ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कर भुक्तानीको समयावधि थप्न नाडाको माग

२०७८ बैशाख, २१  
समाचार
NA

काठमाडौं (अस) । नाडा अटोमोबाइल एशोसिएशन अफ नेपालले कर भुक्तानीको समयावधि थप गर्न सरकारसँग माग गरेको छ । कोरोनाका कारण स्वास्थ्य रक्षाको दृष्टिकोणले कार्यालय समेत जान नसकिने अवस्था आएकाले कर भुक्तानीको अवधि थप्न नाडाले माग गरेको हो । कोरोनाको नयाँ भेरियन्ट बढ्दो क्रममा रहेकाले आन्तरिक राजस्व विभागमा मूल्य अभिवृद्धि कर, कर रकम तथा कर विवरण बुझाउन जान सकिने अवस्था नरहेको नाडाले प्रेस विज्ञप्ति निकाल्दै बताएको छ । नाडाका अध्यक्ष कृष्ण दुलालले स्वास्थ्यका दृष्टिकोणले व्यवसायीले कर भुक्तानी गर्न नसक्ने अवस्था आएकाले वैशाख २५ गतेसम्म बुझाउनुपर्ने अवधि थप गर्न अनुरोध गरिएको जानकारी दिए । ‘निषेधाज्ञा खुलेको मितिदेखि एक हप्तासम्म कर तथा अन्य आवश्यक कर बुझाउन सकिने व्यवस्था मिलाउन सरकारसँग अनुरोध गरेका छौं,’ उनले भने ।

यसैगरी कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव देखिएकाले नाडामा आबद्ध सबै व्यवसायीलाई अक्सिजन सिलिन्डर निर्माण उद्योगलाई नै बुझाउन अनुरोध गरिएको उनले बताए । कोरोनाको दर बढ्दै गएकाले नेपालमा अक्सिजनको अभाव देखिन थालेको छ । अक्सिजन उत्पादक उद्योगले अक्सिजन पर्याप्त भएको तर सिलिन्डरको अभाव भएको बताउँदै आएका छन् । ‘हामीसँग आबद्ध सबै व्यवसायीलाई प्रत्यक्ष सम्पर्क गरेर आफ्ना वर्कशपमा रहेका अक्सिजन सिलिन्डर निर्माण उद्योगलाई नै बुझाएर महामारीविरुद्धको लडाइँमा सहयोग गर्न अनुरोध गरेका छौं,’ अध्यक्ष दुलालले भने ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्