ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘प्रांगारिक मिसन’ कार्यक्रम सञ्चालन हुँदै

२०७८ बैशाख, १५  
सुदूरपश्चिम प्रदेश
NA

धनगढी । स्वस्थ बाली उत्पादनका लागि कैलालीमा ‘प्रांगारिक मिसन’ कार्यक्रम कार्यान्वयन गर्न लागिएको छ । विषादी जस्ता रसायन प्रयोग गरेर हुने बालीको उत्पादनलाई न्यूनीकरण गरी स्वस्थ बाली उत्पादनमा जोड दिन यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । रासायनिक मल र विषादीको प्रयोग गरेर उत्पादन हुने कृषि उपजको उपभोगले कुनै न कुनै रूपमा मानव स्वास्थ्यमा प्रतिकूल असर परिरहेको कृषि प्राविधिकको भनाइ छ । रासायनिक विषादी प्रयोग गरेर खेती गरिने क्षेत्र र रासायनिक विषादी प्रयोग नगरेर गरिने खेती क्षेत्र गरी दुई भागमा यो मिसन कार्यक्रम सञ्चालन गर्न लागिएको कृषि ज्ञान केन्द्र कैलालीले बताएको छ ।     

‘प्रांगारिक खेती प्रणालीमा जानुपर्छ भनेर यो मिसन कार्यक्रम गर्न लागिएको हो,’ कार्यालय प्रमुख खगेन्द्रप्रसाद शर्माले भने, ‘यो कार्यक्रमले कृषकमा स्वास्थ्य बाली उत्पादन गर्न गराउन सचेतना फैलाउन मद्दत पुग्नेछ ।’ पछिल्ला वर्षमा खेतीमा रासायनिक मल र विषादीको प्रयोग बढ्दै जाँदा खेतबारीको माटो पनि बिग्रिन थालेको बताइन्छ । यस्तो अवस्थामा बिग्रिएको माटो सुधार्न र स्वस्थ्य खाद्य पदार्थको उत्पादनका लागि प्रांगारिक खेती प्रणाली अपनाउन जरुरी भइसकेको कृषि प्राविधिकको भनाइ छ ।

जैविक मल प्रयोग गरेर गरिने खेतीलाई प्रांगारिक खेती प्रणाली भनिन्छ । यो खेती प्रणाली अपनाउँदा मानिसलाई स्वस्थ खाद्यान्न प्राप्त हुने मात्र नभई पर्यावरणीय सामाजिक र आर्थिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने गरेको बताइन्छ ।

विविध हावापानी पाइने नेपालमा यो खेतीको प्रशस्त सम्भावना छ । रासायनिक मल र विषादीलाई पूर्णरूपमा विस्थापित गर्न भने चुनौती देखिएको बताइएको छ । प्रांगारिक खेती गर्दा ऊर्जाको संरक्षण हुने, समयअनुसार ऊर्जाको आवश्यकता घट्दै जाने, स्वस्थकर खाद्यान्न उत्पादन हुने, वातावरण र जीवजन्तुको इकोसिस्टम (चक्रीय प्रणाली)लाई सही बाटोमा ल्याउने लगायत फाइदा देखिन्छन् । विषादीको प्रयोग बढ्दै जाँदा बाजारमा स्वस्थकर र खानयोग्य फलफूल, ताजा तरकारीलगायत खाद्य वस्तु पछिल्ला दशकमा पाउन मुश्किल भइसकेको कृषि प्राविधिकको भनाइ छ । उपभोक्ताले जानीनजानी यस्ता खाद्य पदार्थको उपभोग गर्ने गरेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्