ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ बसपार्कमा गाउँ फर्किनेको घुइँचो

२०७८ बैशाख, १५  
वाग्मती प्रदेश
NA

काठमाडौं । गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किनेहरूको भीड बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर फर्किनको घुइँचो लागेको हो ।

अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य रहेका सार्वजनिक यातायात सोमबारको उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार दुई दिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै मंगलवार बिहानैदेखि नयाँ बसपार्कमा घर जानेहरूको भीड लागेको हो ।     

लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् । बझाङ जानका लागि टिकट काट्न सोमबार साँझ नयाँ बसपार्क पुगेका जयराज जोशीले टिकट नपाएको गुनासो गरे । लामो दूरीका सवारी साधन थोरै भएका कारण पनि नयाँ बसपार्कमा टिकट अभाव भएको हो ।   
 
नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पंकज मल्लले बिहानदेखि नै नयाँ बसपार्कमा भीडभाड बढेको बताए । नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।

नयाँ बसपार्कमा दैनिक ८०० देखि एक हजार सार्वजनिक यातायात दैनिक ओहोरदोहोर गर्दै आएका छन् । काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५०० भन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।   
 
पछिल्लो समय नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय मापदण्डको बसपार्क निर्माणका लागि ल्होत्से बहुउद्देश्यीय प्रालि लागेको छ । प्रालिका अध्यक्ष इञ्जिनियर दीपक कुँवर नयाँ बसपार्कलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन आफूले काम गरिरहेको बताउँछन् ।

नयाँ बसपार्कमा हाल सञ्चालन भएका टिकट काउन्टरसमेत बन्द गरिएको छ । टिकट काउन्टरलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन वैशाख १ देखि नयाँ बसपार्कभित्रका सम्पूर्ण काउन्टर बन्द गरिएको अध्यक्ष कुँवरको भनाइ छ । रासस   

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्