ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घर बहालमा कानूनी व्यवस्था

घरधनी र बहालवालाले ध्यान दिनुपर्ने विषय

२०७८ बैशाख, १६  
लेख | दृष्टिकोण
Image Not Found

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको घरलाइ, रकम या रुपैयाँ लिने गरी निश्चित समय अवधिका लागि अन्य व्यक्तिलाई प्रयोग गर्न दिनु बहालमा दिनु हो । बहालमा दिएको हुनका लागि कसैले आफ्नो घर निश्चित समयका लागि अन्य व्यक्तिलाई दिएको र जसलाई दिएको हो, उसले उक्त घर उपभोग गरेको हुनुपर्छ । घर भन्नाले सिंगो घर, घरको तल्ला, कोठा र घरले चर्चेको जग्गा जमीनलाई समेत जनाउँछ । निश्चित समयका लागि रकम तिरेर अर्काको घरमा बस्नु बहालमा बस्नु हो ।

कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्नेजस्ता औद्योगिक या व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिनेले त्यस्तो घरको सुरक्षाका लागि बीमा गराउनुपर्ने हुन्छ ।

कुनै पनि व्यक्तिहरूका बीच विभिन्न शर्त राखेर एकापसमा घर बहालमा लिनेदिने गरी सम्झौता हुन्छ भने त्यो घरबहाल सम्झौता हो । मुलुकी देवानी संहिता २०७४ को परिच्छेद ९ को दफा ३८३ देखि दफा ४०५ सम्ममा यससम्बन्धी व्यवस्था गरिएको पाइन्छ ।

दफा ३८३ बहालमा दिएको मानिने : कसैले आफ्नो हक भोग वा स्वामित्वमा रहेको घर रकम लिने गरी निश्चित समयका लागि कुनै व्यक्तिलाई उपयोग गर्न दिएकोमा बहालमा दिएको मानिनेछ ।

स्पष्टीकरण : यस परिच्छेदको प्रयोजनका लागि ‘घर’ भन्नाले कुनै घर, घरको तल्ला, एकाइ, कोठा वा त्यस्तो घरले चर्चेको जग्गा वा लगापातसमेत सम्झनुपर्छ, भनिएको छ । मानव बसोवास गर्न स्वास्थ्य तथा सुरक्षाका दृष्टिले अनुपयुक्त घर बहालमा लिनु दिनु गर्नु नहुने व्यवस्था दफा ३८४ मा गरिएको छ । व्यक्तिहरूका बीच घर बहाल लिँदा दिँदा बहाल अवधि बढीमा ५ वर्षको हुनुपर्ने छ तर व्यापारिक प्रयोजनका लागि घरबहाल दिएकोमा सम्झौतामा उल्लेख गरेबमोजिम हुने व्यवस्था दफा ३८५ मा गरिएको छ ।

कुनै व्यक्तिले घर बहालमा दिँदा निम्न कुराहरू खुलाई बहालमा लिने व्यक्तिसँग लिखित सम्झौता गर्नुपर्छ । यसमा घर बहाल लिने र दिने व्यक्तिहरूको पूरा नाम ठेगाना, नागरिकता नम्बर र विदेशी व्यक्ति भए राहदानी वा परिचय खुल्ने प्रमाणपत्र, घर रहेको ठाउँ र जग्गाको कित्ता नम्बर, बहाल लिने प्रयोजन, बहाल शुरू र कायम रहने समय, मासिक बहाल रकम, बहाल बुझाउने समय र प्रकृया, घरमा प्रयोग भएका बिजुली, खानेपानी, टेलीफोनको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी, बीमा, घर छाड्ने र हटाउने, बहालमा लिएको घर अन्य व्यक्तिलाई पुनः बहाल दिन पाउने नपाउने र आवश्यक लागेका अन्य कुराहरू सम्झौतामा उल्लेख गरिनुपर्छ । यसका साथै मासिक २० हजार रुपैयाँसम्मको लेनदेनमा लिखत सम्झौता आवश्यक छैन भने बहाल बस्ने व्यक्तिको फोटो टाँस गर्नुपर्ने र त्यस्तो सम्झौतामा कम्तीमा २ जना साक्षीको सहीछापसमेत हुनुपर्ने व्यवस्था दफा ३८६ मा गरिएको छ ।

घर बहालमा लिनेदिने गर्दा सम्झौता गर्दाकै बखत घरधनीले बहाल दिने घरको कुनै खोट वा कमजोरी भएमा त्यसको विवरण बहालमा लिनेलाई अनिवार्य रूपमा दिनुपर्छ भन्ने व्यवस्था दफा ३८७ ले गरेको पाइन्छ ।

कुनै व्यक्तिलाई घर बहालमा दिँदा घरमा मालसामान वा कुनै वस्तुसमेत रहेछ भने बहालमा दिनुअघि घरमा रहेको सामान वा वस्तु केकस्तो अवस्थामा रहेका छन् त्यसको विवरण तयार पार्नुपर्छ । यदि बहालमा लिनेले त्यस्तो सामान प्रयोग गर्ने भए त्यस्तो सामान घर बहालमा लिनेले बुझी लिएर त्यसको भर्पाइ घरधनीलाई दिनुपर्ने व्यवस्था दफा ३८९ मा गरिएको छ ।

घरधनीले बहालमा बस्ने व्यक्तिलाई सम्झौतामा उल्लेख भएबमोजिम घर उपयोग गर्न दिनुपर्छ । सम्झौतामा अन्यथा व्यवस्था भएकोमा बाहेक पानी बिजुली र ढल निकास तथा सरसफाइको व्यवस्था घरधनीले नै गर्नुपर्छ । बहालमा बस्नेलाई सोही घरमा बस्ने अन्य व्यक्तिबाट असुरक्षा हैरानी वा अशान्ति भएमा त्यसलाई रोक्ने कार्य गर्नुपर्छ । शान्त वातावरणको व्यवस्था मिलाउने साथै सम्झौतामा उल्लिखित सबै कुरा पालना गर्नुपर्छ भनी घरधनीको दायित्वका बारेमा दफा ३८९ मा व्यवस्था गरिएको छ ।

