ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सफ्टपावरमार्फत समृद्धिका पूर्वशर्तहरू

परम्परागत पक्षको उपेक्षा अनुपयुक्त

२०७८ बैशाख, २०  
लेख | दृष्टिकोण
Image Not Found

नेपालको राष्ट्रिय हितको प्रवर्द्धन र प्रतिष्ठाको अभिवृद्धि गर्नेे उद्देश्य परिपूर्ति गर्न परराष्ट्र नीति २०७७ मा सार्वजनिक कूटनीतिलाई महत्त्वपूर्ण औजारका रूपमा अंगीकार गरिएको छ । यसअन्तर्गत सार्वजनिक कूटनीतिका माध्यमबाट मुलुकको छवि र विशिष्ट पहिचानलाई सफ्टपावरको रूपमा प्रवर्द्धन गरी अन्तरराष्ट्रिय जगत्को समर्थन सहयोग र सद्भाव आर्जन गर्ने नीति अंगीकार गरिएको छ । यस नीतिअन्तर्गत नेपालको सभ्यता, संस्कृति, कला, साहित्य, भाषा, रहनसहन, चाडपर्व, रीतिरिवाज, सांस्कृतिक सम्पदा, परम्परा र वेशभुषाको प्रचारप्रसार गर्ने रणनीति तथा कार्यनीति अंगीकार गरिएको छ । यसैगरी बुद्धको जन्मस्थल लुम्बिनीलाई बौद्ध दर्शनको उद्गमस्थल एवम् अन्तरराष्ट्रिय शान्तिनगरका रूपमा विकास गर्न पहल गर्ने तथा पाशुपत क्षेत्रलाई हिन्दू दर्शन र सभ्यताको एक प्रमुख केन्द्रका रूपमा प्रवर्द्धन गर्ने विषयलाई पनि सार्वजनिक कूटनीतिअन्तर्गत सफ्टपावरमार्फत मुलुकको हित र प्रतिष्ठा प्रवर्द्धनको सहायक औजारको रूपमा व्यवस्था गरिएको छ ।  नेपाल प्राक्–ऐतिहासिक कालदेखि नै मानव समुदायको बसोवास स्थल, प्राचीन ज्ञान भूमि एवम् पूर्वीय दर्शन र अध्यात्मको एक उद्गमस्थल भएको र त्यसबाट मानव सभ्यताको विकासमा योगदान पुगेको तथ्यलाई विश्व सामु उजागर गर्ने व्यवस्था पनि नीतिमा गरिएको छ । यसैगरी विशिष्ट भौगोलिक अवस्था र अनुकूल हावापानीले नेपालको आध्यात्मिक चिन्तन, ध्यान, योग तथा आरोग्यका लागि उपयुक्त गन्तव्य स्थलको रूपमा रहेको तथ्यलाई पनि नीतिमा महत्त्वका साथ उठाइएको छ । शैक्षिक, वैज्ञानिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई फराकिलो र सुदृढ बनाउने पक्षहरू पनि सार्वजनिक कूटनीतिमा उल्लेख गरिएका छन् ।

नेपाली मौलिकताको विनाशमा आफ्नो भविष्य देख्ने मूलधारको नेपाली प्राज्ञिक जमातका कारण नेपालमा सफ्टपावरको भूमिकामा रहन सक्ने तत्त्वहरू धर्म, भाषा, संस्कृति, परम्परा, ज्ञान, रहनसहन, वेशभुषा, लवाइखवाई आफै इतिहासको पानामा सीमित हुने सम्भावना देखिएको छ ।

सफ्टपावरमार्फत मुलुकको हित प्रवर्द्धनमा विश्वभरि तीव्र प्रतिस्पर्धा चलिरहेको सन्दर्भमा नेपालको परराष्ट्र नीतिमा सफ्टपावर प्रवर्द्धनलाई स्थान दिनु सकारात्मक पक्ष हो । परन्तु सफ्टपावरमार्फत मुलुकको हित प्रवद्र्धन र प्रतिष्ठा वृद्धि गर्ने विषय प्राज्ञिक बहसका लागि जति आकर्षक छ व्यवहारमा उतार्न त्यत्ति नै दुष्कर पनि छ ।

सफ्टपावर भन्नेबित्तिकै सभ्यता, धर्म, संस्कृति, चालचलन, ज्ञान, कला, साहित्य, भाषा, वेशभूषा आदि क्षेत्रमा रहेका विशिष्ट पहिचान भन्ने बुझिन्छ । यी पहिचानको प्रचारप्रसार र प्रवर्द्धनका माध्यमबाट देशको हित रक्षा गर्नुमा देहायका योग्यताहरू हुुनुपर्छ ।

