ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कानूनको कसीमा मिर्गौला प्रत्यारोपण

२०७८ बैशाख, १५  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा सन् २००४ सालमा पहिलो पटक वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण कार्यको थालनी भएको थियो । तर, त्यो कार्य सफल हुन सकेन । सन् २००८ मा त्रिभुवन विश्वविद्यालयले मिर्गौला प्रत्यारोपणमा सफलता पाएपछि यसले विस्तारै गति लिएको थियो । स्वास्थ्य मन्त्रालयअन्तर्गत मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा स्थापना भई मानव अंग प्रत्यारोपण सम्बन्धमा विशिष्ट सेवा प्रदान गर्न तथा अंग प्रत्यारोपणको कामलाई देश भरमा फैलाउन कार्यरत रहेको छ ।

एउटा मिर्गौलाको बिरामीले प्रचलित कानूनभित्र रहेर दाताबाट मिर्गौला प्राप्त गर्न सक्छ । मिर्गौला प्राप्तिका लागि कुनै पनि सञ्चार माध्यममा विज्ञापन गर्न पाइँदैन ।

मिगौला प्रत्यारोपणको श्रेय अर्थशास्त्री एल्भिन रथलाई जान्छ । उनले अर्थशास्त्रको सिद्धान्त प्रयोग गरेर बिरामीले मिर्गौला सहज रूपमा प्राप्त गर्न सक्ने गरी मिर्गौला दान दिने कार्यमा क्रान्ति नै ल्याइदिए । यसै सिद्धान्तका कारण उनले सन् २०१२ मा अर्थशास्त्रमा नोबेल पुरस्कार पाएका थिए । अमेरिकामा हरेक वर्ष उनको सिद्धान्तलाई प्रयोगमा ल्याएर झन्डै १ हजार मानिसले मिर्गौला लिने दिने गरेको तथ्य बाहिर आएको छ । उनले यो सिद्धान्तको प्रयोगमा नल्याएको भए आज संसार भरमा कैयन् मानिसहरू मिर्गौला रोगबाट ग्रस्त भएर जीवन बिताइरहेका हुन्थे ।

मानव शरीरको अंग प्रत्यारोपण (नियमित तथा निषेधित) ऐन, २०५५ र यसमा भएको संशोधन, २०७२ ले नेपालमा अंग दानको प्रावधानलाई खुकुलो बनाए । यसै ऐनको अधीनमा रहेर २०७३ सालमा नियमावली बनेपछि मिर्गौला प्रत्यारोपणको कामले सहजता पाएको हो । यी दुवै कानूनले मिर्गौला दान गर्ने कार्यविधिसमेत निर्धारण गरिसकेको छ । तर, यसले मानव अंग किनबेच गर्ने वा त्यस्तै प्रकारको अन्य कामका लागि अंग प्रत्यारोपणको कामलाई कानूनद्वारा नै निषेध गरेको छ । त्यसैले नेपालमा रकम लेनदेन गरेर मिर्गौला विक्री गर्ने कामलाई अवैध मानेको छ ।

आर्थिक अवस्था कमजोर व्यक्ति रकमको प्रलोभनमा परेर नाटकीय रूपमा नक्कली नाता सम्बन्धको प्रमाण कागज बनाई मिर्गौला विक्री गर्ने गरेको तथ्य बाहिर आउने गरेको छ । इरानमा मिर्गौला विक्री गर्ने कामलाई वैध मानेको छ । मिर्गौला वस्तुसरह किनबेच नहोस् भन्ने उद्देश्यले हरेक देशले यसलाई कानून बनाई अवैध घोषित गरेको हुन्छ ।

बिरामी (अंग ग्रहण गर्ने व्यक्ति)को नजिकको नातेदारका रूपमा रहेका पति, पत्नी, छोरा, छोरी, धर्मपुत्रलगायतले अंग दान दिन सक्ने कानूनी प्रावधान रहेको हुँदा यी नाताभित्र रहेर मिर्गौला प्रत्यारोपण गर्न सकिन्छ । चिकित्सकले मिर्गौला झिक्दा वा प्रत्यारोपण गर्दा दाता र बिरामीको स्वास्थ्य परीक्षण गरी दुवै पक्षलाई सम्भावित खतरा प्रति सजग गराउनुपर्छ । मिर्गौला प्रत्यारोपणमा बिरामीको पनि मञ्जुरी हुनु जरुरी छ । स्वास्थ्य परिक्षणबाट नजिकको नातेदारको अंग बिरामीसँग मेल खाएको हुनुपर्छ । मेल नखाई प्रत्यारोपण हुन नसक्ने अवस्था भएमा र प्रत्यारोपण गर्न खोजिएको मिर्गौला अर्को परिवारको सदस्यसँग मिल्ने भएमा एकअर्काको परिवारको सदस्यले सहमतिले दान दिन सक्छ । यसका लागि परिवारको सदस्य बीचमा सहमतिको लिखत हुनु अनिवार्य छ । बिरामीको नजिकको नातेदारको दायरा फराकिलो बनाई त्यो नाताभित्र रहेर मिर्गौला प्रत्यारोपण गरेको कार्यलाई वैध मानेको छ ।

