ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोनाविरुद्ध प्रहरीको घरदैलो अभियान

२०७८ बैशाख, १५  
कर्णाली प्रदेश
NA

डोटी । विश्वव्यापी महामारीका रूपमा फैलिइरहेको कोरोना भाइरसविरुद्ध डोटी प्रहरीले घरदैलो अभियान शुरू गरेको छ । ‘आफ्नो जीवन आफैं सुरक्षित’ भन्ने नाराका साथ यहाँको प्रहरी टोलीले गाउँगाउँ तथा समुदायका घरैमा गएर कोरोना संक्रमणबाट जोगिन विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । जिल्लामा पछिल्लो समय दुई जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

विश्वलाई नै आक्रान्त पारेको कोभिड–१९ का विरुद्धमा प्रहरीले माइकिङसमेत गर्न थालेको छ । विश्वको ९० भन्दा धेरै देशमा फैलिएको कोरोना भाइरसबारे सचेतना फैलाउन जिल्ला प्रहरी कार्यालयको टोलीले घरदैलो अभियान सञ्चालन गरेको सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए ।

 उनका अनुसार कोरोना भाइरसविरुद्ध सचेतना फैलाउन यहाँका समुदायमा खटिएको प्रहरी टोलीले कोरोनाबाट बच्ने उपाय सिकाउनुका साथै भीडभाड नगर्न तथा मास्क अनिवार्य प्रयोग गर्न आग्रह गर्न थालेको छ । कोरोना भाइरसबारे सर्वसाधारणलाई जानकारी गराउन तथा उक्त रोगबाट बचाउन यो अभियान सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए । उनले भने, ‘कोरोना भाइरसबाट बचाउन अभियान थालनी गरेका छौं, ज्यानभन्दा ठूलो केही छैन, आफू बचौं र अरूलाई पनि बाच्न दिऔं भन्ने हाम्रो लक्ष्य र चाहना हो ।’

 यसैगरी, कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै यहाँको जिल्ला प्रशासन कार्यालयले मेला महोत्सव तथा सम्मेलन स्थगित गर्ने निर्णय गरेको छ । कोरोनाको संक्रमण र त्रास फैलिरहेको बेला डोटीमा पनि यसको सतर्कता अपनाउन थालिएको छ । जिल्लाका नौओटैै स्थानीय तह र सरकारी कार्यालयलाई पत्राचार गर्दै मेला महोत्सव तथा सभासम्मेलन स्थगित गर्न अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्