सर्वप्रथम, आफ्नो देशको सभ्यता, धर्म, संस्कृति, चालचलन, ज्ञान, कला, साहित्य, भाषा, वेशभुषा मौलिक हुुनपर्छ । यी मौलिकताहरूलाई देशको संविधान र कानूनबाट वैधानिकता दिइनुपर्छ ।

यस्ता मौलिकताप्रति देशभित्र राजनीतिक तथा सामाजिक आस्था, श्रद्धा र सम्मान हुुनुपर्छ । यी पक्षको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्नु देशवासीको कर्तव्य पनि हुनुपर्छ ।

मौलिकताप्रतिका आस्था, श्रद्धा र सम्मानहरू संस्थागत व्यवस्थामा आबद्ध हुनुपर्छ । यसरी व्यवस्था गरिएका संस्थाहरूका उद्देश्य र लक्ष्यहरू स्पष्ट हुुनुपर्छ । यस्ता उद्देश्य र लक्ष्यबाट स्थापित संस्थाहरूमा योग्य र इमानदार व्यक्तित्वहरूको नेतृत्व स्थापित हुनुपर्छ । यस्तो नेतृत्वबाट भविष्यमा आफूभन्दा योग्य उत्तराधिकारीको व्यवस्था हुनेगरी पद्धतिको स्थापना हुनुपर्छ । यस्ता संस्थाहरू सञ्चालनका लागि आर्थिक स्रोत पनि सोहीअनुरूप हुनुपर्छ । मौलिकताको प्रचारप्रसार र प्रवर्द्धनको उपादेयता स्थापन पनि समानान्तर रूपमा हुनुपर्छ ।

उदाहरणका रूपमा विश्वका तीनओटा संस्थाहरू (ब्रिटिश काउन्सिल, कन्फुसियस सेन्टर र ला फ्रान्कोफोनी) लाई लिन सकिन्छ । यी तीनैओटा संस्थाहरूले बेलायत, चीन र फ्रान्सको प्रभाव विस्तारमा अग्रणी भूमिका खेलेको पाइन्छ । सफ्टपावरको विकासमा यी संस्थाको प्रभावकारिताका पछाडि माथि उल्लेख गरिएका नौओटै तत्त्वको समानुपातिक योगदान रहेको छ ।

नेपालमा सार्वजनिक कूटनीतिअन्तर्गत विशिष्ट पहिचानलाई सफ्टपावरका रूपमा प्रवर्द्धन गरी अन्तरराष्ट्रिय जगत्को समर्थन सहयोग र सद्भाव आर्जन गर्ने जुन नीति अंगीकार गरिएको छ, त्यसको कार्यान्वयनको पहिलो शर्त तिनको पहिचान र नेपालको आस्था वैधानिक रूपमा प्रकट भएको हुुनुपर्छ । पाशुपत क्षेत्र र लुम्बिनीलाई सफ्टपावरका रूपमा विकास गर्ने कार्यनीति अंगीकार गरिएको छ । तर, शेष विश्वले ती दुई धर्महरू प्रति नेपालमा कति आस्था, विश्वास र भरोसा छ र ती धर्मको भविष्य नेपालमा कस्तो छ भनेर मिहीन दृष्टिकोणबाट हेरिरहेको हुन्छ । लोपोन्मुख धर्म र संस्कृतिले सफ्टपावरका रूपमा प्रभाव विस्तार गर्न सक्ला भन्ने आधार के हो भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ नै । मुलुकभित्र मूलधारको प्राज्ञिक वर्ग नेपालको परम्परा, धर्म संस्कृति, भाषा, वेशभुषा, चालचलन, परम्परा, परिकारप्रति नकारात्मक भाव राख्छ । रणनीतिक असहिष्णुताको यस्तो वातावरणमा नेपालका मौलिक पक्षहरूलाई सफ्टपावरका रूपमा विकास कति सम्भव छ भन्ने विषयमा प्रश्न चिह्न खडा भएको छ ।

संस्कृत भाषाको नाम उच्चारण गर्नु पनि नेपालमा अपराधजस्तो मानिन्छ । हिन्दू धर्मको पहिचानका पक्षमा जनमत नै छैन । नेपाली भाषाको स्थानमा अंग्रेजी भाषालाई सरकारी कामकाजको भाषामा स्थापना गर्ने विषयमा चर्को पैरवी भइरहेको छ । दौरा सुरुवाललाई वैधानिक रूपमा देशको राष्ट्रिय औपचारिक पोशाकका रूपमा पहिचानप्राप्त छैन । देवानागरी लिपि, त्रिकोणात्मक ध्वज र विक्रम संवत् विस्थापन गर्न ठूलो प्रयत्न चलिरहेको छ । नेपाली प्रतिनिधिमण्डल विदेशी समकक्षीहरूसँग वार्तामा बस्दाका अवस्थामा पोशाकको जुन तस्वीरहरू सार्वजनिक हुन्छन् त्यो बिजोग विश्वका कुनै पनि मुलुकले बेहोर्नु पर्दैन होला । यो परिस्थितिमा यूरोप, अरब, टर्की र चीनले झैं सफ्टपावरका माध्यमबाट प्रभाव विस्तार गर्ने विषय नेपालका सन्दर्भमा कति व्यावहारिक र तार्किक छ यो आफैले चिन्तन मनन गर्ने विषय हो ।

