ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

करीब ४ अर्बको शेयर कारोबार, परिसूचकमा दोहोरो अंकको गिरावट

२०७८ बैशाख, १५  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । शेयर बजार बुधवार शून्य दशमलव ५३ प्रतिशत घटेको छ । 

मंगलवार ३ दशमलव ६९ प्रतिशत बढेर ९२ दशमलव ४६ अंक बढेर २ हजार ५९९ दशमलव शून्य ७ विन्दुमा बन्द भएको बजार बुधवार २ हजार ५८५ दशमलव २८ विन्दुमा झरेको हो । यसदिन नेप्से परिसूचक १३ दशमल ७९ अंकले घटेको हो ।

उता, सेन्सेटिभ इन्डेक्स भने शून्य दशमलव ४६ प्रतिशत घटेर ४६५ दशमलव ११ विन्दुमा झरेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स २ दशमलव १६ अंकले घटेको हो ।बिहीवारदेखि उपत्यकामा १५ दिनसम्म निशेधाज्ञा लागू हुने भएसँगै लगानीकर्ताहरु अन्योल बनेका छन् ।

बुधवारको कारोबार रकमलाई हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ । यस दिन रू. ३ अर्ब ९८ करोड ३५ लाख ३३ हजार बराबरको ८९ करोड ५३ लाख ४५१ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१५ओटा कम्पनीको ४६ हजार ८०२ पटकको व्यापारमा भएको हो । यसदिन सर्वाधिक रकमको शेयर कारोबार एनसीसी बैंकको भएको छ ।

एनसीसी बैंकको रू. २८ करोड २८ लाख ९३ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको दिन उक्त कम्पनीको शेयरमूल्य पनि ३ दशमलव ६६ प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. १२ ले बढेर बुधवार कम्पनीको अन्तिम शेयरमूल्य रू. ३४० कायम भएको हो ।

यसदिन २ हजार ६०६ दशमलव ५६ विन्दुदेखि खुलेको बजार २ हजार ५६५ दशमलव ८३ विन्दुसम्म झरेको थियो भने २ हजार ६२२ विन्दुसम्म पुगेको थियो । यो उतारचढावलाई देख्दा बिहीवारदेखिको निशेधाज्ञाका कारण लगानीकर्ताहरु आत्तिएको देखिन्छ ।

नियामक निकाय नेपाल धितोपत्र  बोर्डले निशेधाज्ञाका विच पनि बजार सञ्चालन हुने भएकाले कोभिडको जोखिमलाई ध्यान दिई अनलाइनमार्फत कारोबारमा सहभागी हुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ । 

बैंक तथा वित्तीय संस्था सञ्चालन हुने भएकाले पूर्ण अनलाइन कारोबार प्रणालीमार्फत कारोबार गर्न सकिने भन्दै शेयर बजार पनि सञ्चालन हुने भएको छ । बजार सञ्चालन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सकेसम्म अनलाईन कारोबार र अनलाइन रकम भुक्तानीलाई प्राथमिकता दिई कारोबारमा सहभागी हुन लगानीकर्ताहरुलाई पनि आग्रह गरेको छ ।

धितोपत्र कारोबार व्यवसायी ब्रोकरहरुलाई पनि अनलाईन कारोबार गर्न गराउँन नेप्सेले यसअघिनै निर्देशन दिईसकेको छ । गत वर्ष पनि लकडाउन अवधिभर बन्द भएको शेयर बजार पूर्ण अनलाइन कारोबार प्रणालीमार्फत कारोबार गर्न सकिने व्यवस्था गर्दै कोभिडको प्रभावका विच सञ्चालन गरिएको थियो । 

गत वर्ष ९८ दिन बजार बन्द भई नियामक निकाय र बजार सञ्चालकले अनलाईन कारोबार प्रणाली अनिवार्य गरी बजार सञ्चालन गरेका थिए । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत वर्ष चैत ११ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको लकडाउन हुनुपूर्व चैत १० गतेदेखिनै शेयर बजार बन्द भएको थियो । 

लकडाउनका बीच वैशाख ३० र ३१ गते खुलाईएको बजार दुवै दिन नकारात्मक सर्किटको प्रभावमा परेपछि नियामक निकायले पुनः बजार बन्द गरेको थियो । 
बुधवार व्यापारिक, उत्पादन तथा प्रशोधन र अन्य समूह बाहेकका समूहगत परिसूचक घटेका छन् । यसदिन व्यापारिक समूहको शून्य दशमलव २५ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९८ प्रतिशत र अन्य समूहको शून्य दशमलव ९ प्रतिशत परिसूचक बढेको हो ।

यो दिन वित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव २४ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ्गको शून्य दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ५८ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८५ प्रतिशत, जलविद्युतको शून्य दशमलव ७५ प्रतिशत घटेको छ ।

यसैगरी निर्जिवन बीमाको शून्य दशमलव ८१ प्रतिशत, लघवित्तको शून्य दशमलव ८९ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८८ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव शून्य ८ प्रतिशत र लगानी समूहको शून्य दशमलव १ प्रतिशत परिसूचक घटेको छ ।

दोहोरो अंकले घटेको बजारमा विशाल बजार कम्पनी र महिला लघुवित्तको शेयरमूल्य भने ९ दशमलव ९९ प्रतिशत बढेको छ । यो दिन विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ४२१ ले बढेर अन्तिम मूल्य रू. ४ हजार ६३६ र महिला लघुवित्तको प्रतिकित्ता रू. २५८ ले बढेर अन्तिम मूल्य रू. २ हजार ८४१ कायम भएको हो । 

यसदिन पोखरा फाइनान्सको शेयरमूल्य भने सर्वाधिक ६ दशमलव १५ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १९ ले घटेर अन्तिम मूल्य रू. २९० कायम भएको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्