ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाँकेमा रामपुर–१० जातको मकैको बीउ उत्पादन शुरु

२०७८ बैशाख, १७  
प्रदेश ०५
Image Not Found

वैशाख १७, बाँके । थारै जमिनमा उच्च प्रतिफल दिने उच्चजात (हाइब्रिड)का मकैको बीउ जिल्लामा उत्पादन शुरुआत भएको छ । रामपुर–१० जातको बीउ उत्पादन शुरु भएको गेट नेपालले जानकारी दिएको छ । 

सो संस्थाका प्रमुख टिकाराम उपाध्यायले धेरै उत्पादन हुने रामपुर–१० जातको मकैका बीउ उत्पादन शुरु भएको बताए । धान, गहुँ, मकै, मुसुरो, मुङ र तरकारीखेतीमा काम गर्दै आएको सो संस्थाले यस वर्षदेखि मकैको हाइब्रिड बीउ उत्पादन गर्न थालेको हो ।

बीउ उत्पादनका लागि सिमिट/एनसाफको प्राविधिक सहयोग रहेको जानकारी दिइएको छ । जिल्लाको कोहलपुर र डुडुवा गाउँपालिका मकैको बीउ उत्पादन गर्न शुरु गरिएको हो ।

संस्थाका प्राविधिक तेज खड्काले चितवनस्थित राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रमको समन्वय र सहकार्यमा नयाँ जातको बीउ उत्पादन गरिएको बताए । उनले भने ‘शुरुआती चरणको बीउ उत्पादनको नतिजा राम्रो निस्किएको छ । यही अनुभवका आधारमा बीउ उत्पादन विस्तार गर्छौ ।’

डुडुवा २ बेतहनी सन्तलियापुरका कृषक राजेन्द्रप्रसाद वर्माले  हाइब्रिड रामपुर–१० मकैको उत्पादन राम्रो रहेको जानकारी दिए । उनले लगाएको मकैको अवलोकन गर्दै कृषि अनुसन्धान निर्देशनालय खजुराका प्रमुख अमर पुनले यो किसिमको अनुसन्धान नयाँ रहेको र लगानी र उत्पादन कस्तो देखिने हो भन्ने हेर्न बाँकी रहेको बताए । 

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले रामपुर जातको मकैको उत्पादन राम्रो हुने जानकारी दिए । उनले प्रदेश सरकारले उत्पादनमा आधारित कार्यक्रममा प्रति केजी रू. २५ अनुदान समेत दिएको बताए । 

बीउ विजन प्रयोगशाला खजुराका प्रमुख दिलीप सिंहले भारतीय हाइब्रिड मकै भन्दा बढी नै उत्पादन दिने जानकारी दिए । 

प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना मकै जोनका कफिल अहमदले किसानको माग हाइब्रिड रामपुर–१० मा अत्याधिक रहेको बताए । हाल मकै जोन अन्तर्गत १० हेक्टरमा सो जातका मकै प्रर्दशनका लागि लगाइएको उनले जानकारी दिए । रासस

प्रतिक्रिया [1]
User Image

Keshab Babu Koirala

[May 6, 2021 03:49am]

लेख राम्रो लाग्यो । मकैमा आत्म निर्भर हुन हाइब्रिडको बिकल्प छैन। प्रोटिन र प्रोटीनजन्य बस्तु (दूध, अंडा, माछा, मासु) को माग बढ्नु भनेको मकैको माग बढ्नु हो । बिदेशी बीउले आत्मनिर्भर हुन दिदैन । नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गतको राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमले उच्च उत्पादन दिने हाइब्रिडको प्रविधि (ख़ास गरी हाइब्रिडका आमा-बाऊ तथा त्यसबाट उत्पादन हुने बीउले बहुरास्ट्रीय कंपनीका बीउले भन्दा बढी वा सो सरह उत्पादन दिने) पत्ता लगाउने तथा देशका बिभिन्न ठाऊँमा अवस्थित सहकारी र कंपनीहरुले सुरुमा थोरै जमिनमा लगाई आफू यकिन भएपछि बीउ उत्पादन गर्ने क्षेत्रफल बढाउँदै लाने हो । बिकल्प रहित स्थाई उपाय यही नै हो । यहाँहरुले राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमको सह-कार्यमा सुरु गर्नु भएको रामपुर हाइब्रिड-१० को बीउ उत्पादन सराहनीय छ । देश बीउमा आत्मनिर्भर हुन सकोस, यहाँहरुले चाल्नु भएको पहिलाहरु अझ अगाडी बढून, राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रमको तर्फबाट शुभकामना छ ।


प्रतिक्रिया दिनुहोस्