ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

जलविद्युत्को लगानी सुरक्षा सुनिश्चित गर्न इप्पानको माग

२०७८ बैशाख, १६  
समाचार
Image Not Found

काठमाडौं (अस) । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले जलविद्युत् आयोजनाका गरिएको लगानीको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सीता हाइड्रोपावर कम्पनीले बनाउन लागेको न्यासिमखोला जलविद्यत् आयोजना (३५ मेगावाट)मा जाँदै गरेका कम्पनीका कर्मचारीको अपहरणको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै संस्थाले जलविद्युत् आयोजनाका कर्मचारी, सवारीसाधन र समग्र लगानीको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग माग गरेको हो ।

उक्त आयोजना निर्माणका वैशाख ८ गते पाँचजना कर्मचारीसहित आयोजना स्थलतर्फ गइरहेको बा ६ च १३३४ नम्बरको हाइलक्स गाडी तीनओटा मोटरसाइकलमा आएको अज्ञात समूहले अपहरण गरी कर्मचारीलाई तीन किलोमिटर पर लगेर छाडिदिएको र गाडी लिएर फरार भएको समाचार विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो । साथै उक्त जानकारी सीता हाइड्रोपावर कम्पनीमार्फत इप्पानमा समेत आएको भन्दै संस्थाले बुधवार विज्ञप्ति गरी सो सम्बन्धमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

‘विगतमा पनि जलविद्यत् आयोजनाहरूलाई लक्षित गरी यस्ता थुप्रै घटना भइसकेका र हालसम्म पनि यस्ता घटनालाई निरुत्साहित गर्ने कुनै पनि संयन्त्र निर्माण नभएको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले ऊर्जा क्षेत्रमा नकारात्क प्रभाव पर्ने र स्वदेशी तथा विदेशी लगानीलाई निरुत्साहित तुल्याई १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने नेपाल सरकारको लक्ष्य पूरा नहुने निश्चित देखिन्छ ।’ तत्काल उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारबाहीका लागि संस्थाले माग गरेको छ । साथै राष्ट्रिय प्राथमिकताप्राप्त जलविद्युत् आयोजनाहरूमा यस्ता कार्य निरुत्साहित गरी सुरक्षाको सुनिश्चितता गर्न समेत माग गरिएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्