ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिन्ता गरौं, सुखी बनौं

२०७८ बैशाख, १७  
तीतो मीठो
author avatar मदन लम्साल

पहिले सबैले भन्थे, ‘चिन्ताले मानिसलाई चितामा पुर्‍याउँछ ।’ उहिलेका कुरा खुइले । अहिले त चिन्ता गरौं, सुखी बनौं भन्ने जमात पो फैलँदो छ । मलाई लाग्थ्यो जताततै व्याप्त बेरोजगारी, अभाव, महँगी, भ्रष्टाचारले गर्दा अहिले नेपालीहरू चारैतिर चिन्ताले घेरिएका होलान् । त्यसमा पनि कोरोनाको दोस्रो लहरको कहरले चिन्ताको भारी थपेको होला । तर त्यसो होइन रहेछ । वास्तवमा नेपालीहरू सुखी रहेछन् । चिन्ता गरेपछि सबै लफडाबाट मुक्ति पाइने रहेछ । त्यै भएर त केही महीनाअघि के जाति अन्तरराष्ट्रिय संस्थाले नेपाललाई विश्वकै धेरै खुशी देशहरूको सूचीमा पारेको रहेछ ।

चिन्ता गर्नुको एउटा प्रमुख फाइदा त शारीरिक गतिविधि गरिरहने झञ्झटै पर्दैन । हरेक दिन कम्तीमा एक घण्टा ‘चिन्ता थेरापी’ गर्ने हो भने पनि यो मर्निङ वाक, इभिनिङ वाकमा जाने, जिमखाना जाने, योगास्योगा गर्ने झञ्झट गरिरहनै पर्दैन ।

जसले कुनै कुराको अभाव वा बाधा झेल्नुपर्दैन, उनीहरू पनि चिन्तित देख्ता अचम्म लाग्थ्यो । धनीहरू, तस्करहरू, ठूला पदमा पुगेकाहरू, ठूला नेता, सरकारमा बसेकाहरू सबै चिन्तित । किन होला त भनेर बुझ्दै जाँदा यस्तो तथ्य फेला पर्‍यो ।

नेताहरूलाई देश र जनताको विषयमा निकै चिन्ता लाग्दो रहेछ । उनीहरू देश विकासका विषयमा, पशु अधिकारदेखि वातावरण विनाशका विषयमा चिन्तित, धार्मिक सद्भावका लागि चिन्तित, कुनै खास धर्मको विकास भएको वा नभएकोमा चिन्तित हुँदा रैछन् । त्यै भएर उनीहरू जहाँ पुगे पनि हरेक विषयमा, भाषणमा होस् या प्रेस विज्ञप्तिमा, गम्भीर चिन्ता व्यक्त गर्दा रहेछन् । यसो गरेर उनीहरू जनतालाई सुखी बनाउन पो लागेका रछन् । हाम्ले नबुझेर पो नेतालाई गाली गर्‍या रैछम् ।

प्रत्येक पदधारी, बर्दीधारी पनि जनताका सेवाका काममा चिन्तित हुँदा रहेछन् । जस्तै, प्रहरी प्रशासनलाई जहिले पनि ठूल्ठूला अपराधी, तस्कर कसरी पक्रने भनेर चिन्ता । कतिपय उद्योगी व्यापारीहरूलाई उपभोक्तालाई गुणस्तरीय सामान र सेवा उपलब्ध गराउनुपर्ने चिन्ता, बुद्धिजीवीहरूलाई श्रमजीवी र गफजीवीहरूको चिन्ता । त्यसैले हरेक पत्रपत्रिकाका लेखमा बुद्धिजीवीहरूको चिन्ता छताछुल्ल पोखिएको हुन्छ । चिन्ता गरेमा देशको र आफ्नै पनि खुशी बढ्ने रहस्य उनीहरूले पत्ता लगाइसकेका रहेछन् ।

चिन्ता गर्ने बानीले ठूला मान्छेलाई मात्र होइन, सामान्य मनुवालाई पनि थुप्रै फाइदा हुँदो रहेछ । एउटा प्रमुख फाइदा त शारीरिक गतिविधि गरिरहने झञ्झटै पर्दैन । हरेक दिन कम्तीमा एक घण्टा ‘चिन्ता थेरापी’ गर्ने हो भने पनि यो मर्निङ वाक, इभिनिङ वाकमा जाने, जिमखाना जाने, योगास्योगा गर्ने झञ्झट गरिरहनै पर्दैन । जसलाई आफ्नो स्वास्थ्यको अलिकति मात्र पनि चिन्ता छ भने आफ्नो दैनिकीमा एक घण्टा चिन्ता गर्ने काम शुरू गर्नु उपयुक्त हुन्छ भन्छन् चिन्तायोगीहरू ।

