ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

म्याग्दीका चीज उद्योग अझै खुलेनन्

२०७८ बैशाख, १९  
गण्डकी प्रदेश
NA

म्याग्दी । २०७६  साल चैतदेखि बन्द भएका म्याग्दीको पर्यटकीय क्षेत्रका चीज उद्योग अझैसम्म सञ्चालन हुन सकेका छैनन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि ०७६ चैतदेखि भएको बन्दाबन्दीसँगै जिल्लाको उत्तरी क्षेत्र पाउद्वार, घार र राम्चेमा सञ्चालन हुँदै आएका चीज उद्योग बन्द भएका थिए ।

बन्दाबन्दी खुकुलो भई आन्तरिक पर्यटक आवागमन बढे पनि विदेशी पर्यटक आउने अवस्था नरहेको र बजारमा खासै माग  नभएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको व्यवसायीले बताए ।     

अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, ६ घार र ८ राम्चेमा रहेका चीज उद्योग ०७६ साल चैतदेखि बन्द अवस्थामा छन् । अन्नपूर्ण चक्रीय पदमार्गमा आउने विदेशी पर्यटक घटेसँगै म्याग्दी र मुस्ताङका बजारमा चीजको माग पनि घटेको र बनाएर राखेको १० टनभन्दा बढी चिज कुहिएर खेर गएकाले उद्योग पुनः सञ्चालन गर्न नसकिएको घारको हिमालय चीज उद्योगका सञ्चालक श्यामप्रसाद खड्काले बताए ।     

उनका अनुसार गत वर्ष बन्दाबन्दी सुरु भएपछि चीजको माग घटेको छ । स्टक रहेको चिज स्थानीयलाई ५ सय  रुपैयाँ प्रतिकिलोमा दिँदा पनि बिक्री हुन नसकेपछि कुहिएर खेर गयो । त्यसपछि चीज उद्योग पूर्ण रूपमा बन्द गरिएको हो ।

चीज उद्योग बन्द भएपछि यहाँका दूध उत्पादक किसान निरास भएका छन् । किसानले धमाधम गाई बिक्री गर्न  थालेको स्थानीय बताउँछन् । घारको हिमालय चीज उद्योगमा ३५ कृषक आबद्ध छन् । उनीहरूले गाईपालन गरी चिज उद्योग सञ्चालन गरेका हुन् ।

नीलगिरि गाईपालन कृषि सहकारी संस्था नै दर्ता गरेर सोही संस्थामार्फत दैनिक ३ सय लिटर दूध उत्पादन गरी चीज उद्योग सञ्चालन भएको थियो । उद्योग नै बन्द भएपछि दूध पनि खेर जाँदा कृषकले धमाधम गाई नै बिक्री गर्न थालेको स्थानीय लीलबहादुर खड्काले जानकारी दिए ।  
   
घारका ३५ अगुवा कृषक मिलेर ०७१ सालमा हिमालय चीज उद्योग तथा कृषि सहकारी संस्था स्थापना गरी व्यावसायिक रूपमा चीज उत्पादन गर्दै आएका छन् । त्यतिबेला २० लाख रुपैयाँको लगानीमा कृषकले चीज उद्योग सञ्चालन गरेकामा अहिले लगानी बढाउँदै ३२ लाख पुर्‍याएका थिए ।

जिल्लाभित्रका पर्यटकीय स्थलका साथै छिमेकी जिल्लामा खपत गर्ने उद्देश्यले उद्योग सञ्चालन गरी गुणस्तरीय चीज उत्पादन गर्दै आए पनि बजारको समस्याले नियमित बिक्री नहुँदा घाटा खानुपरेको हिमालय चीज उद्योग तथा कृषि सहकारी संस्थाका सचिवसमेत रहेका खड्काको भनाइ छ ।     

गाउँका ४५ कृषकले दैनिक चीज उद्योगमा दूध बिक्री गर्दै आएका छन् । उद्योगले प्रतिलिटर ६० देखि ९० रुपैयाँसम्ममा कृषकबाट दूध खरिद गर्दै आएको छ । चीजको नियमित खपत नहुँदा कृषकलाई दूधको भुक्तानी दिन समस्या भइरहेको उद्योगले जनाएको छ ।

व्यावसायिक रूपमा उन्नत जर्सी र होल्याड जातको गाईपालनमा यहाँका कृषकले ५० हजारदेखि ३ लाख रुपैयाँसम्म लगानी गरेका छन् । गाउँमा उद्योग स्थापना भएपछि १ लाखदेखि ३ लाखसम्म लगानी गरी स्थानीयले उन्नत जातको गाई खरिद गरेका थिए ।     

अहिले चीज उद्योग बन्द भएपछि किसान ठूलो समस्यामा परेको स्थानीय कृष्णप्रसाद बरुवाल सुनाउँछन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्