ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२५ मेवा क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युतको निर्माण कार्य जेठ अन्तिममा सकिने

२०७८ बैशाख, १५  
गण्डकी प्रदेश
Image Not Found

वैशाख १५, लमजुङ । दोर्दी गाउँपालिका–६ ढोडेनीमा लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा निर्माणाधीन २५ मेगावाट(मेवा) क्षमताको माथिल्लो दोर्दी ‘ए’ आयोजना आगामी जेठको अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।

दोर्दी खोलामा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको अधिकांश निर्माण कार्य सम्पन्न भइसकेको जेठको अन्तिम सातासम्म निर्माण कार्य सम्पन्न गर्दै विद्युत् उत्पादन गर्ने आयोजनाका प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । 

यही साताभित्र टनेलमा पानी हाल्ने तयारी भइरहेको छ । आयोजनाको पावर हाउसमा मेशिनको काम गर्नलाई भारतबाट इन्जिनियर ल्याउने प्रक्रियामा रहेको उनको भनाइ छ । यस आयोजनाले यसअघि गत चैत महीनासम्म निर्माण कार्य सम्पन्न गर्दै विजुली उत्पादन गर्ने लक्ष्य राखेको थियो । 

कोभिड-१९ का कारणले आयोजनामा प्रभाव पारेकाले निर्माण कार्यमा ढिलाइ भइरहेको साथै जिल्लामा १२० केभी प्रसारण लाईनको निर्माण कार्य सम्पन्न भइनसकेकाले समेत विद्युत् उत्पादनमा ढिलाइ हुनपुगेको आयोजना प्रवर्द्धक वस्तीको भनाइ छ । 

आयोजना रू. तीन अर्ब ९६ करोड लगानीमा सम्पन्न गर्ने लक्ष्य थियो । तर निर्माण अवधि लम्बिँदै जाँदा रू. चार अर्ब ६४ करोड खर्च हुने अनुमान गरिएको आयोजनाको भनाइ छ । उक्त अवधिमा पनि अझै कोभिड-१९ को प्रभाव भएर समय थप भएमा आयोजनाको लागत बढ्न सक्ने आयोजना प्रवर्द्धक वस्तीले बताए ।

आयोजनाबाट वार्षिक १३ करोड ६७ लाख ८४ हजार युनिट बिजुली उत्पादन हुने कम्पनीले जानकारी दिएको छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच भएको सम्झौताअनुसार सुक्खा याममा रू. आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरीद गरिने छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्