जब मानिसले चिन्ता गर्न शुरू गर्छ, तब पहिलो फाइदा त उसको वजन घट्न शुरू गर्छ । उसले जे जे खाए पनि शरीर नियन्त्रणमा रहन्छ । चिन्ताको सच्चा प्रभाव शरीरमा तब पर्छ, जब चिन्तित हुने मान्छेमा ‘चिन्ता थेरापी’प्रति सच्चा श्रद्धा र विश्वास हुन्छ । अर्थात् चिन्तामा पनि इमानदारी आवश्यक पर्छ । चिन्ता शुद्ध हुनुपर्छ, २४ क्यारेट सुनजस्तै ।

चिन्ता गर्नु भनेको स्वास्थ्यकै दृष्टिकोणले पनि एकदमै आवश्यक कुरा हो । यदि हाम्ले ठीकसँग चिन्ता गर्न सिक्यौं भने सम्झनोस् कि स्वस्थ भइयो । पुरानो जमानामा जति पनि महान् व्यक्तिहरू भए, जति दीर्घ जीवन बाँचे, ती सबै चिन्ता गर्ने बानीकै कारण रहे । भगवान् रामलाई नै हेर्नोस् न । पहिला उनी राज्य गुमेको कारणले चिन्तित बने । पछि सीता अपहरणका कारण । फेरि धोबीले गर्दा आफ्नो बदनामीका कारण । फेरि आफ्ना छोराहरूद्वारा आफ्नो सेनाका पराजयका कारण । पछि फेरि सीताको धर्ती प्रवेशका कारण । यी तमाम कुराका कारण उनी चिन्तित भइरहे र कालान्तरमा मर्यादा पुरुषोत्तम कहलिए र आज पनि पूजित भइरहेका छन् ।

कृष्णदेखि क्राइस्टसम्म, माक्र्सदेखि महन्तसम्म सबै चिन्ताकै पछि लागेका हुन् । श्रीकृष्ण पहिले १६ सय गोपीनीका साथ चिन्तित हुन्थे । पछि १६ हजार रानीका । यस्तै चिन्ता गर्दा गर्दै उनी पछि १६ कलायुक्त सम्पूर्ण अवतार मानिए । कविरदासले त झन् दुःख र चिन्ताकै कविता लेखिरहे र दुब्ला पातला रहेर सय वर्षभन्दा बढी बाँचे । हाम्रै प्रधानमन्त्रीलाई हेर्नुस् न । सबैले समर्थन गर्दा चिन्ता थिएन, स्वास्थ्य पनि ठीक थिएन । सत्ताको किचलोले चिन्ता थपिएपछि सबै रोगलाई जितेर सबै विपक्षीलाई अहिलेसम्म परास्त गर्न सक्षम हुनुहुन्छ ।

हेर्नुस् त, मानिसको सरदर आयु बढेको छ । किनकि उनीहरू अचेल सधैं चिन्तित रहन्छन् नि त ! एउटै मान्छेको पीसीआर टेष्ट गर्दा सरकारी रिपोर्टले कोरोना नेगेटिभ छ भन्छ । तर तुरुन्तै निजी अस्पतालले पोजेटिभ रिपोर्ट दिन्छ । अनि बढ्दैन त चिन्ता ? दुनियाँ जटिल बन्दो छ । र मानिसका चिन्ता पनि जटिल र कुटिल बन्दै छ ।

कतिपयले आफ्नो व्यक्तिगत चिन्ताको स्तरलाई उठाएर देशसम्म लैजान्छन् । देशको चिन्ता सकिएपछि पनि जसको चिन्ताको ‘स्टक’ खत्तम हुँदैन, उनीहरू आफ्ना चिन्ताको गलबन्दीलाई पूरा विश्वमै तन्काउँछन् । उनीहरूलाई बरु आफ्ना वरपर वा छिमेकमा के समस्या परेको छ मतलव हुन्न, तर अमेरिका, बेलायत वा भेनेजुयेलामा के हुनुपर्ने र के भइरहेछ भन्नेमा चिन्ता छ । अझ चन्द्र वा मंगल ग्रहसम्म उनीहरूको चिन्ताको तार पुगेको हुन्छ । किनकि यो उनीहरूले जताततैबाट सुखी हुने प्रयास गरिरहेको प्रमाण हो ।

चिन्ताका फाइदाका बारेमा भनिसाध्यै छैन । यदि तपाईंले अहिलेसम्म चिन्तित हुन सिक्नुभएको छैन भने बुझ्नोस कि तपाईंको वास्तविक जीवन शिक्षा अधुरो छ, अपुरो छ । त्यसैले सुख पाउन चाहनुहुन्छ भने अब उठ्नोस् र हरेक विषयमा गम्भीर चिन्ता गर्न शुरू गर्नोस् । नत्र अरूभन्दा पछि पर्नुहोला है !

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्