ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीईडीबी हाइड्रोपावरको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन

२०७८ बैशाख, २१  
लगानी
Image Not Found

काठमाडौं (अस) । शुक्रबारदेखि सार्वजनिक निष्कासनमा आएको सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आईपीओमा आवेदन दिने मंगलवार अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधिभित्र मात्र कम्पनीले आईपीओ विक्री गर्न लागेको हो ।

छिटो अवधि वैशाख २१ गतेभित्र मागबमोजिम आवेदन नपरेको खण्डमा भने कम्पनीले ढिलोमा वैशाख ३१ गतेसम्म आईपीओ विक्रीको मिति तय गरेको थियो । कम्पनीको आईपीओमा पहिलो दिनमै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको थियो ।

कम्पनीले रु. २५ करोड १८ लाख २३ हजार बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल कित्तामध्ये २ प्रतिशतका दरले ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम २५ लाख १८ हजार २३० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ । कम्पनीको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेड रहेको छ । आईपीओ खरिदका लागि विक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र  तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था छ ।

कोभिड जोखिमलाई ध्यान दिँदै मेरो शेयरमार्फत नै आवेदन दिन सबै लगानीकर्ताहरूलाई नियामक निकायले सुझाएको छ ।

२०७४ साल असार २७ गते आईपीओ निष्कासनका लागि आवेदन दिएको कम्पनीले करिब ४ वर्षपछि आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख २ गते अनुमति पाएको हो । हाल रु. ५८ करोड ७५ लाख ८७ हजार चुक्ता पुँजी रहेको कम्पनीको सर्वसाधारणमा शेयर जारी गरेपछि यो पुँजी रु. ८३ करोड ९४ लाख १० हजार पुग्नेछ ।

कम्पनीद्वारा प्रवद्र्धित साङ्गे जलविद्युत् आयोजना र राधि जलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरिरहेका छन् भने तल्लो खारेखोला जलविद्युत् आयोजना, दोर्दी १ जलविद्युत् आयोजना र रुकुमगाडा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा छन् ।

कम्पनीले ४५ मेगावाट क्षमताको कसुवा खोला जलविद्युत् आयोजना प्रवर्द्धनका लागि लगानी गरेको छ । कम्पनीले आर्थिक वर्ष ०७८/७९ मा चुक्ता पुँजी वृद्धि गरी रु. ८८ करोड १३ लाख ८० हजार पुर्‍याउने प्रक्षेपण गरेको छ ।

आगामी आर्थिक वर्षभित्र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण कम्पनीको रहेको छ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रु. १३८ दशमलव ७९ रहेको छ ।

सोही प्रतिशेयर नेटवर्थको आधारमा कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले तीन गुणासम्मका लागि मूल्य तोक्नेछ । गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले रु. ७ करोड ६६ लाख ६५ हजार खुद नाफा गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्