ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नयाँ बजेटले पर्यटन जोगाउने कार्यक्रम ल्याओस्

२०७८ बैशाख, १६  
लेख | दृष्टिकोण
Image Not Found

सरकार नयाँ आर्थिक वर्षका लागि बजेट निर्माणको तयारीमा जुटेको छ । सरकारी कार्यालय तथा निजीक्षेत्रले बजेटमा आउनुपर्ने कार्यक्रमबारे आआफ्ना सुझाव दिने क्रम चलिरहेको छ । निजीक्षेत्रका प्रतिनिधिमूलक संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ र चेम्बर अफ कमर्शले आगामी बजेटमा समेट्नुपर्ने निजीक्षेत्रका चासो र चिन्तालाई सरकारसमक्ष सुझावका रूपमा प्रस्तुत गरिसकेका छन् । पर्यटन क्षेत्रमा पनि होटल एशोसिएशन नेपाल (हान)ले पनि विभिन्न सुझाव दिएको छ । तीमध्ये धेरैजसो सुझाव थलिएको व्यवसायलाई कसरी जोगाउन सकिन्छ भन्नेमा केन्द्रित रहेका छन् ।

एक वर्षभन्दा बढी समय पर्यटन व्यवसायीहरूले कुनै आम्दानी गर्न पाएनन् । केही साना होटेल, रेस्टुराँ र आन्तरिक पर्यटनलक्षित व्यवसायले २/३ महीना व्यवसाय गर्न पाए । सञ्चालन खर्च थोरै भए पनि उठाउन पाउँदा ती खुशी नै थिए । तर, कोरोनाको दोस्रो लहर शुरू भएसँगै पर्यटन क्षेत्र फेरि निराश बनेको छ । चालू आर्थिक वर्षमा सरकारले व्यवसाय सञ्चालन कर्जा, कर्जाको पुनःसंरचना आदिका माध्यमबाट व्यवसाय जोगाउन प्रोत्साहन गरेको छ । तर, यस्तो प्रोत्साहनका कार्यक्रमबाट धेरै पर्यटन व्यवसायी लाभान्वित हुन सकेनन् । आप्mनो सानोतिनो पूँजी लगाएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूले बैंकबाट कर्जा लिन सकेनन् । कतिपयले बैंकबाट कर्जा लिनुभन्दा आप्mनो जायजेथा विक्री गरेर पनि व्यवसाय जोगाउनतिर लागे । यसो पनि गर्न नसक्नेहरू व्यवसाय नै छाडेर पलायन पनि भए । यस्तो समस्यामा पिल्सिएको पर्यटन व्यवसायलाई सरकारले जति सहयोग गर्नुपथ्र्यो त्यो गरेन ।

पर्यटन व्यवसायबाट लगानीकर्तामात्र लाभान्वित भएका हुँदैनन् । १०औं लाखलाई यसले रोजगारी र स्वरोजगारी दिएको छ । पर्यटन गन्तव्यका स्थानीयको उत्पादन विक्रीदेखि सरकारले राजस्वको जम्मा गर्ने व्यवसाय हो यो । विदेशी मुद्रा आर्जनको स्रोत भएर पनि सरकारले यसबारे स्पष्ट मार्गचित्र बनाएर व्यवसायीहरूलाई समेटेर विस्तार गर्न सकेको छैन । सरकारले केही ठूला पूर्वाधार बनाए पनि अन्य लगानी भने निजीक्षेत्रले गरेको छ र यसलाई चलायमान बनाएको छ । यस्तोमा आगामी वर्षमा कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र भनी कर छूटलगायतका विभिन्न प्रोत्साहन दिन आवश्यक छ जुन पर्यटन क्षेत्रका प्रतिनिधिमूलक संस्थाले उठाउँदै आएका छन् ।

अझै एकडेढ वर्ष पर्यटन क्षेत्र चलमलाउने छाँटकाँट देखिएको छैन । कोरोना भाइरसको म्युटेड संस्करण कति समयसम्म बाँचिरहने हो कुनै आकलन गर्न सकिने आधार छैन । वैज्ञानिकहरूले यो मानव जीवनको अंग बन्ने बताएका छन् । भ्याक्सिनले यसबाट पूर्ण सुरक्षा दिने सम्भावना पनि कमै छ । यस्तोमा नेपालले बाह्य पर्यटनबाट भन्दा आन्तरिक पर्यटनबाट लाभ लिन सक्छ । निषेधाज्ञा हटेपछि चलायमान बनेको आन्तरिक पर्यटनले धेरै कुराको संकेत गरेको छ । आन्तरिक पर्यटकलक्षित गरी प्याकेजहरू बनाउन सकिएको रहेनछ भन्ने यसले देखाएको छ । आन्तरिक पर्यटकलाई उपेक्षा गर्ने प्रवृत्ति ठूला व्यवसायीमा रहेको पनि यसले देखायो । विदेशी पर्यटकसरह खर्च गर्न सक्ने तथा साहसिक काम गर्न रुचाउने ठूलै युवासमूह रहेको तथ्य अहिलेको संकटले बाहिर ल्याइदिएको छ ।

