ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तंग्रिन थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा

२०७८ बैशाख, १५  
समाचार
NA
author avatar विजय दमासे

काठमाडौं । गतवर्ष कोरोना महामारीका कारण अस्तव्यस्त भएर विस्तारै उठ्न थालेको वैदेशिक रोजगार क्षेत्र पुनः संकटमा पर्ने देखिएको छ । संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र संक्रमितको संख्यालाई ध्यानमा राखी रोजगार गन्तव्य मुलुकले नेपाललाई पनि ‘रेड जोन’मा राख्ने खतरा बढेको हो ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु गैरेले गतवर्षको लकडाउनले श्रमबजारलाई अस्तव्यस्त बनाएको र पछिल्ला दिनमा संक्रमण बढेपछि लागू गरिने निषेधाज्ञा/लकडाउन लगायत कारण यो क्षेत्र थप संकटमा पर्ने बताए । अहिले हजारौंको संख्यामा नेपालीहरू वैदेशिक रोजगारीमा जान प्रक्रिया अघि बढेकोमा कोभिडको बढ्दो संक्रमणले अनिश्चित बन्न सक्ने उनले बताए । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा उनले जोड दिए । संघका महासचिव सुजित श्रेष्ठका अनुसार अहिले पनि मलेशिया, साउदी अरब र दुबईमा नेपाली कामदार जान पाइरहका छैनन् । साउदी अरब, कतार, ओमन र मलेशियामा कामदार पठाउनेबारे अहिले म्यानपावर कम्पनीले लबिङ गरिरहेका छन् । त्यसैले छिट्टै ठूलो संख्यामा नेपालीहरू पठाउने तयारी छ । कोरोना रोकथामका लागि चालिएका कदमका बीच नेपालीलाई सुरक्षित तवरले विदेश पठाउन सरकारले सहजीकरण गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

बुधवार वैदेशिक रोजगार विभागका महानिर्देशक संयोजक रहेको सहजीकरण समितिको बैठक समेत बस्दै छ । उक्त समितिको सिफारिशमा बुधवार साँझसम्म निषेधाज्ञाका बीच वैदेशिक रोजगारीमा नेपालीलाई पठाउनेबारे श्रम मन्त्रालयले उचित निर्णय लिने अपेक्षा व्यवसायीको छ ।

त्यसो त, खाडी मुलुक, मलेशिया, यूरोपेली मुलुक, कोरिया, जापान र अफ्रिकी देशबाट घर फर्किने नेपालीको संख्या बढ्न थालेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ । चैतमा मात्र विदेशबाट ६० हजार नेपाली स्वदेश फर्किएको तथ्यांकले देखाउँछ । हाल दैनिक करिब ३ हजार नेपाली स्वदेश फर्किरहेको विमानस्थका एक उच्च अधिकारीले जानकारी दिए ।

सरकारले विदेशबाट फर्किएका नेपालीलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिए पनि उनीहरूलाई राख्ने क्वारेन्टाइनको व्यवस्था भने मिलाइएको छैन । विदेशबाट फर्किएका नेपालीलाई क्वारेन्टाइनको व्यवस्थापन गर्ने जिम्मा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई दिइएको छ । सीसीएमसीले यस विषयमा कुनै योजना बनाउन सकेको छैन ।

प्रभावित देशबाट स्वदेश फर्किएकाहरू स्वास्थ्य मापदण्ड पूरा गरी होम क्वारेन्टाइनमा बस्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम बताउँछन् । कोरोना भाइरसको संक्रमण रहेका देशमा ५० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ । सरकारले विदेशबाट आउनेलाई सुरक्षित तवरले आइसोलेसन बनाएर व्यवस्थापन गर्नुपर्ने श्रमविज्ञ डा. गणेश गुरुङ बताउँछन् । उनका अनुसार उनीहरूलाई अब विदेश जानै नपर्नेगरी रोजगारीका काममा समेत लगाउनुपर्छ । गतवर्ष लकडाउनकै बेला ठूलो संख्यामा नेपालीहरू रोजगारी खोसिएर स्वदेश फिर्ता भए । रोजगारीका लागि सो वर्ष साढे ७ लाखले प्रधानमन्त्री रोजगार कार्यक्रममा आवेदन दिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्