिक सतर्कताको समय

२०७८ बैशाख, १५  
सम्पादकीय
Image Not Found

मंगलवारमात्रै साढे ४ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएको परीक्षण रिपोर्टले आगामी दिन निकै भयावह हुने संकेत गरेको छ । कोरोनाविरुद्धको अभियानमा सरकारी तयारी न्यून रहेको तथ्य स्पष्ट नै छ तर यसमा नागरिकका तर्फबाट हुनुपर्ने भूमिका पनि निराशाजनक देखिन्छ ।

मास्क लगाउने, नाकमा हात नलैजाने, जथाभावी नथुक्नेजस्ता सामान्य स्वास्थ्य सतर्कताले मात्रै पनि कोरोनाको संक्रमण रोक्न ठूलो मद्दत गर्छ । तर, पढेलेखेका शिक्षित र शहरियाहरूमा नै यी गलत व्यवहार व्यापक देखिन्छ ।

मंगलवारको रिपोर्टमा देखिएका संक्रमितमध्ये झन्डै आधा काठमाडौं उपत्यकाका मात्रै छन् । मुुलुकको सबैभन्दा बढी जनघनत्व भएको ठूलो शहर भएकाले यहाँ कोरोना संक्रमणको जोखिम अत्यधिक छ । यहीँ साक्षरको संख्या पनि अन्यत्रभन्दा निकै बढी छ । सचेत नागरिकको संख्या पनि यहीँ बढी देखिन्छ । तर, कोरोनाविरुद्धको सतर्कता भने कम देखिन्छ । सरकारी कार्यक्रम, विभिन्न चाडपर्व, जनप्रदर्शन यहीँ बढी भएका छन् । त्यसको मूल्य चुकाउनुपर्ने अवस्था आउँदै छ । संक्रमण दर उच्च रहेको यस क्षेत्रमा अझै पनि मानिसहरू कोरोनाबाट जोगिन आवश्यक मात्रामा सतर्क नरहेको देखिन्छ ।

बजारको भीडभाड, कतिपय कार्यालयमा भइरहेको ठेलमठेल, भ्याक्सिन लिनका लागि भएको हुलमुल यी सबैले कोरोना संक्रमितको संख्या अझै बढ्ने स्पष्ट देखिँदै छ ।

त्यसमा पनि भ्रमको सिद्धान्तअनुसार कोरोना केही होइन, यो कुनै अमुक मुलुकको षड्यन्त्र हो, केही हुँदैन, सामान्य रुघाखोकी हो भन्दै लापर्बाही गर्न उक्साउने पनि पर्याप्त मानिस नभएका होइनन् । त्यसैले यस्ता मानिसहरूबाट समाजलाई दिग्भ्रमित हुनबाट जोगाउन आवश्यक छ । सत्तारूढ दल र विपक्षी दलहरूको राजनीतिक भेलाले पनि जनतालाई कोरोना खासै समस्या नभएको भ्रम छरेको छ ।

सरकारले भीडभाड कम गराई संक्रमणको शृंखला टुटाउन बिहीवारदेखि निषेधाज्ञा लगाउने घोषणा गरेको छ । तर, मानिसहरू चाडपर्वका लागि छुट्टी भएजस्तो गरेर किनमेलका लागि भीड गरिरहेका छन् । अर्थतन्त्र र दैनिकीमा गम्भीर प्रभाव पार्ने निषेधाज्ञा कुनै पनि हालतमा कसैका लागि पनि रुचिकर हुन सक्दैन । निजीक्षेत्र यसबाट प्रभावित हुन्छ नै त्यहाँ कार्यरत लाखौं कामदार कर्मचारीको आयमा यसले सीधै असर पार्नेछ । अझ विपन्न वर्गलाई त यसले भोकभोकै मर्नुपर्ने अवस्था नल्याउला भन्न सकिँदैन । यसमा सरकार र निजीक्षेत्रको ध्यान जानुपर्छ र उनीहरूलाई सकेको मद्दत गर्नु आवश्यक हुन्छ ।

मास्क लगाउने, नाकमा हात नलैजाने, जथाभावी नथुक्नेजस्ता सामान्य स्वास्थ्य सतर्कताले मात्रै पनि कोरोनाको संक्रमण रोक्न ठूलो मद्दत गर्छ । तर, पढेलेखेका शिक्षित र शहरियाहरूमा नै यी गलत व्यवहार व्यापक देखिन्छ । मास्क लगाए पनि सही तरीकाले नलगाउने, समूह बनाएर गफिने, भोजभतेरमा भीडभाड गर्नेजस्ता काम कत्ति पनि उपयुक्त होइन । संकटको यो घडीमा ज्यान जोगाउन सके रमाइलो गर्ने क्षण जीवनमा पछि पनि आउ“छ तर केही समयका लागि यस्ता इच्छा त्याग्नुपर्छ भन्ने सोच नहुँदा समस्या विकराल बन्दै गएको हो ।

सरकार प्रत्येक व्यक्तिका पछि लागेर मास्क लगाए नलगाएको हेरेर बसिरहन सक्दैन । समूहमा बसेर गरिने रोक्न प्रहरी परिचालन गर्न सम्भव हुँदैन । सरकारी निर्णय सरकारले नै अटेरी गरेको तथ्य नभएको होइन तर नागरिकले पनि त्यसै गर्ने हो भने समस्या थप्ने काम मात्रै हुन्छ । सरकारले दिएको निर्देशन पालना गर्ने, आफ्नो स्वास्थ्य जोगाउने, भौतिक दूरी कायम गर्ने, हात धोइरहने, स्यानिटाइजर प्रयोग गर्ने, भीडभाडमा नजानेजस्ता जिम्मेवारी नागरिकले पूरा गर्नुपर्छ ।

सरकारको आलोचना गर्नुपर्छ तर आफूले नागरिक कर्तव्य निर्वाह पनि गर्नुपर्छ । यो भनेको अहिलेका लागि कोराना संक्रमण फैलाउन सक्ने सम्भावित क्रियाकलाप गर्दै नगर्नु हो । नागरिकले साथ दिएमा मात्रै कोरोना नियन्त्रण अभियान सफल हुन सक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्