ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना प्रहरमा संस्थागत सामाजिक दायित्व

२०७८ बैशाख, २०  
लेख | दृष्टिकोण
Image Not Found

भारतमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल पनि नराम्ररी प्रभावित भएको छ । यसले अर्थतन्त्रलाई हानि त पुर्‍याएकै छ । अहिले अर्थतन्त्रभन्दा पनि महत्त्वपूर्ण आमसर्वसाधारणको ज्यान नै रहेको छ । भारतमा सरकारी क्षेत्रबाट कुल ४ खर्ब र निजी क्षेत्रबाट ५.३ खर्ब रुपैयाँ सहयोग भएको अनु भुयनको अध्ययनले देखाएको छ । मूलतः नाफा कमाउने संस्थाहरूले भारतमा आफ्नो क्षमताले सकेसम्म खर्च गरेर सामाजिक दायित्व पूरा गरेको देखिन्छ ।

नेपालमा भने अवस्था फरक छ । गतवर्ष केही संस्थाहरूले कोभिड रोकथाममा आर्थिक सहयोग गरेर दायित्व पूरा गरे तापनि दोस्रो लहरमा भने कसैले शुरू गरेको देखिँदैन । अहिले अस्पतालहरूमा बेड र अक्सिजनको कमी देखिन्छ । सरकारले आफ्नो क्षमताअनुरूप कार्य गरी रहँदा नेपालमै रहेर उल्लेखीय नाफा कमाएका ठूला संस्थाहरूले पनि जिम्मेवारी वहन गर्नुपर्ने समय हो । सामाजिक दायित्व भनेको आफ्नो टोलमा पार्क निर्माण गर्ने, दुर्गम भेगमा विद्यालयको भवन निर्माण गर्ने, सरसफाइ अभियानमा हातेमालो गर्ने र आप्mनै मातहतको सामाजिक संस्थालाई लगानी गर्ने मात्र अवश्य होइन । कोरोना विपद्का बेलामा समस्यामा परेकालाई पनि सहयोग गर्नु हो ।

समाजमा सहयोगी हात देखिन्छन् तर एक हातमा सहयोग अनि अर्को हातमा क्यामेरा बोकेर गरिने सहयोग देखावटी र स्वार्थ हो । नाफा नै एउटा संस्थाको उद्देश्य भए पनि जुन समाजमा व्यवसाय गरेर नाफा कमाइन्छ त्यो समस्यामा पर्दा सहयोग गर्नुपर्छ । यो संस्थागत सामाजिक दायित्व हो ।

नेपालका ठूला संस्था, नाफामुखी संस्थाहरूलाई यस समयमा आफ्नो समाजप्रतिको जिम्मेवारी वहन गर्ने अवसर पनि हो, अहिलेको संकट । अस्पतालको क्षमता र बेडको संख्याको समस्या देखिएको छ । सामाजिक दायित्वअन्तर्गत संस्थाहरूले अस्थायी बेडहरूको व्यवस्था गरिदिन सक्छन् । भारतमा देखिएको अवस्था नेपालमा पनि नहोला भन्न सकिँदैन । अक्सिजन सिलिन्डरको अभाव अर्को समस्या हो । अक्सिजन पर्याप्त रहे पनि सिलिन्डर पर्याप्त नहुँदा समस्या हुने देखिन्छ । भारतबाट हुने अक्सिजन सिलिन्डर आयात गर्न अहिले गाह्रो पर्न सक्छ । यस कारण अक्सिजन सिलिन्डरहरूको व्यवस्था गर्न र किन्न सके नाफामुखी संस्थाको सामाजिक दायित्व वास्तवमै सजिलै पहिचान हुने थियो ।

दैनिक मजदूरी गरेर काम गर्नेहरू कोरोनाको यो दोस्रो लहरसँगै निषेधाज्ञाले थप मर्कामा परेका छन् । दुई छाक जोहो गर्न उनीहरूलाई समस्या परेको छ । कति बाध्यात्मक अवस्थाले अनि कतिपय अवस्था सुधार हुने अपेक्षासहित काठमाडौं नछोडेका पनि छन् । विराटनगर, वीरगञ्ज, पोखरा जस्ता शहरहरूमा पनि यस प्रकारको समस्या उत्तिकै छ, । भोको पेट सुत्नुपर्ने अवस्था धेरै जना हुन सक्छन् । ठूलाठूला उद्योगहरूले आफ्नो सामाजिक दायित्वअन्तर्गत संयमित भएर सामाजिक दूरी कायम गरेर दुई छाकको व्यवस्था मात्र गर्न सके पनि एउटा ठूलो राहत हुने थियो ।

