ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमण बढ्न थालेसँगै सडक निर्माणमा अवरोध

२०७८ बैशाख, १५  
समाचार
NA

काठमाडौं । कोभिड–१९ का कारण काम गर्ने वातावरण नबन्दा चालू आर्थिक वर्षमा पनि लक्ष्यअनुसारको सडक निर्माण नहुने भएको छ । चालू आवको दोस्रो चौमासिकमा सङ्घीय सडक निर्माणले गति लिन थालेको भए पनि पुनः कोभिड–१९ संक्रमण बढिरहेकाले काममा बाधा पुग्न थालेको सडक विभागले बताएको छ । गत आवमा अन्तिम चौमासिक र चालू आवको पहिलो चौमासिकसम्म सरकार र वैदेशिक लगानी गरी दुवै किसिमका निर्माणमा अवरोध पुगेको विभागका उपमहानिर्देशक शिव नेपालले बताए ।

उनका अनुसार संक्रमितको संख्या कम भइरहँदा निर्माणले गति लिन थालेको थियो । अहिले विभिन्न जिल्लामा बन्दाबन्दी शुरू भइसकेकाले निर्माणमा पुनः बाधा पुग्न थालेको उनले बताए । बन्दाबन्दी लागू भएका जिल्लासँगै त्यस आसपासका जिल्लामा समेत बाधा पुग्ने उनले बताए ।

चालू आवमा दोस्रो चौमासिकसम्म आर्थिक प्रगति ३५ प्रतिशत पुगेको विभागले बताएको छ । एक हजार ८०० किमी सडक कालोपत्रको लक्ष्य लिइएकोमा अहिलेसम्म ५५० किमी र तीन सय पुल निर्माण गर्ने लक्ष्य लिइएकोमा अहिलेसम्म १२९ पुल सम्पन्न भएको विभागले बताएको छ ।

पहिलो चौमासिकमा देशभर संक्रमितको संख्या उच्च भएकाले कुनै पनि ठाउँमा नयाँ मानिस गएर काम गर्ने वातावरण नभएको उनले बताए । कुनै पनि ठाउँमा निर्माण व्यवसायीले कामदारलाई छुट्टै ‘क्याम्प’ बनाएर राख्दा काम गर्न केही सजिलो भए पनि अरूको घरमा बसेर काम गर्ने अवस्था थिएन । कामदारलाई भाडामा बस्नै नदिएकाले काममा बाधा पुगेको थियो ।

अन्तिम चौमासिकमा तुलनात्मक रूपमा बढी काम हुने भए पनि यो आवमा त्यो नहुने देखिएको छ । स्रोत व्यवस्थापनको समस्या समेत केही हदसम्म रहेको विभागले बताएको छ । अहिले पनि निर्माण सम्पन्न भएका कतिपय योजनामा सरकारले भुक्तानी दिन बाँकी छ । अहिलेसम्म ३५ प्रतिशत मात्र खर्च भएको छ ।

विभाग अन्तर्गतका योजनामा झण्डै ५० प्रतिशत वैदेशिक सहयोगका योजना छन् । अनुदान वा ऋण सहयोगमा निर्माण हुने कुनै पनि आयोजनामा सम्बन्धित आयोजनाको रकम अन्यत्र लैजान सकिँदैन । सरकारको आन्तरिक स्रोतबाट निर्माण भइरहेका योजनामा भने कुनै एउटा योजनामा काम नै हुन नसक्ने अवस्थामा त्यो रकम अर्काे योजनामा खर्च गर्न सकिने व्यवस्था छ । रकमान्तर गर्न सकिने व्यवस्था भए पनि आवको अन्तिमसम्ममा काम भइहाल्छ कि भन्ने आशा भएकाले सकेसम्म छुट्याइएको रकम सम्बन्धित योजनामै खर्च गरिने उनको भनाइ छ ।

विभागले पटकपटक तोकता गरेर पनि व्यवसायीलाई काम गराउँदै आएको छ । ‘कतिपय व्यवसायी पनि अन्तिम चौमासिकमा काम नभएर अर्काे आव पुग्दा भुक्तानी ढिला हुने भएकाले अन्तिम चौमासिकमा काम बढी हुने गरेको छ,’ उनले भने ।

कतिपय योजना विगतमा सङ्घबाट प्रदेशमा हस्तान्तरण भएका थिए । प्रदेशमा हस्तान्तरण भएका योजनामा संघ र प्रदेश दुवैबाट भुक्तानी नभएको प्रवक्ता नेपालले बताए । कतिपय योजनामा भने वैदेशिक स्रोत र सरकारको पनि स्रोत भएकाले पनि केही समस्या आएको उनको भनाइ छ ।  

वैदेशिक लगानीका सडक योजनामा चालू आवमा काम अपेक्षा गरिएअनुसार अघि बढ्न सकिरहेको छैन । गतवर्ष पहिलो पटक कोभिड संक्रमित भेटिएयता कतिपय योजनामा निर्माण अझै शुरू हुन नसकेको प्रवक्ता नेपालले बताए । कतिपय योजनामा काम शुरू भए पनि गति लिन सकेको छैन ।

चिनियाँ सहयोगमा निर्माण शुरू गर्ने भनिएको स्याफ्रुबेँसी–रसुवागढी सडकको निर्माण र चक्रपथ दोस्रो खण्डको विस्तार अझै शुरू हुन सकेको छैन ।

कोभिडका कारण अहिले पनि विदेशी नेपाल आएर काम गर्ने वातावरण नबनेको प्रवक्ता नेपालले बताए । उनका अनुसार अरू किसिमका काम अनलाइन गर्न सकिने भए पनि इञ्जनीयरिङको काम अनलाइन गरेर हुँदैन । निर्माणस्थलमै गएर गर्ने काममा स्थानीयवासीको अवरोध वा प्रशासनले कडाइ गर्दा काम गर्न कठिन भइरहेको छ । चालू आवमा वैदेशिक लगानीका योजनामा धेरै असर गरेको उनले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्