ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्यटक घुमाएरै कुमरोज मध्यवर्ती सामुदायिक वनले कमायो सवा करोड 

२०७८ बैशाख, १८  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १८, चितवन । गत वर्षदेखि महामारीको रुपमा फैलिएको कोभिड १९ले पर्यटन क्षेत्र थलिरहेको बेला चितवनको पर्यटकीय गन्तव्य कुमरोज मध्यवर्ती सामुदायिक वनले भने उल्लेखनीय आम्दानी गरेको पाइएको छ  ।

चालू आर्थिक वर्ष २०७७/ ०७८मा चितवनको खैरहनी नगरपालिका १३ स्थित उक्त सामुदायिक वनले आन्तरिक पर्यटक घुमाएरै करोडभन्दा बढी आम्दानी गरेको छ ।उक्त सामुदायिक वनले  चालू आवको नौ महीनामा १ करोड २५ लाख रुपैयाँ आम्दानी भएको बताएको छ ।

सामुदायिक वनका अध्यक्ष गणेश बहादुर श्रेष्ठले कोभिड कहरका बीच पनि सामुदायिक वनले राम्रो आम्दानी गरेको  बताए । वनमा चालू आवको कात्तिकबाट मात्रै पर्यटकको आवागमन शुरु भएको थियो । कोभिड १९ का कारण बाह्य पर्यटक आउने अवस्था छैन । अहिले फेरी कोभिडको दोस्रो लहर शुरु भएको छ । उनले भने, सेवा सञ्चालन भएपछि हामीले पछाडि फर्केर हेर्नु परेन ।’

उनका अनुसार बिगतका वर्षमा भन्दा चालू आवमा ६० प्रतिशतले कमी आएको छ । बिगतमा भन्दा यस वर्ष पर्यटन आवागमन प्रभावित भयो, आम्दानी पनि पहिलेभन्दा ६० प्रतिशतले कमी आयो, उनले भने, तर कोभिड १९ का बीच पनि १ करोड २५ लाख रुपैयाँ आम्दानी राम्रै हो । ’

गत आर्थिक वर्ष २०७६/ ७७ मा उक्त सामुदायिक बनले २ करोड रुपैयाँ आम्दानी गरेको  थियो । उक्त आर्थिक वर्षमा पनि कोरोनाले प्रभाव पारेको थियो । त्यसअघि आर्थिक वर्ष ७५/ ७६ मा वनले ४ करोड रुपैयाँ आम्दानी गरेकोे थियो । चालू आर्थिक वर्षको आम्दानी भने सबै आन्तरिक पर्यटकबाट मात्रै भएको हो ।
कुमरोज आउने पर्यटकका लागि जीप र हात्ती सफारीको व्यवस्था छ ।

जिप सफारी विसं २०७४ पुस  ११ गतेबाट शुरु गरिएको हो । हात्ती सफारी भने विसं २०४८ सालबाट नै शुरु भएको थियो । अहिले १२ ओटा निजी हात्तीले पर्यटक घुमाउने गरेका छन् । 

सामुदायिक वनमा पर्यटकका लागि  ९० ओटा जिपको लागि स्वीकृती भए पनि अहिले ५६ ओटा मात्रै सञ्चालनमा छन् । जसमा कुमरोजको मात्रै ३० ओटा रहेका छन् भने २६ ओटा कुमरोज कठारको संयुक्त जीप सफारी रहेको छ । जिपका लागि प्रवेश शुल्क १ हजार ५०० रुपैयाँ राखिएको छ ।

सामुदायिक वन भित्र चार ओटा मचान छन् । जसमध्ये दुई ओटा चालू अवस्थामा छन् भने दुई ओटा निर्माणाधीन अवस्थामा छन् । यस्तै सामुदायीक वन भित्रै बास बस्ने व्यवस्थासहितको मचान पनि रहेको छ ।

मचानमा आन्तरिक पर्यटकको हकमा एक रातको प्रतिव्यक्ति ६०० रुपैयाँ तथा बाह्य पर्यटकलाई एक रातको प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क लिने गरेको उनले बताए । 
 

आम्दानी संरक्षण र सामाजिक विकासमा
 

कुमरोज सामुदायिक वनले पर्यटक घुमाएर गर्ने आम्दानी पूर्वाधार निर्माण र सामाजिक विकासमा गर्ने गरेको छ । हरेक वर्ष हुने आम्दानी स्थानीय क्षेत्रको बिकास  वनको संरक्षण लगायतका क्षेत्रमा खर्चिने गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उनका अनुसार आम्दानीको ६० प्रतिशत संरक्षणमा तथा ४० प्रतिशत पूर्वाधार निर्माणमा खर्च गरिन्छ । वन संरक्षणका लागि क्रंक्रिट वाल निर्माण गरिएको छ । प्रदेश सरकारको समेत सहयोगमा २ दशमलव ५ किलोमिटर क्रंक्रिट वाल निर्माण गरिएको छ । यस्तै २०० हेक्टरमा घाँसे मैदान तयार पारिएको छ ।

चालू आर्थिक वर्षमा मात्रै सामुदायिक विकासका लागि २५ लाख रुपैयाँ छुट्टाइएको छ । सामुदायिक वनले खाने पानीको धारा जडानका लागि प्रतिघर उपभोक्तालाई ६ हजार रुपैयाँ अनुदान उपलब्ध गराउँदै आइरहेको उनले वताए । अहिलेसम्म स्थानीय १५० घर धुरीले ६ हजार रुपैयाँको दरले अनुदान रकम लिइसकेका छन् ।

यस्तै उक्त सामुदायिक वनले किसानलाई दूधमा पनि प्रतिलिटर ५० पैसा अनुदान दिंदै आइरहेको छ । चालू आवमा अहिलेसम्म दूधमा किसानलाई १४ लाख रुपैयाँ अनुदान दिसकेको छ । यसबाहेक विपन्न वर्गलाई ५ देखि ३० हजार रुपैयाँसम्मको बिरामी खर्च र सुत्केरीलाई २ हजार रुपैयाँको दरले पोषण खर्च पनि दिने गरिएको वनका अध्यक्ष श्रेष्ठले बताए  ।

त्यसैगरी चालू आवमा स्थानीय सामुदायिक विद्यालयहरुलाई वनले १५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको  छ । यसबाहेक स्थानीय स्तरमा पूर्वाधार विकास निर्माणका लागि पनि सहयोग गर्ने गरिएको उनको भनाइ छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्