सम्झौताबमोजिम निर्धारित समयमा बहाल रकम बुझाउनुपर्ने, बहालमा लिएको घरलाई आप्mनै घरसरह मानी सरसफाईका साथै उचित र उपयुक्त तरीकाले हेरचाह र संरक्षण तथा सुरक्षा गर्नुपर्ने, बहालमा रहेको घरका अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति हैरानी वा असुरक्षा हुने कार्य गर्न नहुने र सम्झौतामा उल्लिखित कुराहरू पालना गर्नुपर्ने भनी बहालमा बस्नेको दायित्वको सम्बन्धमा दफा ३९० मा व्यवस्था गरिएको छ ।

बहालमा लिनेले घरधनीसँग भएको सम्झौतामा लेखिएको तरीका र प्रक्रियाबमोजिम घरधनीलाई बहाल बुझाउनुपर्छ तर कुनै तरीका र प्रक्रिया उल्लेख रहेनछ भने प्रत्येक महीना भुक्तान भएको ७ दिनभित्र बहाल बुझाउनुपर्छ, त्यसरी बुझाउँदा नगद वा चेक जे बुझाए पनि हुन्छ । घरधनीले नगद बुझेकोमा भने बुझेको भर्पाइ गरी बहाल बुझाउनेलाई दिनुपर्छ भन्ने व्यवस्था दफा ३९१ मा गरिएको छ । बहालमा लिने र दिनेका बीच विवाद नहोस् र व्यावहारिक सहजता कायम होस् भन्नका लागि यस्तो व्यवस्था गरिएको हो ।

जसले आय आर्जन गर्छ, उसले कर तिर्नुपर्छ । त्यसैले घरबहाल सम्झौतामा नै कर कसले तिर्ने हो स्पष्ट उल्लेख हुनुपर्छ । यदि उल्लेख भएको छैन भने कर तिर्ने दायित्व घर धनीकै हुने व्यवस्था दफा ३९२ ले गरेको छ ।

औद्योगिक या व्यावसायिक प्रयोजनका लागि घर बहालमा लिनेले त्यस्तो घरको सुरक्षाका लागि बीमा गराउनुपर्ने हुन्छ । औद्योगिक वा व्यावसायिक प्रयोजन भन्नाले कुनै उद्योग सञ्चालन गर्ने वा डिपार्टमेन्टल स्टोर वा एक वा एकभन्दा बढी पसल राखी व्यापार वा व्यवसाय गर्ने कार्य बुझिन्छ । प्राकृतिक प्रकोप वा अशान्ति, हूलदंगा, आगजनीजस्ता मानवीय कारणले हुनसक्ने क्षतिबाट बचाउन बीमा गर्नुपर्ने व्यवस्था दफा ३९३ मा गरिएको छ ।  

सम्झौतामै बहाल लिने दिनेमध्ये कसले घरको मर्मत सम्भार गर्ने हो त्यसबारेमा स्पष्ट उल्लेख भएकोमा सोहीबमोजिम र कुनै कुरा उल्लेख भएको रहेनछ भने बहालमा लिएको व्यक्तिले नै घरको मर्मत सम्भार गर्ने दायित्व हुन्छ भन्ने व्यवस्था दफा ३९४ मा गरिएको छ ।

घर बहाल सम्झौता हुँदा बहाल लिनेले त्यस्तो घर वा त्यसको कुनै अंश अन्य व्यक्तिलाई पुनः बहालमा दिन सक्ने भन्ने उल्लेख भएको रहेछ भने बहालमा दिने र लिनेबीच भएको सम्झौताको अधीनमा रही पुनः बहालमा दिन सक्ने तर सो सम्झौताविपरीत हुनेगरी बहालमा दिन नसक्ने कुरा दफा ३९५ मा व्यवस्था गरिएको छ भने घरधनीको स्वीकृतिविना बहालमा लिएको घरको संरचना भत्काउने, बिगार्ने गरी संरचनामा हेरफेर गर्नु नहुने कुरा दफा १९६ मा गरिएको छ । घर बहाल सम्झौता गरिसकेपछि सम्झौताविपरीत घर प्रयोग गर्नु नहुने व्यवस्था दफा ३९७ मा गरिएको छ । जुन प्रयोजनका लागि घर बहालमा लिएको हो त्यस कामका लागि निजलाई घर नचाहिने भई घर छाड्न परेमा बस्ने व्यक्तिले कम्तीमा ३५ दिनुअगावै घरधनीलाई लिखित सूचना गर्नुपर्छ । यदि घर बहाल लिने दिने सम्झौतामा अन्यथा उल्लेख भएमा सोहीबमोजिम हुने व्यवस्था दफा ४०० मा गरिएको छ । घरबहालको अवधि समाप्त भएमा वा बहालमा बस्ने व्यक्तिले सम्झौता विपरीत कार्य गरेमा पनि घरधनीले बहालमा बस्नेलाई घरबाट हटाउन सक्ने व्यवस्था दफा ४०१ ले गरेको छ । यसरी मुलुकी देवानी संहिता २०७४ ले घर बहालका सम्बन्धमा व्यावहारिक रूपमा सहज हुने गरी छुट्टै र स्पष्ट कानूनी व्यवस्था गरेको छ ।  

लेखक अधिवक्ता हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्