ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शेयर लगानीमा ध्यान दिनुपर्ने पक्ष

अस्थायी लाभमा लोभिने सम्भावना

२०७८ बैशाख, १५  
लेख | दृष्टिकोण
Image Not Found

लगानी भनेको त्यस्तो वस्तु वा सम्पत्तिको खरीद हो जसको उद्देश्य आम्दानी गर्नु अथवा समयानुकूल सम्पत्तिको मूल्य बढ्दै जानु हो । उदाहरणका लागि शेयर, ऋणपत्र, ट्रेजरी, बन्ड, म्युचुअल फन्ड, सुन वा चाँदी, घरजग्गा, कलाकृति वा पुराना दुर्लभ वस्तुहरू किनेर राख्नुलाई लगानी गरिएको मानिन्छ । शेयरबजारमा लगानी गर्नु भनेको मुनाफा सुनिश्चित गर्दै लगानीलाई फराकिलो बनाउँदै लैजानु होे । शेयर लगानीमा अन्तर्निहित सम्पत्ति हुन्छ जुन लगानीकर्ताले आफूले चाहेको समयसम्म आफ्नो स्वामित्वमा राख्न सक्छ र आफूले चाहेकोे बेलामा त्यसलाई बेचेर तुरुन्त पैसामा रूपान्तरण गर्न सक्छ ।

उत्पादकत्व नभएको कम्पनीका शेयर मूल्य झरेर अंकित मूल्यभन्दा तल पनि पुग्न सक्छ । त्यसैले शेयरको मूल्य सधैं अंकित मूल्यमा नै रहने हो भने यो कम्पनीले राम्रो उत्पादकत्व गरेको छैन भन्ने बुझ्नुपर्छ ।

आज बजार मूल्य प्रतिकित्ता रू.२० हजार भएको कुनै शेयरको चुक्ता रकम रू.१०० बाटै बढेर त्यहाँसम्म आइपुगेको हो । चुक्ता रकम मात्र उत्पादक लगानी हो र बाँकी रू. १९ हजार ९०० अनुत्पादक लगानी हो भन्ने बुझाइरह्यो भने दोस्रो बजार नबुझेको वा शेयरको बजार मूल्य नबुझेको भन्न सकिन्छ । शेयरको बजार मूल्य भनेको कुनै कम्पनीले वर्ष गर्ने उत्पादकत्वलाई आजको मूल्यमा गरिएको मौद्रिक रूपान्तरण हो । पुंजीबजारले यो मौद्रिक रूपान्तरणलाई किनबेच हुने व्यवस्था गरेर तरलता प्रदान गरेको छ ।

कुनै कम्पनीको भविष्यमा उत्पादकत्व अरू बढ्दै जाने देखिएमा यसको बजार मूल्य बढ्ने सम्भावना रहन्छ । कुनै कम्पनीको उत्पादकत्व नहुने भए एक कित्ताका लागि बीसौं हजार रकम तिर्न तयार हुन्थेनन् । उत्पादकत्व नभएको कम्पनीका शेयर मूल्य झरेर अंकित मूल्यभन्दा तल पनि पुग्न सक्छ । त्यसैले शेयरको मूल्य सधैं अंकित मूल्यमा नै रहने हो भने यो कम्पनीले राम्रो उत्पादकत्व गरेको छैन भन्ने बुझ्नुपर्छ । कहिलेकाहीँ उत्पादकत्व कम भएका कम्पनीको शेयर मूल्य बढेको पनि देखिन्छ । बजार बुलिस् ट्रेन्डमा रहँदा र त्यो शेयरको माग लहडमा अधिक हुनुले क्षणिक समय मूल्य वृद्धि हुन सक्छ तर दिगो हुँदैन ।

पछिल्लो १ वर्षयता शेयरबजारमा नयाँ लगानीकर्ताको संख्या ह्वातै बढेको छ । शेयरबजारमा बुद्धिमान् लगानीकर्ता भएर लगानी गर्न सके मात्र सफल हुन सकिने सत्यलाई कसैले नकार्न सक्दैन । विभिन्न अध्ययन र सर्वेक्षणको रिपोर्टले देखाएको तथ्य हेर्दा शेयरबजारमा कमाउनेको भन्दा गुमाउनेको संख्या ज्यादा भएको उल्लेख गरिएको पाइन्छ । तसर्थ शेयरबजारमा लगानी गर्दा केही पक्षमा ख्याल राख्नुपर्छ ।

