ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कृत्रिम तालले हटायो दराई–बोटे समुदायको परनिर्भरता

२०७८ बैशाख, २०  
वाग्मती प्रदेश
Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

वैशाख २०, चितवन । खैरहनीको कुमरोज मध्यवर्ती सामुदायिक वनले निर्माण गरेको कृत्रिम तालले त्यहांँका पिछडिएका दराई–बोटे समुदायमा खोला, नदीप्रतिको निर्भरता हटाएको छ । यसअघि उक्त समुदायले खोला नदीमा माछा मारेर जीवन यापन गर्दै आएपनि समुदायको सक्रियतामा ताल निर्माण भएपछि उनीहरूको दैनिकीमा समेत परिवर्तन आएको छ । 

वनले निर्माण गरिदिएको तालमा माछापालन गरेर आम्दानी हुन थालेपछि दराई–बोटे समुदायको नदीप्रतिको निर्भरता हटेको हो । कृत्रिम ताल निर्माण भएपछि ती समुदायले कृत्रिम तालमा माछापालन गरेर आम्दानी गर्न थालेका छन् । माछापालनबाट भएको आम्दानीले जीवन सहज बन्दै गएपछि यो समुदाय नजिकका नदी तथा खोलामा माछा मार्न जान छाडेको हो ।

कृत्रिम तालमा माछापालन सुरू गरेका दराई–बोटे समुदायको खोलामा माछा मार्ने पुख्र्यौली पेसा विस्थापित भएको छ । सामुदायिक वनले वनको सेवा क्षेत्रभित्र रहेका ४१ घरधुरीलाई लक्षित गरी २०७५ सालमा दराई बोटे ताल निर्माण गरेको थियो । ४ बिघा क्षेत्रफलमा सो ताल फैलिएको छ । तालमा दराई–बोटे समुदायकै व्यवस्थापनमा माछापालन गरिएको छ । तालबाट वार्षिक करिब १२ लाख रूपैयाँ आम्दानी हुने गरेको छ ।

खर्च कटाएर बचेको पैसा ४१ घरधुरीलाई दामासाहीमा वितरण गर्ने गरिएको वनका कार्यसमिति सदस्य तथा ताल व्यवस्थापनका अगुवा दुःखीराम दराईले जानकारी दिए । ‘तालबाट एक वर्षमा तीनपटक माछा निकाल्न मिल्छ र एकपटकमा १५ क्विन्टलसम्म उत्पादन हुने गरेको छ,’ उनले भने, ‘अहिले हामी सन्तुष्ट अनि खुशी पनि छौं ।’ 

यहाँबाट आम्दानी हुन थालेपछि दराई–बोटे समुदायका मान्छेहरु खोलामा माछा मार्न जान छाडेको दराईले बताए । उनका अनुसार माछापालनमा मनग्य आम्दानी हुन थालेपछि तालको क्षमता विस्तार गर्दै जाने र उक्त समुदायलाई यसैमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको छ । 

माछापालनसँगै ताल पर्यटकका लागि लोभलाग्दो रहेको छ । जिन्दगानी घाट तथा कठारको सिमानानजिक रहेको सो ताल पर्यटक आकर्षणको केन्द्रको रूपमा समेत विकास भएको छ । जिप सफारीमार्फत तालमा पुगेका पर्यटकहरु त्यहाँका रमणीय दृश्य अवलोकन गरेर रमाउने गरेका छन् । तालमा डुङ्गा सयर गर्ने व्यवस्थासमेत गरिएको छ ।

जिप सफारीमार्फत यहाँ पुगेका पर्यटकलाई मनोरञ्जन प्रदान गर्न कफी सप र डुङ्गा सयरको व्यवस्था गरिएको छ । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी भने दराई–बोटे समुदायले पाउँदैनन् । कफी सप र डुङ्गा सयरबाट भएको आम्दानी सामुदायिक वनको हुने अध्यक्ष गणेशकुमार श्रेष्ठले बताए । दराई–बोटे समुदायमा नदीप्रतिको निर्भरता हटाउन निर्माण गरिएको तालबाट आएको उनीहरुकै जीवनस्तर वृद्धिको लागि ताल निर्माण गरिएको हो । 

संरक्षण र पर्यटनलाई सँगसँगै अगाडि बढाएको सो सामुदायिक वनले पर्यापर्यटन सञ्चालनका लागि हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँ कार्यक्रम सञ्चालन गरेको छ । हात्ती सफारी, जिप सफारी र टावर रात्रिकालीन बसाइँबापत लिने शुल्क नै वनको मुख्य आम्दानीको स्रोत हो । सो सामुदायिक वनले पर्यापर्यटनबाट भएको आम्दानी संरक्षण, विकास निर्माण र उपभोक्ताको आयआर्जनमा खर्च गर्दै आएको छ । कुल आम्दानीको ६० प्रतिशत संरक्षण र ४० प्रतिशत सामुदायिक विकासमा खर्च गर्दै आएको अध्यक्ष श्रेष्ठले बताए ।

२०४८ सालबाट पर्यापर्यटन सुरू गरेको सो सामुदायिक वनले सोही वर्षदेखि हात्ती सफारी, २०५३ सालबाट टावर नाइट र २०७४ सालदेखि जिप सफारी सुरू गरेको हो । हाल सो वनमा १२ वटा हात्ती, ५६ वटा जिपले सफारी गराउँदै आएका छन् । २०४१ सालमा स्थापना भएको सो सामुदायिक वनको क्षेत्रफल ६९१ हेक्टर रहेको छ । वनका २ हजार १०९ घरधुरी उपभोक्ता रहेका छन् । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्