ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मुलुकका थप ६ जिल्लामा निषेधाज्ञा

२०७८ बैशाख, १९  
समाचार
NA

काठमाडौं । कोभिड–१९ संक्रमणको क्षेत्र विस्तार भएसँगै शनिवार आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । यससँगै शनिवारसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा कार्यान्वयनमा रहेको, तीन जिल्लामा शनिवार राति १२ बजेदेखि र सात जिल्लामा आइतवारदेखि कार्यान्वयनमा आउने बताइएको छ । कुल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ ।

प्राप्त विवरणअनुसार शनिवार गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ । उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले बताएको छ । गुल्मीमा शनिवार राति १२, बाजुरामा बिहान ५ र उदयपुरमा आइतवार राति ८ बजेदेखि आदेश कार्यान्वयनमा आउनेछ भने प्यूठानमा शनिवार बिहान ६ बजेदेखि नै कार्यान्वयन भइसकेको छ ।

घोषित विवरणअनुसार काभ्रेमा अरनिको राजमार्गको साँगादेखि बनेपा बजारसम्मको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा तीन दोबाटोदेखि नाला भगवतीसम्मको सडकको दायाँबायाँ ५०० मिटरसम्म, बनेपा–पनौती–खोपासी सडकको ५०० मिटर दायाँबायाँ, बीपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रे भञ्याङ–भकुण्डे हुँदै मंगलदारसम्मको दायाँबायाँ २०० मिटर क्षेत्रमा निषेधाज्ञाआदेश जारी गरिएको छ । उक्त आदेश आइतवार राति १२ बजेदेखि कार्यान्वयन हुने बताइएको छ ।

यस्तै, गोरखाको भीमसेनथापा गाउँपालिका–७ र ८ मा शनिवार राति १२ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ । बाजुरा जिल्लाको हिमाली गाउँपालिका क्षेत्रमा आइतवार बेलुका ८ बजेदेखि लागू हुनेगरी निषेधको आदेश जारी गरिएको छ । यसअघि नै घोषणा गरिएअनुसार मोरङ, जाजरकोट र झापामा शनिवार राति १२ बजेदेखि तथा सल्यान, रुकुम पश्चिम र डँडेलधुरामा आइतवार बिहान ६ बजेदेखि आदेश कार्यान्वयन हुने गृह मन्त्रालयले बताएको छ ।

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ । सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौं उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।  

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रूपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ । यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारीसाधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्