ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सूचना प्रवाहमा उदारता आवश्यक

२०७८ बैशाख, २१  
सम्पादकीय
Image Not Found

आइतवार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयबारे सही सूचना प्राप्त गर्न नसक्दा सर्वसाधारण अन्योलमा परे । आन्तरिक उडान र अन्तरराष्ट्रिय उडान बन्द गर्ने निर्णयबारे मन्त्रिपरिषद्का प्रवक्ताले जानकारी नदिँदा विभिन्न मन्त्रीहरूको भनाइलाई आधार मानेर सूचना प्रवाह गर्नुपर्‍यो । समयमा यो खबर नपाउँदा यात्रुहरू मर्कामा पर्ने समस्यासमेत आएको छ ।

संक्रामक रोगको संकटका बेलामा अझ सही सूचना र जानकारी आवश्यक हुन्छ । यसका लागि दैनिक प्रेस सम्मेलन गरेर वा विज्ञप्तिबाट भए पनि सूचना सकेसम्म चाँडो प्रवाहित गराउन जरुरी देखिन्छ ।

सही समयमा पाएको सूचनाले मानिसहरूलाई सचेत पार्छ, त्यसअनुसार निर्णय लिन मद्दत गर्छ । तर, सही सूचना पाइएन वा गलत सूचना प्रवाह भयो भने त्यसले खराब असर समेत पार्न सक्छ । अहिलेको विश्वमा सूचनालाई सबैभन्दा शक्तिशाली मानिन्छ । त्यही भएर विश्वभर प्रेस स्वतन्त्रतालाई महत्त्व दिइँदै आएको हो । सोमवार विश्वभर सूचना सार्वजनिक वस्तु हो भन्ने नाराका साथ प्रेस स्वतन्त्रता दिवस मनाइयो । तर, सूचना सार्वजनिक वस्तुका रूपमा स्वीकार्न नसक्ने सरकारी सोचका कारण नै सही सूचना प्रवाह हुन सकेको देखिँदैन । प्रेस स्वतन्त्रता प्रेसको मात्र मुद्दा होइन, नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक अधिकारलाई सम्बोधन गर्न पनि यो आवश्यक हुन्छ । प्रेस स्वतन्त्रताबाटै लोकतन्त्रको जग बलियो हुन्छ । सरकारले सही सूचना समयमै दिएर प्रेसलाई बलियो बनाउँदा नागरिकहरू सुसूचित हुन पाउँछन् जसको प्रतिफल राज्यले नै पाउँछ ।

तर, सरकार सकेसम्म सूचना लुकाउन उद्यत देखिन्छ । मन्त्रिपरिषद्ले गरेका सार्वजनिक चासोका निर्णयहरू यथाशक्य चाँडो नागरिकहरूलाई प्रवाह गर्नु उपयुक्त हुन्छ । सरकारले सूचना लुकाउँदा सर्वसाधारणले अनुमानका भरमा कुरा गर्न थाल्ने हुँदा भ्रम सृजना हुनछ । मन्त्रिपरिषद्का निर्णयहरू परिपक्व हुनुपर्ने भन्ने भनाइ राख्दै सरकारले बिहीवारमात्रै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने गरेको थियो । अहिले संक्रामक रोगको संकटपूर्ण घडीमा सरकारका धेरैजसो निर्णय जनतासँग प्रत्यक्ष सम्बद्ध भएकाले तत्कालै उनीहरूले थाहा पाउनुपर्ने हुन्छ । तर, आइतवारको निर्णयको जानकारी औपचारिक प्रणालीबाट प्रवाह नगर्दा फरक फरक समाचार आए । त्यस्तै आइतवारको मन्त्रिपरिषद्ले सोमवार रातिदेखि आन्तरिक उडान ठप्प पार्ने तथा बुधवारदेखि अन्तरराष्ट्रिय उडान ठप्प पार्ने निर्णय गरेको जानकारी मन्त्रीहरूले दिए । तर, सोमवार प्रधानमन्त्रीले दिनुभएको सार्वजनिक वक्तव्यमा बिहीवार रातिदेखि अन्तरराष्ट्रिय उडान बन्द हुने कुरा उल्लेख भयो । अब कुन समाचार सही हो भन्ने भ्रम यसले पैदा गरेको छ । कानूनी र लोकतान्त्रिक राज्यमा यस्तो गलत सूचना फैलनु राम्रो मानिँदैन । अझै पनि कति देशको उडान कहिलेदेखि बन्द हुने हो भन्ने स्पष्ट जानकारी आएको छैन ।

सर्वसाधारण तथा व्यवसायीहरूले यात्रा गर्न तथा सामान कार्गो गर्न तालिका बनाएर बसेका हुन्छन् । समयमा नै सूचना प्रवाहित भए उनीहरूले त्यसको तालिका मिलाउन सक्छन् । अहिले निर्यात व्यवसायीहरूले विदेशमा सामान निर्यात गर्न विभिन्न उडान रोजेका छन् । तर, सरकारी सूचनाले उनीहरूलाई अन्योल थपेको छ । यसबाट निर्यातमा समस्या हुने देखिन्छ ।

समयमा सूचना प्रवाह नहुँदा गलत सूचना प्रवाह हुने सम्भावना पनि हुन्छ । अफवा फैलने र त्यसले नराम्रो रूप लिन पनि सक्ने हुँदा सही सूचना प्रवाह हुनु आवश्यक हुन्छ । यसका लागि सञ्चार क्षेत्रलाई सरकारले सदैव सहयोगी बनेर समाचार प्रवाहमा सहयोग पुर्‍याउनु आवश्यक हुन्छ । तर, सरकारले अहिले प्रस्ताव गरेको कानूनमा सञ्चार क्षेत्रलाई सूचना प्रवाहमा अवरोध पुर्‍याउने खालको प्रावधानहरू राखिएका छन् । सही सूचना प्रवाह नहुँदा कहिलेकाहीँ सरकारलाई समेत अप्ठ्यारोमा पार्न सक्छ ।

संक्रामक रोगको संकटका बेलामा अझ सही सूचना र जानकारी आवश्यक हुन्छ । अफवाह फैलन नदिन सूचना प्रवाह सही ढंगले गर्ने वातावरण बन्नु आवश्यक छ । यसका लागि दैनिक प्रेस सम्मेलन गरेर वा विज्ञप्तिबाट भए पनि सूचना सकेसम्म चाँडो प्रवाहित गराउन जरुरी देखिन्छ । सूचना सार्वजनिक सम्पत्ति हो भन्ने कुरालाई सरकारले समेत गम्भीर रूपमा लिनु आवश्यक छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्