ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पहिलो दिन ६०१ जना स्थानीयले भरे मध्य भोटेकोशी जलविद्युतको आईपीओ 

२०७८ बैशाख, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख २१, काठमाडौं । मंगलवारदेखि स्थानीयमा विक्री खुला भएको मध्य भोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडको आईपीओ ६०१ जनाले भरेका छन् । कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि कुल ६० लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । 

कुल कित्ता मध्ये आयोजना क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका वडा नं. (साविक लिस्ती गाविस र मार्मिङ गाविस) १ र ५,  बाहृविसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गाविस) तथा बाहृविसे नगरपालिका वडा नं. ७ र ८ (साविक घम्याङ्ग गाविस र मानेश्वर गाविस) का वासिन्दाका लागि ३० प्रतिशत दरको १८ लाख कित्ता र माथि उल्लेखित स्थानीय बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य स्थानियका लागि ७० प्रतिशत दरले ४२ लाख कित्ता आईपीओ विक्री खुला गरेको हो । 

विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार पहिलो दिन आयोजना क्षेत्रका ६४ जनाबाट २० हजार ३०० कित्ताका लागि र सिन्धुपाल्चोक जिल्लाका अन्य ५३७ जना स्थानीयबाट १ लाख ९ हजार ९८० कित्ता आईपीओ खरीदको आवेदन परेको हो । 

कम्पनीले स्थानीय वासिन्दाका लागि विक्री खुला गरेको यो शेयर छिटोमा जेठ ४ गते र ढिलोमा जेठ २० गतेसम्म विक्रीमा रहनेछ । शेयर खरीदका लागि आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम ४०० कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

सर्वसाधारणका लागि रू. १ अर्ब ५० करोड बराबरको आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट वैशाख ५ गते नै अनुमति पाएको कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको शेयर आयोजना प्रभावितमा विक्री गर्न लागेको हो । स्थानीयपछि दोस्रो चरणमा १५ प्रतिशतका दरले रू. ९० करोड बराबरको ९० लाख कित्ता आम सर्वसाधारणमा विक्री गर्नेछ । 

यस अघि कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता, संस्थापक कम्पनी तथा ऋणदाता कम्पनीका कर्मचारीहरुका लागि १ करोड ४४ लाख कित्ता आईपीओ विक्री गरिसकेको छ । 

कम्पनीले कर्मचारीहरुका लागि विक्री गरेको कुल कित्तामध्ये कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १ करोड १७ लाख कित्ता, संस्थापक संगठित संस्था (चिलिमे जलविद्युत् कम्पनी, नेपाल विद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेष्टमेण्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, र सिन्धु भोटेकोशी हाइड्रोपावर) का कर्मचारीहरुका लागि २१ लाख कित्ता र ऋणदाता संस्था कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता आईपीओ बाँडफाँट गरेको हो । 

पहिलो चरणमा कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताका लागि २०७५ साल कात्तिक २८ गतेदेखि मंसिर १४ गतेसम्म र दोस्रो चरणमा बाँकी संस्थाका कर्मचारीका लागि २०७५ साल मंसिर १९ गतेदेखि २६ गतेसम्म आईपीओ जारी गरेको थियो । 

उक्त अवधिमा विक्री गरेको आईपीओ कम्पनीले २०७५ साल पुस ४ गते बाँडफाँट गरेको हो । जारी पूँजी रू. ६ अर्ब रहेको यस कम्पनीले कर्मचारी सञ्चयकोषका सञ्चयकर्ताको लागि १९ दशमलव ५ प्रतिशत, संस्थापक शेयरधनी कम्पनीका कर्मचारीहरुलाई ३ दशमलव ५ प्रतिशत र ऋणदाता संस्थाका कर्मचारीहरुलाई १ प्रतिशत शेयर विक्री गरेको हो । अब कम्पनीले स्थानीयसहित आम सर्वसाधारणमा जारी पूँजीको २५ प्रतिशत शेयर जारी गर्न लागेको हो । 

कर्मचारीमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४ अर्ब ५० करोड पुगेको छ । सर्वसाधारणमा आईपीओ जारी गरेपश्चात कम्पनीको चुक्तापूँजी रू. ६ अर्ब पुग्नेछ । यस कम्पनीमा संस्थापक शेयरधनीहरुको ५१ प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्