आन्तरिक पर्यटक पनि एकथरि सेल्फी पर्यटक छन् जसले अर्थतन्त्रमा खासै योगदान दिँदैनन् । फोटोका लागि मात्र आउने तर अन्य खर्च नगर्ने आन्तरिक पर्यटक नभएका होइनन् । तिनलाई पनि केही खर्च गर्नैपर्ने गरी बाध्य बनाउन सक्ने गरी पर्यटन पूर्वाधार र कार्यक्रम तय गर्न बाँकी नै छ । विदेशीसरह खर्च गर्ने आन्तरिक पर्यटकका लागि विशेष प्याकेज ल्याउन पनि जरुरी देखिएको छ । पर्यटनका लागि पैसा हुने व्यक्तिभन्दा पनि घुम्न रुचाउने, साहसिक क्रियाकलापमा सहभागी इच्छा ठूलो कुरा हो । अहिले नेपालीहरू पदयात्रा, साना हिमाल आरोहण, बन्जी जम्पिङजस्ता क्रियाकलापका लागि राम्रै खर्च गर्न थालेका छन् ।

पर्यटनका लागि खर्च गर्न सक्ने व्यक्ति भनेका व्यापारी वा कर्मचारी नै हुन् । यी दुवै व्यस्त हुने पेसा हुन् । तर, कामको बोझबाट थलिएका यिनीहरूलाई आन्तरिक पर्यटनमा हौस्याउनु आवश्यक छ । अलिकति पैसा जम्मा गरेर थाइल्यान्ड वा बाली जाने प्रवृत्ति भएका उच्च मध्यमवर्गीय नेपालीहरूलाई नेपालकै पर्यटनमा रोक्न सक्नुपर्छ । यसका लागि बेग्लै अनुभूति हुने प्याकेज आवश्यक हुन्छ । सधैं पहाड र हिमाल देखिरहेका नेपालीहरूलाई ती वस्तु नै हेर्न प्रेरित गर्नुको अर्थ हुँदैन । तर, त्यसमा केही नयाँपन देखिने, शारीरिक सक्रियता आवश्यक पर्ने खालका गतिविधि थप्न सकियो भने आन्तरिक पर्यटक राम्रै पाउन सकिन्छ ।

आन्तरिक पर्यटनलाई बढावा दिन सरकारले २०७६ सालमा बिदा पर्यटन कार्यविधि तयार पारिएको थियो । त्यस्तै पूर्वपर्यटन मन्त्रीले आइतवार बिदा दिने वा पर्यटन बिदा दिने सम्बन्धमा पनि चर्चा र पहल थालेका थिए । तर, यी कुनै काम भएनन् । अहिले पनि पर्यटन बिदाबारे चर्चा शुरू भएको छ । भारतले मानसरोवर जानेलाई अनुदान दिन्छ, पशुपति दर्शन गर्न जानेलाई पनि अनुदानको व्यवस्था गरेको छ । ती क्षेत्रको भ्रमण गरेको प्रमाणपत्र प्रस्तुत गरेपछि यस्तो अनुदान लिन पाइन्छ । तर, नेपालमा १ हप्ता बिदा दिने व्यवस्थासम्म गर्न सकिएको छैन ।

शनिवार र आइतवार २ दिन बिदा दिएर आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न खोजिएको थियो । तर, यो अलि व्यावहारिक भएन । यस्तो बिदामा नजिकका गन्तव्यमा जान सकिने भए पनि नेपालका महत्त्वपूर्ण पर्यटकीय क्षेत्र राम्ररी घुम्न भने सकिँदैन । त्यसैले यसले जुवाडेमात्रै बढाउँछ भन्ने विरोध गर्ने पनि थिए । सरकार साँचीकै आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्न चाहन्छ भने कम्तीमा पनि १ हप्ताको पर्यटन बिदा दिनुपर्छ ।

वर्षभरि काम गरेका कर्मचारीहरू यस्तो पर्यटनमा जान थाले भने ज्यादै पुनर्ताजगी प्राप्त गर्छन् । यसले उनीहरूको कार्य क्षमतामा सकारात्मक असर पार्छ । विभिन्न क्षेत्रमा मानिसहरूसँग सम्पर्क हुने हुँदा उनीहरूले देशको वास्तविकता बुझ्न सक्छन् । त्यस्तै नीति निर्माणमा तहमा पुगेकाहरूलाई नीति निर्माणमा परिवर्तन ल्याउन पनि भ्रमणले प्रभावित पार्न सक्छ । कस्तो कार्यविधि बनाउँदा प्रभावकारी हुन्छ भन्ने गहन अध्ययन गरी यस्तो बिदा दिनु उपयुक्त हुन्छ । तलबी र बेतलबी दुवै खालका बिदा दिन सकिन्छ ।

पन्त नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का पूर्वमहासचिव हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्