यातायात ठप्प भएपश्चात् अहिले आवतजावतमा समस्या छ । यातायातकै व्यवस्था मिलाइदिने, नसके, आप्mनो स्थानमा आइपुगेकाहरूलाई उचित खानाको प्रबन्ध गरिदिने, साँझमा आइपुग्नेहरूलाई बसोवासको प्रवन्ध मात्र मिलाइदिए ती यात्रुलाई ठूलो राहत हुने थियो । काठमाडौंमा निःशुल्क एम्बुलेन्स सेवा भनी प्रचार त गरिएको छ, तर अझै पनि स्पष्टसँग कसले त्यसको उपयोग गर्न पाउने बारे जानकारी छैन । अहिले निषेधाज्ञा भएका क्षेत्रहरूमा यातायात पूर्ण रूपमा ठप्प रहँदा कोरोना संक्रमित बिरामी वा अन्य बिरामीलाई उपचारार्थ अस्पताल लैजान नै गाह्रो छ । त्यस्तो अवस्थामा पुगेकाहरूलाई निःशुल्क एम्बुलेन्सको व्यवस्था मिलाइदिन सकेमा सामाजिक दायित्वको वास्तविक चित्रण गर्न सकिन्थ्यो ।

सरकारलाई दोष लगाउनु मात्र समाधानको बाटो होइन । सरकारलाई दोषी भन्नेहरूले एउटा मास्क कसैलाई प्रदान गर्न सक्नु महत्त्वपूर्ण योगदान हो ।

सतर्कता र सचेतनाबाहेक अहिले कोरोनाबाट जोगिने अन्य अस्त्र भेटिएको छैन । हावाबाट पनि फैलन सक्ने भनेपछि त झन् यसबाट बच्ने अरू कुनै विकल्प नै रहेन । टेलिकम प्रदायक संस्थाहरूले आफ्नो तहबाट सचेतना फैलाए झैं संस्थाहरूले आफ्नो विज्ञापनमा पनि सोहीअनुरूपको सूचना प्रवाह गर्न सकेमा कोरोनाविरुद्धको सचेतना अभियान थप प्रभावकारी हुने थियो । सडकमा मान्छेहरू यत्रतत्र रहँदा यस महामारीबाट बच्न सचेतनाबाहेक अन्य कुनै पनि स्रोत छैन भन्ने पुष्टि भारतको दृश्यले गरिसकेको छ ।

उद्योगहरूले आफ्नो विज्ञापनमा यस प्रकारको सूचना प्रदान गर्न सकेमा सानौ भए पनि राम्रो सहयोग मिल्थ्यो ।

कोभिड व्यवस्थापनको फन्डमा रकम जम्मा गर्नु भनेको सरल र सहज माध्यम हो भन्ने देखिन्छ । त्यहाँ रकम जम्मा गरेर मात्र समाजप्रतिको आफ्नो दायित्व पूरा अवश्य हुँदैन । अहिलेको सामज हिजोको र भोलिका ग्राहक हुन्, भोलि व्यवसायमा साथ दिने हात तिनै हुन्, सेवा तथा वस्तु किन्ने तिनैले हुन् भनी बुझ्न आवश्यक छ । सहयोग त्यस्तो होस्, जसले प्रत्यक्ष प्रभाव पारोस् । हिजो आवश्यक थिएन होला, रूख रोपियो होला । हिजो वाग्मती सफाई महŒवपूर्ण हुँदा त्यसमा हातेमालो गरियो होला, तर आज कोरोनाका कारण संकटमा परेकाहरूलाई साथ र सहयोग चाहिएको छ, त्यसतर्फ केन्द्रित हुन आवश्यक छ । यत्रो महासंकट आउँदा ती व्यवसायी कहाँ थिए भनी भोलि कसैले औंला देखाउन नपाऊन् ।

संस्थाले आफ्नो कर्मचारीहरूको जिम्मेवारी लिँदै समाजमा रहेका आप्mनो लगानीकर्ता, ग्राहक, सरोकारवाला निकायलगायतलाई पनि यस समयमा निःस्वार्थ भावनाले हित हुने गरी कार्य गर्न सक्नुपर्छ । एउटा संस्थाको मूल उद्देश्य नाफा त हो नै तर भोलि गएर अवस्था सामान्य हुँदा अहिले गरिएको कार्य पनि सधैं समाजले सम्झिरहने छ भन्ने बिर्सनु हुँदैन । सामाजिक दायित्वमा हिजो के गरियो, त्यो विषय महत्त्वपूर्ण नहोला, तर अब गरिने कार्यले समग्र समाजलाई हित पुग्ने कार्य गर्न सकेमा आगामी दिनमा सोही समाजले उक्त संस्थालाई सधैं सम्मानपूर्ण दृष्टिले हेर्नेछ । सामाजिक दायित्वबाट आफूलाई समाजमा चिनाउने अवसर पटकपटक आउँदैन । अवसर यही हो, सदुपयोग गर्न सके सबै पक्षको हितसमेत हुने थियो ।

रेग्मी बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्