ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिंगटी–लामोसाँघु प्रसारण लाइन एक महीनाभित्र चार्ज हुने

२०७८ बैशाख, १९  
वाग्मती प्रदेश
NA

दोलखा (अस) । सिंगटी–लामोसाँघु प्रसारण लाइन एक महीनाभित्र चार्ज हुने अवस्थामा पुगेको छ । एक दशकभन्दा बढी समयदेखि निर्माणाधीन १३२ केभी प्रसारण लाइन कामले गति लिएसँगै अर्को महीना चार्ज हुने अवस्थामा पुगेको सिँगटी–लामोसाँघु प्रसारण लाइन आयोजनाका प्रमुख राजन ढुंगेलले बताए ।

अब सिन्धुपाल्चोकमा एउटा टावरमात्र निर्माणाधीन रहेको उनको भनाइ छ । ४० किलोमिटर लामो प्रसारण लाइनमध्ये करीब २० किलोमिटर डबल सर्किट लाइन समेत तानिसकिएको उनले बताए ।

केही ठाउँमा अधिग्रहणमा जग्गा मूल्यांकनको विवाद भए तापनि पछिल्लो समय तारमुनि पर्ने जग्गा मूल्यांकनमा परेको छ । मन्त्रिपरिषद्बाट सम्पर्क अधिकारी तोक्न ढिलाइ हुँदा जग्गाको मूल्यांकनमा ढिलाइ भएको उनले बताए । अहिले सम्पर्क अधिकारी समेत तोकेकाले काम अघि बढ्ने उनको अनुमान छ ।

४० किलोमिटर प्रसारण लाइनमा पर्ने १२४ टावर छन् । एक महीनाभित्र सिंगल सर्किट तानेर सकिने तथा उत्पादित विद्युत् सो तारबाट प्रसारण गर्न सकिने आयोजना प्रमुखको भनाइ छ ।

लामोसाँघु तथा सिंगटीमा रहेको सबस्टेशनको निर्माणअन्तर्गत उपकरण जडानको चरणमा छ । विद्युत् परीक्षण उत्पादन सकिएको २५ मेगावाटको सिंगटीखोला तथा १० मेगावाटको सिप्रिङखोला जलविद्युत् आयोजनाको विद्युत् अहिले खेर गइरहेको छ । जिल्लाका उत्तरी क्षेत्रमा सम्पन्न हुने चरणमा रहेका आधा दर्जन जलविद्युत् आयोजना यही प्रसारण लाइन निर्माणको प्रतीक्षामा छन् । विद्युत् प्राधिकरणले भारतीय ठेकेदार कम्पनी अरावली इन्फ्रा पावरसँग सन् २०१० अक्टोबरमा ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा २ वर्षभित्र प्रसारणलाइन र सिंगटीको सबस्टेशन समेत निर्माण गर्ने उल्लेख थियो । तर १० वर्ष बितिसक्दा समेत प्रसारणलाइन निर्माण सम्पन्न हुन सकेको छैन ।
सबस्टेसनका लागि साढे १७ करोड र प्रसारण लाइनका लागि करीब ४२ करोड रुपैयाँमा अराबलीले ठेक्का लिएको हो । अहिले ४० मेगावाटको माथिल्लो खानीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक ग्रीनलाइफहाइड्रोपावर कम्पनीले अराबली इन्फ्राको नेपाली प्रतिनिधि बनेर काम गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्