लगानीकर्ताले कुनै पनि शेयर किन्नुभन्दा पहिला ती कम्पनीको दीर्घकालीन विकास र व्यावसायिक सिद्धान्तहरूको विश्लेषण गर्नुपर्छ । कुनै शेयरको दीर्घकालीन मूल्य सोचेको जस्तो हुँदैन । खासमा त्यो कम्पनीले कपत्तको राम्रो प्रदर्शन गर्छ भन्नेमा निर्भर हुन्छ । त्यसैले कम्पनीको आर्थिक संरचना, त्यसको व्यवस्थापनको स्तर र कम्पनीको नियमित लाभांश अर्थात् लगानीकर्तालाई मुनाफाको कति भुक्तान गर्छ ? भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । अल्पकालीन मूल्यान्तर आयको चक्करमा पर्नु हुँदैन, बरु कम्पनीको वित्तीय इतिहास जाँचेर ठूलो सपना देख्न सकिन्छ । उदाहरणका लागि एउटा कम्पनी जो वर्तमान समयमा लोकप्रिय छैन । तर, आशाजनक रेकर्ड देखाउँछ, जसले लगातार लाभ आर्जन गरेको छ, त्यस कम्पनीलाई नियालेर गरिएको लगानि विवेकपूर्ण लगानी ठरहिन सक्छ ।

लागानीकर्ताले आफ्नो लगानीमा विविधता ल्याएर गम्भीर नोक्सानबाट आत्मरक्षा गर्न सक्छन् । महान् र सफल लगानीकर्ता वारेन बफेटले पनि भनेका छन् सबै पैसा एउटै शेयरमा नलगाउनुहोस् त्यो जति नै राम्रो किन नहोस् । तपाईंले किनेको शेयरवाला कम्पनी करछलीको काण्डमा समाचारमा देखियो भने लगानीको मूल्य तुरुन्त गुमाउनु पर्नेछ । लगानीकर्ताले यो ध्यान दिनुपर्छ कि विविधता ल्याउनाले एकैपटकमा सबैथोक गम्दैन ।

असाधारण मुनाफा अस्वाभाविक हुन्छ । मूल्यान्तरमा आकर्षित हुनुभन्दा सुरक्षित, नियमित र स्थिर प्रतिफलमा ध्यान केन्द्रित गर्ने लगानीकर्ता सफल हुन सक्छन् । लगानीकर्ताको मुख्य लक्ष्य उसले आफ्नो लगानीलाई फराकिलो बनाउँदै मुनाफा सुनिश्चित गर्दै लैजानु होे । लगानीकर्ताले उनीहरूको तुलनामा राम्रो गर्न सक्दैनन् जो जीवित रहनका लागि व्यापार गर्छन् । व्यक्तिको लक्ष्य तेज धन प्राप्तिका लागि हुनु हुँदैन, तेज धनको पछि लाग्नाले व्यक्तिलाई लालची र लापरवाह बनाइदिन्छ ।

लगानीकर्ताले बजारको इतिहासको महत्त्वलाई बुझ्नुपर्छ । लगानी गर्नुभन्दा पहिला त्यो स्टकको इतिहास मात्र हेर्नुभन्दा सम्पूर्ण शेयरबजारको इतिहासलाई पनि हेर्नु महत्त्वपूर्ण छ । इतिहासको माध्यमबाट पछिल्ला समय हेरेर थाह हुन्छ कि शेयरबजारलाई सधैं उतारचढावद्वारा परिभाषित गरिएको छ । उतारचढावलाई हटाउन सकिँदैन तर त्यसअनुसार लगानीकर्ताले आफूलाई आर्थिक र मनोवैज्ञानिक रूपमा तयार राख्न आवश्यक हुन्छ । विभिन्न समयमा आर्थिक संकट, मन्दी र काण्डहरू भइरहन्छन् । लगानीकर्ताले सुनिश्चित गर्नुपर्छ एउटा ठूलो झट्का खाँदा पनि जीवित रहन सकियोस् । त्यसैले लगानीकर्तासँग एउटा विविध स्टक पोर्टफोलियो हुनुपर्छ जसले गर्दा सबै लगानी एउटै बजारमा नआओस् ।

