ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सगरमाथामा हालसम्मकै धेरै आरोहीलाई अनुमति

२०७८ बैशाख, १९  
समाचार
Image Not Found

काठमाडौं । कोभिड–१९ महामारीबीच जारी यस वर्षको वसन्त यामको सर्वोच्च शिखर सगरमाथा आरोहणमा हालसम्मकै बढी आरोहीले आरोहण अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले शुक्रवारसम्म जारी गरेको हिमाल आरोहणको परमिट पाउनेमा सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूह छन् ।

सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका ४०८ आरोहीले अनुमति लिएको विभागको पर्वतारोहण शाखाले जानकारी दिएको छ । यसमा ९३ महिला र ३१५ पुरुष छन् । यो संख्या सन् २०१९ को वसन्त यामको भन्दा बढी हो । उक्त वर्षको वसन्त याममा सगरमाथा आरोहणका लागि ४१ आरोही समूहले आरोहण अनुमति लिएका थिए ।

विभागका अनुसार सगरमाथाका ४३ सहित ८५ आरोही समूहका ७४२ आरोहीले आरोहण अनुमति लिएका छन् । सगरमाथापछि सबैभन्दा बढी ल्होत्से हिमाल आरोहणका लागि १४ आरोही समूह छन् । यस्तै धवलागिरि हिमालका लागि पाँच र अन्नपूर्ण हिमाल आरोहणका लागि चार आरोही समूहले अनुमति पाएका छन् ।

वसन्त यामको हिमाल आरोहणबाट हालसम्म ७१ करोड ४८ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएकोे छ । सगरमाथाबाट मात्रै ६६ करोडभन्दा बढी रोयल्टी जम्मा भएको छ । कोभिड–१९ महामारीका बीच सञ्चालन भइरहेको पर्वतारोहणले मुलुकको पर्वतीय पर्यटन सुरक्षित रहेको सकारात्मक सन्देश विश्वभर प्रवाह गरेको विभागको बुझाइ छ ।

विभागका निर्देशक मीरा आचार्यले नेपालका ८ हजार मिटर अग्ला हिमाल आरोहणमा धेरै संख्यामा विदेशीको आगमनले पर्वतीय पर्यटनमा उत्साह जगाउनुका साथै अन्तरराष्ट्रिय बजारमा सकारात्मक सन्देश छाएको बताए । मौसमले साथ दिए यसै सातादेखि सगरमाथाको आरोहण हुने उनको भनाइ छ । अहिले अधिकांश आरोही सगरमाथाको आधार शिविर पुगिसकेका छन् । सगरमाथाको चुचुरासम्म बाटो बनाउने आइसफल डाक्टर अहिले सगरमाथाको क्याम्प चारमा  पुगिसकेका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्