ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तेस्रो दिनसम्म सीईडीबी हाइड्रोपावरको आईपीओमा १२ लाख ११ हजारभन्दा बढीको आवेदन

२०७८ बैशाख, १९  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख १९, काठमाडौं । शुक्रवारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओमा तेस्रो दिन अर्थात् आइतवारसम्म १२ लाख ११ हजारभन्दा बढीले आवेदन दिएका छन् ।  

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार आइतवार साँझ ५ बजेसम्म १२ लाख ११ हजार ३४० जना आवेदकबाट १ करोड ८८ लाख ६४ हजार ३२६ कित्ता शेयर खरीदको लागि आवेदन परेको हो । जुन मागभन्दा ८ दशमलव शून्य ५ गुण बढी हो । 

कम्पनीले रू. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । 

कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो । 

मागभन्दा बढी आवेदन परिसकेकाले यो आईपीओ छिटो अवधि वैशाख २१ गतेसम्म मात्र विक्रीमा रहनेछ । छिटो अवधिभित्र माग बमोजिम आवेदन नपरेको  खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । 

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

आईपीओ खरीदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र  तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ । कोभिड १९ जोखिमलाई ध्यान दिंदै मेरो शेयर मार्फतनै आवेदन दिन सबै लगानीकर्ताहरुलाई नियामक निकायले सुझाब दिएको छ । 

२०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करीब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । हाल रू. ५८ करोड ७५ लाख ८७ हजार चुक्तापूँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपश्चात यो पूँजी रू. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्