ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात

पहिलेको भन्दा ०.३७ भारू सस्तो

२०७८ बैशाख, १९  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न थालेको हो ।

प्राधिकरणले केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणले प्रतियुनिट ३ दशमलव ८१ भारतीय रुपैयाँमा २०० देखि २५० मेगावाटसम्म विद्युत् ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको हो ।

यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । पहिलेदेखि नै तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरीद गर्न प्राधिकरण सफल भएको उनको भनाइ छ ।

‘प्राधिकरणले पहिलोपटक भारतीय बजारले निर्धारण गरेको दरमा विद्युत् खरीद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारू ३७ पैसा सस्तो परेको छ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै विद्युत् यही प्रसारण लाइनमार्फत आयात गरिरहेको छ ।

प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म छ । पीपीएको उक्त म्याद सकिएपछि थप सम्झौता गर्न आवश्यक पर्दैन । भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरीदका लागि प्राधिकरणका तर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्र प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरू भएपछि आन्तरिक खपत भएर जगेडा भएको विद्युत् भारतीय बजारमा विक्री गर्ने योजना प्राधिकरणको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत् विक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।

केही समयअघि भारतले अन्तरदेशीय विद्युत् आयात निर्यात कार्यविधि जारी गरेको थियो । त्यसअनुसार अब नेपाल र भारतबीच खुला रूपमा विद्युत् आयात निर्यात गर्न सकिन्छ । सोहीअनुसार नै भारतले अहिले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्