ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निषेधाज्ञाको प्रभावले घट्यो कुखुराका चल्लाको माग

२०७८ बैशाख, १६  
समाचार
Image Not Found

काठमाडौं (अस) । निषेधाज्ञाको प्रभावले कुखुराका चल्लाको माग घटेको छ । अहिले कतिपय जिल्लामा निषेधाज्ञा लागू भएको र केही जिल्लामा निषेधाज्ञा हुन थालेपछि किसानले कुखुराका चल्लाको माग घटाएका हुन् ।

ह्याचरी उद्योग संघका अनुसार नेपालमा प्रतिहप्ता ४२ लाख चल्लाको माग हुने गर्दछ । अहिले प्यारेन्ट चल्लाको अभावमा उत्पादन घटेर ३० लाख मात्र छ । यसमध्ये पनि अहिलेको बजार माग १५ प्रतिशतले घटेको संघले बताएको छ ।

निषेधाज्ञाका कारण दाना, औषधि लगायत आवश्यक सामग्री नपाइने त्रासले किसानले चल्लाको माग घटाएको ह्याचरी उद्योग संघका अध्यक्ष ऋषिराम पौडेलले जानकारी दिए । माग घटेसँगै चल्लाको मूल्य पनि घट्न सक्ने उनले बताए । अहिले प्रतिचल्ला ७० रुपैयाँ छ ।

मासुको मूल्य घट्यो
निषेधाज्ञाका कारण बजारमा ब्रोइलर कुखुराको मासुको मूल्य ह्वात्तै घटेको छ । केही दिन अघिसम्म मूल्य बढेर प्रतिकिलो ४४० रुपैयाँसम्म पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य निषेधाज्ञाको निर्णय भएसँगै ३ दिनको अन्तरालमा ४० रुपैयाँ घटेर प्रतिकिलो ४०० रुपैयाँमा आएको छ ।

सरकारले निषेधाज्ञाको समयमा पनि कुखुराको ओसारपसारका साथै मासु पसल सञ्चालनमा रोक नलगाउने बताएको छ । यद्यपि मासुको मूल्यमा निषेधाज्ञाको प्रभाव परेको छ । निषेधाज्ञाको घोषणापछि लाखौं मानिसले काठमाडौं उपत्यका छाडेका छन् । यसकारण मासुको खपत घटेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए ।

उनका अनुसार काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ लाख किलो मासु खपत हुने गर्दछ । उपत्यका छाडेर बाहिरिनेहरू बढेसँगै खपत करीब ४० प्रतिशत घटेको बताइएको छ ।

गतवर्ष कोरोना महामारीका कारण चपेटामा परेको पोल्ट्री व्यवसायमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी नेपाल पोल्ट्री व्यवसायी महासंघले बताएको छ । यस वर्ष त्यस्तो अवस्था आउन नदिन तयारी कखुरा, अण्डा, दाना, औषधि लगायत वस्तु ओसारपसार तथा विक्री वितरण सहज बनाउन महासंघले सरकारसँग आग्रह गरेको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्