ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

व्यापार सुविधाको लैंगिक आयामबारे वेबिनार सम्पन्न

२०७८ बैशाख, १६  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १५, काठमाडौं । नीतिमा लैंगिक विभेदले पार्ने प्रभाव थाहा नपाउने त्रूटीपूर्ण नीति र सुधारहरुका कारण महिलाको व्यापार गर्ने वातावरणलाई क्षति पुग्ने गरेको विज्ञहरुले चेतावनी दिएका छन् । 

व्यापार, वातावरण तथा अर्थतन्त्र विषयमा अनुसन्धानरत संस्था सावतिले हालै आयोजना गरेको व्यापार सुविधाको लैंगिक आयामः नेपालबाट प्राप्त प्रमाण नामक वेबिनारमा उनीहरुले त्यस्तो बताएका हुन् ।

 उक्त वेबिनारमा सावतिका वरिष्ठ अनुसन्धान अधिकृत दिक्षा सिंहले महिला उद्यमीहरु अन्तरराष्ट्रिय बजारमा सहभागी भएपनि उनीहरु अनुपयुक्त वस्तुहरु जस्तैः सहजै बिग्रेर जाने वस्तुको उत्पादनमा संलग्न हुने, घरेलु बजारलाई मात्रै धेरै ध्यान दिने र विदेशी बजार तथा क्रेताबारे ज्ञान नहुने जस्ता  समस्यामा रुमलिनु परीरहेको अध्ययनको क्रममा पाइएको बताइन् ।

नीति निर्माणको तह र सञ्चालनको स्तर, भन्सार र अन्य लजिष्टिक शृङ्खलामा महिला प्रतिनिधि नहुनुको अर्थ महिला उद्यमी केन्द्रित समस्याहरु नीतिगत तहमा सम्बोधन नहुनु पनि भएको सिंहले बताइन् । 

 यी तथ्यहरु सावतिले साढे दुई वर्षसम्म गरेको अध्ययनमा आधारित रहेको बताइएको छ । सावतिले अन्तरराष्ट्रिय व्यापारमा महिलाहरुले भोगेका समस्याहरु खोजबिन गर्न यो अध्ययन यूके एडको सहयोगमा भारतको कट्स इन्टरनेशनलसँग मिलेर गरेको थियो । उत्पादन क्षमता र स्तरमा देखिएका समस्या बाहेक पनि विदेशी बजारसम्बन्धी जानकारी अभाव हुनुले विदेशी बजारमा नयाँ व्यवसायिक सम्पर्क स्थापनामा पनि समस्या रहेको सहभागीहरुले बताए ।

व्यापार र निर्यातले रोजगारी र आय सृजनामार्फत अर्थतन्त्रलाई टेवा दिने भएपनि नीतिहरुमा नै त्रुटि भयो भने यसले थप महिलाहरु रोजगार रहेको क्षेत्रमा नजानीकन भेदभावमा परी लैंगिक असमानता थप खस्काउन सक्ने सावतिका अध्यक्ष डा पोषराज पाण्डेले बताए । 

गरिबी निवारण कार्यक्रमहरु अन्तर्गत मात्रै  महिला उद्यमशिलतालाई समान मान्ने गरी बनाइएको उद्यम विकास नीतिहरुले महिला नेतृत्वका उद्यम नफष्टाउने वरिष्ठ अर्थशास्त्री बिणा प्रधानले वेबिनारमा औंल्याइन् । 

वेबिनारका सहभागीहरुमा महिला उद्यमी, नागरिक समाजका प्रतिनिधि, नीति निर्माता र प्राज्ञहरु रहेका थिए । सूचना तथा जानकारीमा महिला उद्यमीहरुको सीमित पहुँच रहेको औंल्याउँदै उद्यमीहरुको क्षमता विकासमा सरोकारवाहरुसँगको सहकार्यमा प्रयास गर्नुपर्ने सहभागीहरुले बताए । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्