बजारका मुख्यतया तीन चाल हुन्छन् : उकालो, ओरालो र समतल । बजार समतल चालमा छ भने त्यो कम्पनीको इतिहासमा ध्यान दिनुपर्छ । उदाहरणका लागि पछिल्लो १० वर्षको शेयरको मूल्य, कम्पनीको कमाइ र लाभांश बीचको सम्बन्धमा ध्यान दिनुपर्छ । त्यसैगरी मुद्रास्फीति दरमा भएको वृद्धिमा विचार गर्नुपर्छ । कुनै व्यक्तिले १ वर्षभित्रको लगानीमा १२ प्रतिशत मुनाफाको गणना गछृ । मुद्रास्फीति दर ७ प्रतिशत छ भने उसले मात्र ५ प्रतिशतको प्रतिफल आर्जन गर्न सक्छ । यस बारेमा ध्यानसँग सोच्नुपर्छ कि, के यो ५ प्रतिशत प्रतिफल दिन सक्ने किसिमको कम्पनी छ त ?

शेयरबजार अस्थिर र बुद्धिहीन हुन्छ । बजार सजिलैसँग प्रभावित हुन्छ र यही कारण उनीहरूको मुड घुमिराख्छ । लगानीकर्ताले यसलाई यसरी देख्छ कि जसरी बजार सधैं अनुचित आशावाद र अनुचित निराशावादको बीचमा अघिपछि घुमिराख्छ । उदाहरणको लागि जब एउटा नयाँ हल्ला फैलन्छ तब मानिसहरू आफ्नो संवेदनशीलता गुमाउँछन् । यसको असर शेयरबजारमा देखिन्छ । जब मूल्य बढ्छ तब त्यस्ता मानिस अधिक भुक्तानको लागि तयार हुन्छन् । त्यो हल्लाले भविष्यको मुनाफा देखाउन खोज्छ वा नोक्सान । तर, त्यो सत्य हुँदैन । जब बजार भविष्यको विकासका बारेमा आशावादी हुन्छ र बजार बढ्ने संकेत देखिन्छ तब स्टक महँगो हुन्छ । कहिलेकाहीँ बजार बहुत निराशावादी हुन्छ । लगानीकर्तालाई अञ्जान परिस्थितिमै त्यसले बेच्न बाध्य पार्छ । यस्ता हल्लाका कारणले कुनै एक स्टकले एक निश्चित समयमा लाभ दिन्छ, तर सधैंको लागि लाभदायक हुन्छ भन्न छैन ।

जुन शेयरले राम्रो प्रदर्शन गरिरहेको छ, तिनको पनि निकट भविष्यमा मूल्य कम हुने अधिक सम्भावना हुन्छ । मागले अक्सर मूल्यलाई ब्रेकिङ पोइन्टसम्म पुर्‍याइदिन्छ ।

यो जान्दाजान्दै पनि केही लगानीकर्ता अस्थायी लाभमा लोभिने धेरै सम्भावना हुन्छ । शेयरबजारमा एउटा कुरा के याद राख्नुपर्छ भने लगानीकर्ता गल्ती नगरी पोख्त हुन सक्दैन । कहिलेकाहीँ बजार जानेबुझेको मान्छेले लगाएको अनुमान पनि धेरै खराब सावित हुन सक्छ । त्यसैले हामीले आर्थिक मन्दीको समय र खराब लगानीको कुरामा आफ्नो धनको सुरक्षाको लागि सीमा तय गर्नुपर्छ । यो पनि याद गर्नुपर्छ कि आउने फाइदाको प्रवाह बनाई राख्न लगानीकर्ताले आफ्नो पोर्टफोलियोको निरन्तर अनुसन्धान, निगरानी तथा छाँटकाट गर्नु आवश्यक पर्छ ।

लेखक नागरिक लगानी कोषमा आबद्ध छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्