ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीईडीबी हाइड्रोपावरको आईपीओमा आजदेखि आवेदन दिन सकिने 

२०७८ बैशाख, १७  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १७, काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (शुक्रवार) देखि सर्वसाधारणका लागि आईपीओ विक्री गर्दैछ । 

कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ विक्री गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गर्न लागेको हो । 

उक्त आईपीओ छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीको भनाइ छ ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।
सार्वजनिक निष्कासनमा आस्बा सेवा अनिवार्य रहेकाले अनलाइन मार्फत नै शेयर भर्न सकिने भन्दै निषेधाज्ञाकै बीच कम्पनीले आईपीओ विक्री खुला गरेको हो ।

कोभिड १९ जोखिमलाई ध्यान दिदैं मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले निषेधाज्ञाकाबिच बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म कार्यालय सञ्चालन गर्ने भएका छन् ।  

कम्पनीलाई आईपीओ विक्रीको लागि धितोपत्र बोर्डले वैशाख २ गते अनुमति दिएको थियो । विसं २०७४ साल असार २७ गते बोर्डमा आईपीओका लागि निवेदन दिएको कम्पनीले करीब ४ वर्षमा आईपीओ विक्रीको अनुमति पाएको हो । 

हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । कम्पनीमा आईपीओ पश्चात संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणमा ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

कम्पनीद्वारा प्रबर्द्धित सांगे जलविद्युत् आयोजना र राधी जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारे खोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेका छन् । 

उक्त कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा चुक्तापूँजी वृद्धि गरी रू. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ । 

आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू. १३८ दशमलव ७९ रहेको छ । 

सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मको लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म उक्त कम्पनीले रू. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्