ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सार्वजनिक यातायात बन्द भएपछि चितवनमा हवाईयात्रुको चाप बढ्यो 

२०७८ बैशाख, १८  
वाग्मती प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १८, चितवन ।  चितवनमा बिहीवार रातीदेखि गरिएको निशेधाज्ञाका कारण सार्वजनिक तथा नीजि सवारीसाधन चल्न बन्द भएपछि हवाई यात्रुको चाप भने क्रमशः बढेको छ ।

यात्रुहरुलाई लामो तथा छोटो दुरीका लागि यात्रा गर्ने कुनैपनि विकल्प नभएपछि यसको प्रभाव हवाईउडानमा परेको हो । निशेषाज्ञाको शुरुवाती क्षणमा हवाईयात्रुको चाप न्यून पाइएपनि हालका दिनहरुमा भने हवाईयात्रुहरुको संख्या बढदै गएको भरतपुर विमानस्थलले जानकारी दिएको छ । 

हाल यो विमानस्थलबाट बुद्ध र यतिले काठमाडौं, पोखरा उडान गर्दै आइरहेका छन । बुद्ध एयरका भरतपुर शाखाका सहायक प्रबन्धक राजन अधिकारी सवारी साधनको अन्य विकल्प नहुँदा पनि  हवाईयात्रुको स्वतः बढ्ने बताउँछन् ।

‘मानिसको लागि पैसाभन्दा पनि  स्वास्थ्य र काम महत्वपूर्ण भयो’, उनले भने, ‘यस्तो जोखिमको बेला सार्वजनिक यातायात भन्दा उडान बढी सुरक्षित हुन्छ । विकल्प पनि त छन् ।’ 

निशेधाज्ञाको केही दिन अघि र पछिल्लो दिन हवाईयात्रुको संख्या ज्यादै न्यून हुँदा आधाभन्दा कम भाडामा यात्रुहरु उडान गर्नुपरेको थियो ।  उनका अनुसार काठमाडौं जाने यात्रुको तुलनामा भरतपुर आउने यात्रुको चाप बढी छ । बिशेषगरी भरतपुरबाट काठमाडौं जाने यात्रुमध्ये अधिकांश विदेश जाने, तथा काठमाडौंका सरकारी निकायहरुमा अत्यावश्यक काम परेका  यात्रु बढी भएको र भरतपुर आउने यात्रुहरुमा घर फर्किने यात्रु बढी भएको उनले बताए । 

अन्य सार्वजनिक स्थल, सडक, बजार सुनसान देखिएपनि भरतपुर एयरपोर्टमा भने यात्रुहरुको आगमन बाक्लै देखिएको छ भने क्षण क्षणमै विमान उडान र अवतरण गरिरहेका छन । यात्रुको चाप बढ्दै गएपछि बुकिङ्ग गर्ने क्रम पनि बढ्दै गएको छ । यति एयरलाइन्स भरतपुरका प्रबन्धक अनुप ढकाल केही दिन अघिसम्म यात्रुहरुको गतिविधि न्यून भएपनि पछिल्ला दिनहरुमा भने बढ्दै गएको बताए ।

‘हिजोभन्दा आज राम्रो छ, बुकिङ्ग को चाप पनि उस्तै छ’, ढकालले भने । बिशेषगरी अत्यावश्यक काम र निशेधाज्ञा भएपछि घर फर्कर्ने यात्रुको चाप बढी भएको उनले बताए । 

उनका अनुसार एकहप्ता भन्दा बढी बुकिङ्ग भइसकेको उनको भनाइ छ । हुनत नीजि तथा सार्वजनिक यातायातभन्दा हवाई उडानमा कोरोनाको जोखिम कम हुन्छ । साथै हवाईयात्राबाट बढी सुरक्षित र छिटो गन्तव्य स्थानमा पुग्ने भएकोले पनि यात्रुहरुको रोजाईमा हवाई उडान परेको हो । 

विमानस्थल प्रमुख योगेन्द्र कुवँर विमानस्थल क्षेत्र स्वास्थ्य सुरक्षा र अन्य सुरक्षाको हिसाबले बढी संवेदनशील र सुरक्षित रहेकोले पनि हवाई उडानप्रति विश्वास बढेको बताउँछन् ।

‘शुक्रवार ६ ओटा मात्र उडान भएको थियो शनिवार आठ ओटा उडानले पनि थेग्न सक्ने अवस्था छैन’, उनले भने, ‘अर्को कुरा  हामीले गतबर्षकै जस्तै सेनिटाइजर, मास्क, थर्मोगन, फेस शिल्ड सबै किसिमका स्वास्थ्य सुरक्षा मापदण्डलाई कडाई गरेका छौं ।’

 यात्रुहरुको चाप बढ्दै जांँदा विमानस्थलमा यात्रु बाहेक अन्य व्यक्ति प्रवेशमा रोक लगाईएको र  विमानस्थलका  संयन्त्रलाई  थप संवेदनशील र सक्रिय पारिएको उनको भनाई छ । विमानस्थलमा हरेक व्यक्तिको स्वास्थ्य परीक्षण विवरण राखिने गरेको र शंकास्पद यात्रुलाई आईसोलेशनमा थप परीक्षणको लागि राख्ने गरिएको छ । 

गत वर्ष निशेधाज्ञा र लकडाउनको समयमा देशभर  नीजि सवारीसाधन र अन्य व्यक्तिहरुले सवारी पासको प्रयोग गरेर गन्तव्यमा पुग्ने गरेका थिए । तर हाल गृह मन्त्रालयले  कुनैपनि सवारी पास जारी नगर्नका लागि  मातहतका जिल्ला प्रशासन कार्यालयलाई आदेश जारी गरेका कारण पनि हवाई यात्रुको चाप अप्रत्यासित रुपमा  बढेको हो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्