ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

दराज किन्नुपूर्व यी विषयमा ध्यान दिनुस्

२०७८ बैशाख, १७  
अभियान परिशिष्ट (सप्लिमेन्ट)
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । घर र अफिसका लागि दराजको महत्व धेरै हुने गर्दछ । त्यसैले दराज किन्ने बेला केही महत्वपूर्ण विषयबारे जानकारी लिनु राम्रो हुन्छ ।

दराजबारे जानकारी दिनुपर्दा प्रयोगका हिसाबले घर तथा कार्यालयमा दराजको महत्व केही फरक हुने गर्दछ । घरमा लुगा–कपडा, गरगहनालगायत वस्तु राख्न दराजको प्रयोग हुन्छ भने कार्यालयमा विभिन्न महत्वपूर्ण कागजात तथा फाइल व्यवस्थापन गर्न यसको प्रयोग हुने गर्दछ ।

दराजको बनावट, आकार, त्यसमा प्रयोग गरिएको रंग र काठको आधारमा यसको मूल्य निर्धाण हुने गर्दछ । ग्राहकको रोजाइअनुसार बजारमा विभिन्न डिजाइन तथा मूल्यका दराज उपलब्ध छन् । अहिले बजारमा वान पिस, टू पिस र थ्री पिस दराज प्रचलनमा छन् । यी सबै खाले दराजमा प्लाई र सिसौका काठ प्रयोग भएको हुन्छ । दराज विभिन्न साइजका बनाइने हुँदा तिनको मूल्य पनि फरक–फरक हुने गर्छ । सस्तादेखि महँगासम्मका दराज ग्राहकले छानीछानी खरिद गर्न सक्छन् ।

वान पिस दराज
वान पिस दराज सबैभन्दा सस्तो मूल्यमध्येमा पर्दछ । सस्तो मूल्यमा दराज किन्न चाहनेहरूका लागि यो दराज उपयुक्त हुने बताइन्छ । यसको साइज ३/६ फुटको हुने गर्दछ  भने भित्रको गहिराइ १६ इन्च हुन्छ । बालकुमारी काष्ठ उद्योग कीर्तिपुरका प्रोप्राइटर सन्तोष बस्नेतका अनुसार दराजको डिजाइनका आधारमा मूल्यमा तलमाथि हुने गर्दछ । सामान्यतया अहिलेको बजार मूल्यअनुसार यसको मूल्य १२ देखि १५ हजार रुपैयाँसम्म पर्छ ।

यसअघि यो दराजको न्यूनतम मूल्य ११ हजार रुपैयाँ सम्म पर्ने गर्दथ्यो । कोरोना महामारीको प्रभावका कारण फर्निचर निर्माण गर्दा प्रयोग हुने काठ, रंग, सनमाईलगायत विभिन्न कच्चा पदार्थको मूल्य बढेका कारण अहिले यी सामग्रीको मूल्यमा पनि वृद्धि भएको बस्नेत सुनाउँछन् ।

टू पिस दराज
टू पिस दराजको साइज कार्लेससहित ४÷६ फुटको हुन्छ भने यसको भित्री गहिराइ २१ इन्चको हुन्छ । यसको हालको बजार मूल्य १९ हजारदेखि २२ हजार रुपैयाँसम्म पर्दछ ।

टू पिस दराजमा मयुर आकारको बुट्टा भरिएको छ भने त्यसलाई मयुर दराज पनि भन्ने चलन छ । यसमा एकतर्फ मयुरको बुट्टा र अर्कोतर्फ ऐना राखिएको हुन्छ । त्यसो त, सबै दराजमा  आवश्यकता र आफ्नो रोजाइअनुसार ऐना राख्न सकिन्छ । यसको आकार पनि ४/६ इन्च हुने गर्दछ भने गहिराइ २१ इन्चसम्म हुन्छ । यसको बजार मूल्य १७ हजारदेखि २० हजार रुपैयाँ पर्दछ । कतिपय फर्निचर उद्योगहरूले होम डेलिभरीको चार्ज पनि जोडेका हुन्छन भने कसैले होम डेलिभरीको चार्ज नलिएर पनि डेलिभरी दिने भएकाले मूल्यमा केही तलमाथि हुन सक्ने बस्नेत बताउँछन् ।

टू पिस दराजकै अर्को मोडल साढे ३/६ फुटको दराज पनि बजारमा खरिद गर्न सकिन्छ । महँगो मूल्य तिरेर टू पिस दराज खरिद गर्न नसक्ने ग्राहकलाई दृष्टिगत गर्दै यो दराजको डिजाइन बनाइने गरेको  बस्नेतको भनाइ छ । यसको गहिराइ १८ इन्च हुन्छ भने मूल्य १५ हजार ५ सय रुपैयाँसम्म पर्दछ ।

थ्री पिस दराज
अहिले बजारमा उपभोक्ताको सर्वाधिक रोजाइमा परेको दराज हो– थ्री पिस दराज । थ्री पिस दराजको साइज ६/६ इन्चको हुन्छ । यसमा १० एमएमसम्मको प्लाई प्रयोग भएको हुन्छ । ढोका बांगो हुन नदिन यसमा म्याग्नेटका साथै आकर्षक देखाउन सिसा वा ऐना पनि राखिएको हुन्छ । यसको हालको बजार मूल्य ३३ हजार देखि ४० हजार रुपैयाँसम्म पर्छ । यो दराजको आकार ठूलो हुने भएकाले धेरै सामान राख्न सकिन्छ । यो दराज लामो समयसम्म पनि टिक्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्