आधुनिक चिकित्सा प्रणालीअनुसार व्यवस्थित रूपमा रोगको उपचार गर्ने प्रयोजनका लागि मात्र मानव शरीरबाट अंग झिक्न र अंग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । बिरामीको शरीरको कुनै अंग काम नलाग्ने गरी नासिएको अवस्थामा सो अंगको सट्टामा अर्को अंग जीवित व्यक्तिको शरीरबाट झिकेर बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । नजिकको नातेदारको सहमतिले दाताले स्वेच्छाले र दाताको जोडी अंगमध्ये एक अंग झिक्दा तत्कालै नमर्ने र अशक्त वा अपांग नहुने, तन्तु पुनर्विकास हुने अवस्था भएमा समेत जीवित व्यक्तिको शरीरबाट अंग झिकेर बिरामीको शरीरमा प्रत्यारोपण गर्न मिल्ने देखिन्छ ।

त्यस्तै मस्तिष्क मृत्यु भइसकेको व्यक्तिको शरीरबाट अंग झिक्न र त्यसरी झिकेको अंग बिरामीको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । यसरी अंग दान गर्न चाहने व्यक्तिले स्वेच्छाले लिखित मञ्जुरी दिएको हुनुपर्छ । यदि त्यस्तो मञ्जुरी नभएमा परिवारको कुनै सदस्यले लिखित मञ्जुरी दिएको हुनुपर्छ । जीवन रक्षाका लागि जीवित वा मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग झिकी बिरामीको शरीरमा प्रत्यारोपण मिल्ने भएको छ । कर्तव्य वा आत्महत्याद्वारा वा शंकास्पद अवस्थामा मृत्यु भएको शव परीक्षणमा असर पर्ने गरी कुनै मृत व्यक्तिको शरिरबाट अंग झिकी अर्को मानव शरीरमा प्रत्यारोपण गर्न हुँदैन ।

बिरामीको र निजको नजिकको नातेदारको अंग मेल खाने भएमा दान दिन सक्ने र बिरामीको शरीरमा प्रत्यारोपण गर्न सक्छ । यो कानूनी व्यवस्थाविपरीत कसैले कसैको अंग झिकेमा वा त्यसरी झिकेको अंग कसैलाई प्रत्यारोपण गरेमा वा अन्य काममा प्रयोग गरेमा अंग प्रत्यारोपणसम्बन्धी कसूर मानेको छ । त्यसरी कसूर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना हुनेछ । त्यस्तो काममा प्रत्यक्ष रूपमा संलग्न भएको पाइएमा समेत कसूर गरेको मानी सोही बमोजिम सजायँ हुनेछ । त्यसैले मिर्गौला दिने दाता, बिरामी र प्रत्यारोपण गर्ने चिकित्सक समेतले प्रचलित कानूनप्रति सजग हुनुपर्छ ।

मानव शरीरभित्र मिर्गौला जोडी अंगको रूपमा रहेको हुन्छ । स्वस्थ जोडी अंगमध्ये एउटा अंगले पनि मानव शरिर भित्र काम गर्न सक्ने कुरा चिकित्सा विज्ञानले पुष्टि गरिसकेको छ । एउटा मिर्गौलाको बिरामीले प्रचलित कानूनभित्र रहेर दाताबाट मिर्गौला प्राप्त गर्न सक्छ । मिर्गौला प्राप्तिका लागि कुनै पनि सञ्चार माध्यममा विज्ञापन गर्न पाइँदैन । यसरी प्रचलित कानूनको अधीनमा रहेर मिर्गौला दान दिएको तथा प्रत्यारोपण गरेको हरेक क्रियाकलापलाई मानव बेचविखनमा कारबाही प्रक्रिया अघि बढाउन र सजाय गर्न मिल्दैन ।

 लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्