सफ्टपावरमार्फत मुलुकको छवि र प्रतिष्ठा उँभो लाउने विषयमा विगतमा केही प्रयासहरू भएका थिए जसमा पूर्णविराम लगाउने कार्य नेपालभित्रैबाट भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, हिन्दूराष्ट्र, लुम्बिनी विकास परियोजना, नेपाल संस्कृत विश्वविद्यालय, पशुपति विकास कोष, गुम्बा व्यवस्थापन समितिजस्ता क्षेत्रहरूमा केही कार्यहरू शुरू गरिएका थिए । परन्तु व्यवस्थापनको अभाव, राजनीतिक हस्तक्षेप तथा मौलिकताप्रति उदासीनता तथा संगठित आक्रमणका कारण यी संस्थागत व्यवस्थाहरू या त खारेज गरिए या त निस्तेज बनाइए । भारतमा संवैधानिक मान्यताप्राप्त तथा भुटानमा जनसम्पर्कको माध्यम रहेको नेपाली भाषामा नेपाली भाषाका विद्वान्हरूले खेलेका खेलका कारण यो भाषा स्खलित भई बोलीचालीमा मात्र सीमित भएको छ जसले जसरी जे लेखे पनि मान्य हुने विश्वको एउटा अनौठो भाषाका रूपमा । आफ्नै देशमा अराजकताको शिकार बनाई भाषाबाट बोलीमा रूपान्तरण बनाइएको नेपाली भाषाका माध्यमबाट प्रभाव विस्तार कसरी सम्भव होला ?

नेपाली मौलिकताको विनाशमा आफ्नो भविष्य देख्ने मूलधारको नेपाली प्राज्ञिक जमातका कारण नेपालमा सफ्टपावरको भूमिकामा रहन सक्ने तत्त्वहरू ( धर्म, भाषा, संस्कृति, परम्परा, ज्ञान, रहनसहन, वेशभुषा, लवाईखवाई) आफै इतिहासको पानामा सीमित हुने सम्भावना देखिएको छ ।

सारमा भन्नुपर्दा नेपाल परम्परागत सभ्यता र आयातित सभ्यताको सन्ध्याकाल (संक्रमणकाल) मा छ । यही शून्यताबाट सिर्जित अवसरलाई उपयोग गर्दै नेपाललाई आफ्नो सभ्यताको अंग बनाउने विषयमा अरबी र यूरोपेली सभ्यताबीच नेपालमा ठूलो प्रतिस्पर्धा चलिरहेको छ । नेपाली भाषा रोमन लिपिमा लेख्ने कि अंग्रेजी भाषा नै ग्रहण गर्ने बहससमेत एक कोणबाट आइरहेको छ । यस अवस्थामा नेपाली मौलिक तत्त्वहरूलाई सफ्टपावरका रूपमा उपयोग गर्ने विषय विशुद्ध प्राज्ञिक आमोदप्रमोदको विषय भन्दा अतिरिक्त केही महत्त्व राख्दैन ।

यी परिस्थितिका माझ यदि साँच्चै नेपालका मौलिकतालाई सफ्टपावरका रूपमा रूपान्तरण गरी मुलुकको हित प्रवर्द्धन गर्ने रणनीति अंगीकार गर्ने हो भने सर्वप्रथम परम्परागत नेपाली सभ्यता, धर्म, संस्कृति, चालचलन, ज्ञान, कला, साहित्य, भाषा, वेशभुषा र लवाइखवाइलाई संवैधानिक मान्यता दिइनुपर्छ । ती मान्यतालाई राजनीतिक र सामाजिक रूपमा वैधता प्रदान गर्नुका अतिरिक्त ती मौलिकताप्रति आस्था, श्रद्धा र विश्वास पनि सोहीअनुरूप प्रकट हुन जरुरी छ । ती मौलिकताको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न सक्षम हुने गरी संस्थाहरूको सञ्चालन हुन पनि त्यत्तिकै आवश्यक छ । यति मात्र गर्ने हो भने नेपाल हिन्दू, बौद्ध, किरात र बोन धर्म, नेपाली भाषा, दौरासुरुवाल, विक्रम संवत्, देवनागरी लिपि, संस्कृत, ध्यान, योग, आयुर्वेद, छन्द, गणित, ज्योतिष, तन्त्र, पर्वतीय रहनसहन, वेशभुषा, लवाइखवाइ, संगीत तथा वास्तुशास्त्रको केन्द्र बन्न सक्छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईंका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्