ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्सामा निषेधाज्ञा वैशाख ३० गतेसम्म लम्ब्याइयो  

२०७८ बैशाख, २१  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, वीरगञ्ज । कोरोनाको भेरियन्टसहितको संक्रमण बढेपछि सीमावर्ती जिल्ला पर्सामा लगाइएको निषेध आदेश वैशाख ३० सम्मका लागि लम्ब्याइएको छ ।
 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए । यसअघि वैशाख १६ देखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाइएको थियो । संक्रमण नियन्त्रणका लागि निषेध आदेश थपिएको प्रशासनले बताएको छ । 

संक्रामक रोग ऐन २०२० ले दिएको अधिकार प्रयोग गरी अत्यावश्यकीय सेवाबाहेक सबै प्रकारका सेवा, व्यवसाय र आवागमनलाई रोक लगाइएको  छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर खाद्य वस्तुका पसल र व्यवसायहरू बिहान ९ बजेसम्ममात्र खोल्न दिइएको प्रशासनले बताएको छ । 

खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपंछीको दानालगायत ढुवानीका सवारी साधन चल्न पाउने छन् ।

आईसोलेशन व्यवस्थापनमा प्रयोग हुने सवारी साधन पनि चल्न दिइने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकृतसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । आदेशमा खाद्य वस्तु, औषधी र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल बन्द राख्न भनिएको छ ।

मालबाहक सवारी, सुरक्षा र स्वास्थ्य सेवा र सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, एम्बुलेन्स, दमकल, शवबाहन र फोहोर मैला व्यवस्थापनका साधन सञ्चालनमा रहने छन् । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्